झापामा कोरोनाबाट ज्यान गुमाउनको संख्या ३९ पुग्यो

शुक्रबार तीनजनाको मृत्यु भएको झापामा कोरोना संक्रमणका कारण शनिबार दुईजनाको मृत्यु भएको छ। गौरीगञ्ज गाउँपालिका ६ खजुरगाछीका ७१ वर्षीय हेमसागर अधिकारी र बिर्तामोड नगरपालिका ५ का ६५ वर्षीय व्यवसायी कपुरचन्द चौधरीको आज मृत्यु भएको हो।

योसँगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ। दम र मुटु रोगी अधिकारीको उपचारका क्रममा सुनसरीको धरानस्थित कोभिड अस्पतालमा मृत्यु भएको गौरीगञ्ज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए।

कात्तिक १ गते कोरोना पुष्टि भएको उनलाई पहिला विराटनगर स्थित नोवेल अस्पताल लगिएको थियो । त्यहाँ तीन रचार दिन राखेर पुनः गौरीगञ्ज कोभिड अस्पताल ल्याइएको थियो।

थप उपचारका लागि कात्तिक ७ गते धरान लगिएका उनको भेन्टिलेटरमा नै मृत्यु भएको मिश्रले बताए। केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका चौधरीलाई उपचारका लागि नोबेल हस्पिटल बिराटनगर लगिएको थियो।

दीर्घरोगी रहेको उनको उपचारकै क्रममा मृत्यु भएको आफन्त घनश्याम चौधरीले बताए। बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक बाँसकोटाले चौधरीको शव ल्याउने तयारी भइरहेको बताए।

हिजो मृत्यु हुनेमा दमक , शिवसताक्षी र गौरादह नगरपालिका तीनजना पुरुषको मृत्यु भएको थियो। गौरादह नगरपालिका १ का ८० वर्षीय बृद्धको विराटनगरको नोवेल हस्पिटलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो।

खनाल थरका ती बृद्धलाई चार दिनअघि उपचारका लागि विराटनगर लगिएको थियो। त्यस्तैशिवसताक्षी नगरपालिका २ का ३५ वर्षीय दयाराम भट्टराईको मृत्यु भएको थियो। ६ दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी होमआइसोलेसनमा बसेका थिए।

स्वासप्रश्वासमा समस्या देखिएपछि दुई दिनअघि उनलाई नोवेल अस्पताल विराटनगर लगिएको थियो। मृतक दयारामका योगेश्वर भट्टराई चार महिनाअघि कोरोनाको कारण मृत्यु भएको थियो।

वैदेशिक रोजगारीमा रहेका उनको साउदी अरबमा मृत्यु भएको थियो। दमक नगरपालिका ४ का ४२ वर्षीय विश्वकर्मा थरका पुरुषको दाहाल प्रतिष्ठानको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय