संक्रमितको संख्या बढेसँगै नाम सार्वजनिक हुन थाल्यो

कोरोना संक्रमित र मृत्यु भएका व्यक्तिको नाम सार्वजनिक गर्न नपाइने अघोषित सरकारी प्रतिबन्ध झापामा तोडिँदै गएको छ। यो क्रम बढ्दो छ। जिल्लामा संक्रमितको मृत्युदर बढेसँगै मृतकको नाम सार्वजनिक गर्न नपाइने सरकारी प्रतिबन्ध तोडिएको हो। त्यसको नेतृत्व झापामा राजनीतिक दलले गरेका हुन्।

झापामा पछिल्ला तीन दिन ९कात्तिक ११, १२ र १३० मा कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भयो। यो मृत्युदर जिल्लाको अहिलेसम्मकै उच्च हो। यसले झापा कोरोनाबाट नराम्ररी प्रभावित भएको पुष्टि हुन्छ। तर, झापामा अहिलेसम्म संक्रमित राख्ने एउटा पनि भेन्टिलेटर नहुनुले चाही सरकारी तयारी छर्लङ्ग हुन्छ।

अनि जिम्मेवार र सरोकारवाला निकायको उदासिनता पनि। कात्तिक ११ मा एक महिलासहित चार जनाको मृत्यु भएको झापामा १२ गते एक जनाको मृत्यु भयो। उनी मेचीनगर नगरपालिका ६ काँकरभिट्टाकी ८० वर्षिया जेष्ठ नागरिक हुन्। कात्तिक ११ मा दमक नगरपालिका ३ का ९७ वर्ष र ५ का ५० वर्षीय पुरुषको मृत्यु भयो। उनीहरूको नाम, थर गोप्य राखियो।

सोही दिन गौरादह नगरपालिका ९ बैगुनधुराका ८० वर्षीय पुरुष पदमबहादुर ढुंगानाको मृत्यु भयो। उनको नाम , थर सामाजिक सञ्जालमा सार्वजनिक भयो।

त्यस्तै सोही दिन नै मृत्यु भएकी कमल गाउँपालिका ५ कि ८३ वर्षीया रमादेवी दाहालको नाम, थर नै खुलाइयो। कात्तिक १३ गते झापामा कोरोना संक्रमणबाट दुईजना पुरुषको मृत्यु भयो।

कनकाई नगरपालिका ३ का ६४ वर्षीय र बिर्तामोड नगरपालिका ५ का ७३ वर्षीय पुष्पलाल विष्टको मृत्यु भएको छ। कनकाईका मृतकको नाम गोप्य राखिए पनि बिर्तामोडका मृतकको नाम सार्वजनिक भयो।

उनी आवद्ध दलका नेता, कार्यकर्ताले नाम सार्वजनिक गरिदिएका हुन्। ‘नाम गोप्य राख्नु पर्ने कारण नै छैन’ सत्तारूढ दलका एक जिल्ला नेताले भने, ‘जानकारी नै लुकाउने कुराले समाज कता जान्छ भन्ने प्रश्न उठ्छ , यस्तो बेला स्पष्ट जानकारी नदिनु संक्रमणलाई बढवा दिनु मात्रै हो।’ उनले नाम, ठेगाना खोल्ने कुरा अपराध नभएको बताए।

कसले गर्‍यो सार्वजनिक?

झापामा कांग्रेसले कोरोना संक्रमणबाट मृत्यु हुनेको नाम सार्वजनिक गर्न सुरु गरेको हो। असोज २३ गते मृत्यु भएका पार्टी नेता रामबाबु प्रसाईंको कांग्रेसले मृत्युको कारण खोलेसँगै जिल्लामा त्यसको प्रभाव परेको छ।  त्यसपछि रमादेवी दाहालको नाम र मृत्युको कारण पनि कांग्रेसले खोलेको हो।

को हुन् नाम खोलिएका विष्ट

लामो समय शिक्षण पेसा अङ्गालेका विष्ट वामपन्थी विचारधाराका व्यक्ति थिए। उनी प्रजातन्त्र स्थापनाका लागि जेल जीवन बिताएका व्यक्ति हुन्। उनको नाम र मृत्युको कारण कम्युनिस्ट नेताहरुले सामाजिक सञ्जालमा सार्वजनिक गरेर सरकारी प्रतिबन्ध तोडिदिएका हुन्।

विष्टका मेरो अतीत, हाम्रो आठराई निबन्ध ९२०७२०, तम्मर सुसाएको बिहानी कविता ९२०७४०, अग्रगमनका पाइलाहरु निबन्ध ९२०७७ ० कृति प्रकासित छन्।

शिक्षक, भूमिगत समयका नेता र साहित्यकार विष्टको झापाका कम्युनिस्ट नेता कार्यकर्ताले सामाजिक सञ्जालमा चर्चा गर्न समेत भ्याएका छन्।

ढुंगाना र दाहालको पृष्ठभूमि

बैगुनधुराका ढुंगाना पनि पूर्व शिक्षक रहेको स्थानीयले बताए। त्यही भएर पनि उनको नाम र मृत्युको कारण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हुनसक्ने शिक्षकसमेत रहेका एक स्थानीय युवा बताउँछन्।

कमलकी रमादेवी दाहाल कांग्रेस ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्य पूर्णानन्द शर्मा दाहालकी धर्मपत्नी हुन्। कांग्रेस झापाका पूर्वसभापति समेत रहेका पूर्णानन्द लोकतान्त्रिक आन्दोलनका अग्रज, बिपी कोइरालाका विश्वासिला नेताकी जीवन साथी भएकै कारण उनको नाम सार्वजनिक भएको धेरैको बुझाइ छ।

यसरी भयो सुरुवात

जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका दमकका व्यक्तिको नाम अहिलेसम्म पनि कसैलाई थाहा छैन। तर, झापाका दोस्रो संक्रमित बाह्रदशी गाउँपालिका ४ का मुजाहिर आलमले सञ्चार माध्यम आफ्नो अनुभव राखेसँगै झापामा संक्रमितको नाम, थर सार्वजनिक हुन सुरुवात भएको थियो।

त्यसपछि प्रशासन र स्वास्थ्य सम्बन्धित निकाय संक्रमितको नाम, थर लुकाउन कम्मर कसेरै लागे र सफल पनि भए। जब राजनीतिक दलका नेता, जनप्रतिनिधिलाई कोरोना संक्रमण देखियो तब सरकारी प्रतिबन्ध क्रमशः निष्तेज हुँदै गयो। कांग्रेसले रामबाबुको नाम र मृत्युको कारण सार्वजनिक गरेसँगै अघोषित सरकारी प्रतिबन्द तुहिएको हो।

झापाका ३४ जनाको कोरोनाबाट मृत्यु

अहिलेसम्म कोरोना संक्रमणबाट विदेशमाबाहेक झापाका ३४ जनाको मृत्यु भइसकेको छ। ३१ जनाको तथ्यांक जनस्वास्थ्य कार्यालयसँग छ।
काठमाडौँमा उपचारका क्रममा मृत्यु भएका अर्जुनधाराकी एक महिला र दमकका एक पुरुषको तथ्यांक कार्यालयसँग छैन। रामबाबु काठमाडौँ बसेकाले उनको तथ्यांक झापामा नभएको हो।

अहिलेसम्म झापामा ३० हजार दुईसय बढीको पिसिआर परीक्षण गरिएको छ। त्यसमध्ये दुई हजार बढी संक्रमित भएका छन्। एक हजार ११९ जना निको भएर घर फर्किएका छन्। होमआइसोलेसनमा ७६० जना सक्रिय संक्रमित रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय