एक शिक्षकको आइसोलेसन अनुभवः आफूमात्रै होइन, अरुको सुरक्षाका लागि पनि एक्लिुपर्ने रहेछ

निर्मल ढुंगाना/देवदह
प्रकाशित
२०७७ कार्तिक १५ गते १२:५७

सहकर्मी मित्र होमनाथ शर्माको पिसिआर परीक्षण पोजिटिभ आएको खबरले एक किसिमको त्रास उत्पन्न गरेको थियो। संसार नै कोरोनासँग लडिरहेको अवस्थामा यो लडाइ मेरा लागि पनि नजिकिएको अनुभूतिले मानसिक तनाब भइरहेको थियो।

देवदह नगरपालिकाको केस इन्भेस्टिगेसन तथा कन्ट्याक्ट ट्रेसिङ टिमको सल्लाहअनुसार होमनाथ शर्मा र मैले एकै ठाउँमा काम गर्ने भएकाले कन्ट्याट ट्रेसिङका आधारमा असोजको २३ गतेबाट म होम क्वारेन्टाइन बसेको थिएँ।

केही सामान्य लक्षणहरु देखिएका कारण असोज २६ गते पिसआर गरेँ। २८ गते साँझ मेरो पिसिआर नेगेटिभ भएको जानकारी आयो।

पिसिआर रिपोर्ट नेगेटिभ आउनु पनि एउटा युद्ध जितेजस्तो लाग्ने रहेछ तर कुन बेला पोजिटिभ भइने हो भन्ने डरले गर्दा पिसिआर नेगेटिभ हुनु ठूलो कुरा थिएन।

मसँगै पिसिआर परीक्षण गर्नु भएको होमनाथ सरको बुबा गगाँधर भट्टराई र सहकर्मी सरोज न्यौपानको रिपोर्ट पोजिटिभ आएछ। मेगनाथ न्यौपानेजीले सरोज सरको फोन उठेन उहाँलाई तपाईंले जानकारी दिनुहोस् भने, पछि मैले नै सरोज न्यौपानेलाई तपाईंमा कोभिड १९ पोजिटिभ देखियो भनेर सूचना दिएको थिएँ।

सुरुमा उहाँ निकै आत्तिनुभयो। मानसिक रुपमा विछिप्त भएजस्तो गर्नुभयो। उहाँलाई सकेसम्म सम्झाउने काम गरेँ। विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार होम आइसोलेसन बस्न अनुरोध गरेँ।

होमनाथ सरको बुबाको भर्खरै अपरेशन गरेका कारण मलाई उहाँको भने खुब चिन्ता लागेको थियो। असोज २९ गते विद्यालय पुगेर अनलाइन कक्षाको सञ्चालन र प्रभावकारिताका बढाउनका लागि योजना निर्माण गर्ने काम ग¥यौँ।

त्यसदिन विद्यालयमा विद्यालय व्यवस्थापन समितिको मिटिङ पनि रहेछ। विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद पाण्डेयले केही बेर प्रधानाध्यापक दुर्गादत्त शर्मासँग बसेर सल्लाह गरौँ भन्दै हुनुहुन्थ्यो तर घरमा भाइ कौशल बिरामी भएर सुतेको भनी खबर आएकाले म विद्यालयबाट उक्त सल्लाहमा नबसीकन घर निस्किएँ।

घरमा पुग्दा भाइ सुतिरहेको थियो, उठाएँ। ज्वरो नाप्न थर्मोमिटर दिएँ। उसलाई ९९.५ डिग्री फरेनहाइट ज्वरो थियो। ढिलो नगरी पिसिआर परीक्षण गर्न बुटवल लिएर गएँ। भाइले मौसमी रुघाखोकी हो मलाई कोभिड छैन भन्दै थियो।

असोज १ गतेबाट सुरु भएको मेरो एमफिल तहको दोस्रो सेमेस्टरको अनलाइन लिखित परीक्षा २८ गते सकिए पनि २९ गतेबाट प्रस्तुतिकरण र त्यसपश्चात भाइभा हुने खालको अनलाइन परीक्षा सुरु भएको थियो जुन कार्तिक ६ गते सकिँदै थियो।

यति लामो परीक्षा जीवनमा कहिल्यै दिनु परेको थिएन। हरेक विषयका रिसर्च पेपर, पुस्तकहरु पढेर एउटा निश्चित ढाँचामा पेपर बुझाउन सामान्य खटाइ र ज्ञानले पुग्दैनथ्यो।

हरेक दिन रातको १÷२ बजेसम्म कम्प्युटरका माध्यमबाट पढ्ने, लेख्ने, सम्पादन गर्ने र बुझाउने कार्यले नयाँ ज्ञान, सीप त प्राप्त हुन्थ्यो तर निरन्तर कम्प्युटरमा अध्ययन गर्दा शारीरिक तथा मानसिक थकान बढी नै हुने गर्दथ्यो।

असोज ३० गते बिहान करुणकर अर्याल सरले होमनाथ सरका बुबा बित्नुभएको नराम्रो खबर सुनाउनु भयो। असोज ३० गते नै मेरो एडभान्स एकाडेमिक राइटिङ विषयको प्रस्तुतिकरण र भाइभा थियो। परीक्षा लिइरहनु भएको यशोदा चौलागाईं मेडमलाई मेरो प्रस्तुतिकरण र भाइभा सकेसम्म छिटो मिलाइदिन अनुरोध गरेँ।

उहाँले दोस्रो नम्बरमा मलाई अवसर दिनुभयो। भाइभा सकेर होमनाथ सरको घरमा पुगेँ। झ्यालबाहिरबाट बुबालाई श्रदाञ्जली दिएँ। परिवारलाई सहानुभूति दिनुको विकल्प थिएन।

होमनाथ सर तथा उहाँको परिवारले असोज २८ गतेबाट नै बुबालाई हस्पिटल लैजान खोजिरहनु भएको थियो तर रुपन्देहीमा कतै पनि आइसीयु बेड नभएका कारण बुबा अस्पतालसम्म पनि पुग्न पाउनु भएन।

योभन्दा विडम्बना के नै पो हुन्छ र? कोभिडमा हुने मृत्युको प्रोटोकलअनुसार बुबाको मृत शरीरको व्यवस्थापन नेपाली सेनाले गर्ने प्रक्रिया अगाडि बढीसकेको खबर आइसकेको थियो।

दिउँसो खाना खाएर यातायात कार्यालयमा सवारी साधनको नवीकरण गर्नु पर्ने भएकाले म मणिग्राम निस्किएँ। त्यहाँ देखिएको भिडले कोभिड कुन रुपमा नेपालमा फैलिन सक्छ भन्ने अनुमान लगाउन सकिन्थ्यो।

अहिलेको सूचनाप्रविधिको युगमा कर तिर्न पनि घण्टौँ लाइनमा बस्नु पर्ने व्यवस्था गणतन्त्रकै बाधक हो भन्ने मैले बुझिरहेको थिएँ। मान्छेहरुलाई यातायात कार्यालयले सिधैँ खातामा रकम पठाउन वा मोवाइलबाट तिर्न अनुरोध गर्न सक्थ्यो तर त्यहाँ भिडलाई स्वीकारेको देख्दा शासन व्यवस्थाका बाधक हाम्रो सम्यन्त्र नै हो भन्नेमा दुईमत राख्नुपर्ने अवस्था थिएन।

करिव १२ः३० बजेतिर भाइ कौशल ढुंगानाको फोन आयो। उसले फोनमा आफ्नो पिसिआर रिपोर्ट पोजिटिभ आएको बतायो। उसलाई छुट्टै बस्न अनुरोध गरेँ। घर बाबालाई फोन गरेर भाइको प्रत्यक्ष सम्पर्कमा कसैलाई पनि जान नदिन अनुरोध गरेँ।

साथै मेयर हीराबहादुर खत्री, उपमेयर विद्यालक्ष्मी गुरुङ, देवदह नगरपालिकाको सी आइ सी टी टिमको मेगनाथ न्यौपाने, सहकर्मी खेमानन्द ज्ञवाली, धर्मपत्नी जानुका लम्साल लगायतलाई जानकारी दिएँ। म घर पुग्ने बित्तिकै देवदह नगरपालिकाको सी आइ सी टी टिमका सदस्य मेगनाथ न्यौपाने पनि आइपुग्नुभयो।

भाइको कन्ट्याक्ट ट्रेसिङमा रहेका सबैको विवरण लिनुभयो। हाम्रो मेडिकल, भाइले काम गर्ने साइन रेसुङ्गा बिकास बैँक तथा हाम्रो घर सिल हुने जानकारी दिनुभयो। आमा किड्नी र सुगरको रोगी भएका कारण घरमा बस्न नमिल्ने मेगनाथजीको सल्लाह अनुसार भाइ शित्तलनगरमा रहेको आइसोलेसन सेन्टरमा जान तयार भयो। केहीबेरमै एम्बुलेन्सले भाइलाई लिएर आइसोलेसन सेन्टरमा गयो।

घरमा भाइ सङ्क्रमित रहेछ। उसबाट सायद परिवारका सदस्यहरुलाई कोरोना सरिसकेको होला भन्ने खुब चिन्ता भयो। धर्मपत्नी जानुका लम्साल, छोरी कोहिनुर ढुंगाना, छोरा डिल्लीराज ढुंगाना र बुहारी उर्मिला ज्ञवालीलाई रुघाखोकी लागिरहेको थियो।

उनीहरुमा पनि पोजिटिभ छ भन्ने मलाई ठूलो त्रास थियो। उनीहरुमा दिनप्रतिदिन लक्षण बढ्दो थियो। कसैलाई पनि मास्क नलगाई बस्न दिइनँ। सबैलाई घरभित्र पनि दुरी कायम गर्न लगाएँ। बुबाआमालाई अरु सदस्यसँग नजिक हुन पनि दिइनँ।

म पनि छुट्टै बसेँ। भाइलाई गाडीमा राखेर पिसिआर परीक्षणका लागि बुटवल लगेका कारण म पनि उस्तै जोखिममा थिएँ। घरमा सानो छोरालाई समस्या झ्न बढ्दै गयो। देवदह नगरपालिकाको सी आइ सी टी टिमका मेगनाथ न्यौपानेजीको सल्लाहमा लक्षण देखिएका जति सबैको पिसिआर परीक्षण गर्न असोज २ गते बुटवल पुगेँ।

छोरालाई रुघाखोकी बढी भएका कारण डाक्टर किरणमणी पौडेललाई देखाएँ। छोराको छातिको एक्सरे गर्नुपर्ने सल्लाहबमोजिम एक्सरे गराएँ। डा. किरणमणी पौडेलले छोराका लागि औषधि दिनुभयो। छोराछोरी, धर्मपत्नी र बुहारीको पिसिआर परीक्षणपछि घर फर्कियौँ।

मलाई टाउको दुखीरहेको थियो। यद्यपि असोज २८ गते नेगेटिभ आएका कारण मैले पिसिआर परीक्षण गरिनँ। असोज ३ गते साँझ मेरो गभर्नेन्स र एकाउन्टेविलिटी विषयको प्रस्तुतिकरण र भाइभा थियो। घर परिवारको रिपोर्ट कस्तो आउने हो?

उक्त कुराले घरको साँझको वातावरण विथोलिन सक्ने भएका कारण जीवन खड्का तथा बाह्य परीक्षक डा. हरि लम्सालसँग मैले बिहानको समयमै प्रस्तुतिकरण र भाइभा दिनका लागि अनुरोध गरेँ। बिहानी सत्रमा एक जना अनुपस्थित भएका कारण मैले सहजै अवसर पाएँ।

बिहानको ११ बजेतिर हिजो पि.सि.आर.परीक्षण गराएका सबै जनाको रिपोर्ट नेगेटिभ आयो। यसले मनमा ठूलो खुसी दिलायो। लक्षण नै देखिएकाहरुलाई नेगेटिभ आएपछि बुबाआमालाई सर्ने सम्भावना कम थियो। धेरै दिन पछि त्यसदिन दिउँसो छोरासँग खेलेँ। उसलाई सुताएँ। ऊसँगै सुतेँ।

दिउँसो ३ बजेतिर म उठ्दा छोरा निदाइरहेको थियो। मेरो टाउको दुःखाई झन बढ्दै गइरहेको थियो। सुरुमा त परीक्षाको चापले दुखेको होला भन्ने लाग्यो। केहीबेरपछि निकै जाडो भयो। ज्वरो नापेँ। १००.५ डिग्री फरेनहाइट ज्वरो आएको रहेछ। ज्वरो देखिने बित्तिकै फेरि घरमै आइसोलेसनमा बसेँ।
अहिले भने कोभिड भएको हुन सक्ने अनुमान गरेँ। ज्वरोसँगै ज्यान पनि दुःख्न सुरु भयो। त्यसरात निद्रा नै परेन। रातभर शरीर दुःखाइ भइरह्यो। आखाँको गेडी झर्ला जस्तै दुख्यो। टाउको दुखाई पनि उस्तै रहिरह्यो। असोज ४ गते लक्षणहरु झ्न बढ्न थाल्यो।

रुघाखोकी पनि शुरु भयो। खोक्दा टाउको फुट्ला जस्तै दुख्थ्यो। शरीरका हाडहरु निकालेर कसैले जोडिदिएको जस्तै दुःखाइ हुन्थ्यो। ज्वरो र दुःखाई कम गर्न सिटामोल खान थालेँ। सिटामोलले केही काम गरेन र पनि सिटामोल ६÷६ घण्टामा लिइरहेँ।

अक्सिजन लेभल घटेर ८६ सम्म आयो। घरमा बताएमा सबै आत्तिन्छन् भन्ने लाग्यो, त्यसैले अनुलोम बिलोम र भस्त्रिका व्याम गर्थेँ। त्यसले अक्सिजन लेभल थोरै भए पनि बढाउन सहयोग गर्दो रहेछ। देवदह मेडिकल कलेजका चिकित्सक डा. सुन्दर पाण्डेय पनि पोजिटिभ भएर होम आइसोलेसनमा हुनुहुन्थ्यो।

यहाँसँग सल्लाह गरेर लिभोसिट्रिजिन र मन्टोल्युकास्ट भन्ने औषधी खान थालेँ । उक्त औषधिले रुघा र खोकी बढ्न दिएन। तर, पनि ज्वरो भने बढ्दै गयो। १०३.७ डिग्री फरेनहाइट ज्वरो देखिन थालेपछि गाह्रो हुन्छ कि जस्तो अनुभूति भयो तर लाग्यो मृत्यु यति सजिलो पनि छैन होला।

यो समाज र देशका लागि धेरै काम गर्न बाँकी छ। कोभिड हो कि अरु कुनै रोग त्यो पहिचान हुन पनि जरुरी थियो। पहिचान नभए पनि म पूर्ण रुपमा होम आइसोलेसनमा थिएँ। आमालाई झ्यालबाट समेत मलाई नहेर्न अनुरोध गर्थेँ। आमाका आखाँ अनायास रसाउँथ्यो।

म देखेर पनि नदेखेझैँ गर्थेँ। देवदह नगरपालिकाको सीआइसीटी टिमको मेगनाथ न्यौपानेले परीक्षण गर्न जाने सल्लाह दिनु भएको थियो तर परीक्षण गर्न जानसक्ने अवस्थामा थिइन।

विस्तारामा घोप्टोे परेर सुत्ने गरिरहेको थिएँ। कात्तिक ५ गते साँझ मेरो डाइभरसिटी र एजुकेशन विषयको प्रस्तुतिकरण र भाइभा थियो। डा. राधेश्याम ठाकुरसरलाई अनुरोध गरेर त्यसदिन पनि बिहान सकिनसकी प्रस्तुतीकरण गरेँ, भाइभा डिफेन्स गरेँ।

बिरामी भएकै अवस्थामा बल्ल बल्ल परीक्षा पार गरेँ। तर स्वास्थ्य यति सम्म नाजुक भयो कि उठेर शौचालय पनि जान नसकिने जस्तो भयो। त्यसदिन केही स्वास्थ्यकर्मी साथीहरुलाई बुबाले अनुरोध गरेपछि उनीहरु घरमै पिसिआर कलेक्सन गर्न आइपुग्नु भयो।

यसपटक बुबा, आमा र मेरो स्वाब कलेक्सन भयो। स्वाब दिएपछि दिनभरि सुतेँ। उठ्नै सकिनँ। ज्वरो हनहनी आइरहेको थियो। २ चक्की सिटामोल एकैपटक खाँदा पनि ज्वरो नियन्त्रण भएको थिएन। खानाको कुनै स्वाद र गन्ध थिएन।

मेगनाथ न्यौपानेजीसँग सल्लाह गरेर कोभिड अस्पताल जान सकिन्छ कि भन्ने कुरा गरेँ तर उहाँले रिपोर्ट नआउँदै जान नमिल्ने बताएपछि फेरि २ वटा सिटामोल खाएँ। सबैभन्दा बढी गाह्रो त्यसैदिन अनुभव भयो। साँझ खाना खाएपछि टाउको फुट्ला जस्तै दुखेको कारण डोलोपार खाएँ।

हलुका पेटमा अफ्ठ्यारो भएका कारण खाना खानु अगाडि पेन्टाप्राजोल पनि खाएँ। राति ७ः३० बजेतिर ल्याबबाट फोन आयो। मेरो रिपोर्ट पोजिटिभ र बुबाआमाको नेगेटिभ रहेछ। बुबाआमाको नेगेटिभ आएकाले खुसी लाग्यो। मलाई भने अति नै गाह्रो भइरहेको थियो।

मलाई खाना दिँदा छोराले मेरोबाबा जान्छु भनेर विद्रोह गर्दथ्यो। पूरै शरीर फालेर रुन्थ्यो। त्यो दृश्य मेरा लागि सहनसक्ने खालको हुँदैनथ्यो र पनि उसको स्वास्थ्यको लागि छिटोछिटो ढोकाको चुक्कल लगाउथेँ। ऊ ढोका हान्दै रुन्थ्यो।

दुई वर्षको बच्चालाई आफ्नो बाबाको काखमा बस्न नपाउँदा के बित्दो हो अनुभूति गर्दा अनायासै आँखा रसाउँथ्यो र पनि सहनुको विकल्प थिएन। रिपोर्ट आएपछि पेट दुखाइ बढ्दै गयो। सिटामोल र डोलोपारको असर पनि हुन सक्थ्यो र कोभिडकै लक्षण पनि हुन सक्थ्यो।

पेटमा अल्सर वा क्यान्सर नै भएर पीडा भएजस्तै दुखाइ भएकाले बुस्कोपान पनि खाएँ तर त्यसले केही काम गरेको थिएन। रातभरि पेट र टाउको दुखाइ उस्तै थियो। ज्वरो १०३ डिग्री फरेनहाइट भन्दा माथि नै देखिन्थ्यो। अक्सिजन लेभल ८५÷८६ भन्दा माथी उठेको थिएन।
अक्सिजन लेभल कम हुनेबित्तिकै झ्याल तिर फर्किएर लामोलामो स्वास लिन्थेँ, फ्याक्थेँ। यही प्रक्रिया पटकपटक दोह¥याइरहन्थेँ। केहीबेर पछि अक्सिजन लेभल बढ्थ्यो। मेगनाथजीले कोभिड हस्पिटलमा आइसियु बेड नभएको र मनोबल उच्च राख्न सुझाव दिनुहुन्थ्यो।

यहीबेला स्वस्थ्य सचिव जागेश्वर गौतमबाट नियमित कोभिड ब्रिफिङमा कोभिडको उपचार व्यक्ति स्वयम्ले आफ्नो खर्चमा गर्नुपर्ने कुरा सुन्दा खुब नरमाइलो लाग्यो। स्वास्थ्य र शिक्षा सरकारको प्रमुख जिम्मेवारीमा पर्ने कुरा हो। बरु यो बेलामा चाहिनेजति रकम बैदेशिक ऋण लिएर भए पनि सरकारले सङ्क्रमितको उपचार गरिनेछ।

आवश्यक अस्थायी अस्पताल तथा आइ.सी.यु. सेन्टर निर्माण गरिनेछ। कोभिड लागेकाहरुसँग घरपरिवार आफन्तजन टाढिनु पर्ने अवस्थामा सरकार नजिक हुनेछ भन्ने कुरा सुन्न पाएको भए जनताले सरकारको वाहीवही गर्थे होला। परिस्थिति ठिक उल्टो देखियो।

सामाजिक सञ्जालभरि सरकारको आलोचना र केही पार्टीका कार्यकर्ताहरुबाट त्यसको बचाउ देखिन्थ्यो। यता बुटबलमा आइसियु बेड नपाएमा दाङको बेलझुन्डीमा रहेको अस्पतालमा पाइने कुरा साहित्यकार ऋचा लुइटेलले बताउनु भएका कारण मनमा झिनो आशा थियो।

मलाई लक्षणले घण्टा गनेर गालिरहेको थियो। ज्यान र जोर्नीहरुमा भएको दुःखाइ व्यक्त गर्न सकिने खालको नै थिएन। ६ गते बिहानसम्म पनि मेरो आधिकारिक रिपोर्ट आइपुगेको थिएन। करिव १ बजेतिर रिपोर्ट मेल आएपछि मेगनाथजीसँग अस्पताल जान सकिन्छ कि भनेर सल्लाह गरेँ।

अस्पतालमा आइसियु बेड खाली नभएको कारण हाललाई शित्तलनगरको आइसोलेसनमा जाने र त्यहाँ बढी भयो भने त्यहीबाट हामीले व्यवस्थापन गर्छौँ भनेपछि मैले सकिनसकी आफ्ना सामग्रीहरु झोलामा राख्न थालेँ। धर्मपत्नी जानुकाले चाहिने लत्ताकपडा देखि खानेकुरासमेतको अर्को झोला तयार गरिदिएकी थिइन्।

चार बजे देवदह नगरपालिकाको एम्बुलेन्स मलाई लिन घर आइपुग्यो। घरबाट निस्कँदा छोरो उसैगरि बाबासँग जान्छु भन्दै थियो। म निस्किएपछि धेरै बेरसम्म रोएछ। पूजाकोठाको भगवानलाई हेर्दै “मेरो बाबा र काकुलाई छिटो सञ्चो बनाइदिनू भगवान” भनी उसले कामना गरेको कुरा जानुकाबाट पछि थाहा पाउँदा मन झनै भारी भयो।

कोरोना लाग्दा आफ्नो लागिभन्दा पनि अरुको सुरक्षाका लागि एक्लिनु पर्ने रहेछ। यो मर्मलाई बुझिएन भने घरका सदस्यहरू गुमाउन पनि पर्न सक्ने अवस्था आउने भएकाले पनि म सकिनसकि आइसोलेसन सेन्टरमा आएँ।

मेरो ठाउँमा सायद अरु कोही भएको भए कि त घरमै आइसोलेसन बस्छु या हस्पिटल जान्छु भन्ने थिए। आइसोलेसन सेन्टरमा भाइ कौशल असोज ३० गते देखि बस्दै आएको थियो। उसलाई केही लक्षणहरु देखिएको थियो । म पुग्दा आइसोलेसन सेन्टर पुग्दा उसले कोरोना जितिसकेजस्तो लागेको थियो।

जब म आइसोलेसन सेन्टरमा पुगेँ, त्यहाँ अरु सात जना थिए। एउटा सानी बहिनी थिइन् जो इलामबाट मामाघर आएकी रहिछन् । क्वारेन्टिनमा बस्दा भएको परीक्षणमा उनलाई पोजिटिभ देखिएछ। मात्र ६ वर्षकी ती नानीले मलाई मनबाट आइसोलेसन सेन्टरमा स्वागत गरिन्।

भाइले म सुत्ने बेड देखाइदियो। बहिनीले बेड र झुल देखाइदिइन्। शौचालय, पानी तताउने ठाऊँ, वाइफाइको पासवर्ड, मिनिरल वाटर पानी मगाउने फोन नम्बरलगायतका सबै कुरा नानीले नै देखाइन्। उमेरमा मेरो छोरीभन्दा सानी भए पनि आइसोलेसन सेन्टरमा उनी मेरो लागि गुरु भइन्।

आइसोलेसन सेन्टरमा बस्ने पूराना सबै नयाँ व्यक्तिसँग खुब डराउँदा रहेछन्। मसँग त्यहाँभित्र कोही नजिक हुन खोजेनन्, मेरो भाइ समेत टाढा—टाढा भयो। हुन त कहाँबाट सङ्क्रमित भएँ थाहा छैन तर पनि देवदह नगरपालिकाको सीआइसीटी टिमको मेगनाथ न्यौपानेजीको भनाइ अनुसार मैले भाइलाई पिसिआर गर्न गाडिमा लगेको हुनाले मलाई सङ्क्रमण भएको अनुमान थियो।

उही भाइ टाढा—टाढा हुँदा भने दुःख लाग्ने रहेछ तर पनि यो सबै कोरोनाको जटिलताले ल्याएको परिस्थिति हो भन्ने बुझाइ मभित्र राम्रोसँग थियो। म आइसोलेसन सेन्टरमा आएको थाहा पाउने बित्तिकै जयकिशन दाइले पानीको बाफ लिने भाडा, पेट दुःखाइ कम गर्ने, इम्युन पावर बृद्धि गर्ने लगायतका औषधिहरु ल्याइदिनु भएको थियो।

हामीलाई विहान ६ बजे चिया, ८ बजे चना अन्डा, १० बजे खाना, २ बजे रोटी तरकारी, साँझ ७ः३० बजे खाना र ८ बजे बेसार फिटेको दूध खुबाउने तालिका रहेछ ।साँझ क्याम्पसको क्यान्टिनबाट खाना आयो। स्वाद केही थिएन। स्वाद नभएपछि खाना रुच्ने कुरै भएन। धेरै खाना फालेको देखेर भाइले गाली गर्यो।

साँझ देवदह नगरपालिका स्वास्थ्य प्रमुख काशीनाथ बन्जाडे तथा रामप्रसाद बस्याल, मेगनाथ न्यौपाने आउनुभयो। म जस्तो आत्तिएको थिएँ त्यस्तै देवदह माविका शिक्षक खुमप्रसाद भण्डारी सर पनि आत्तिनु भएको थियो। मेरो ज्वरो अहिले त १०२ जति थियो। उहाँको १०४ को सेरोफेरोमा थियो।

उहाँसँग अक्सिमिटर रहेनछ। मैले प्रयोग गर्ने अक्सिमिटरबाट उहाँको अक्सिजन लेबल हेरे । ९० को सेरोफेरोमा थियो तर हर्टबिट १२५ थियो। जसले गर्दा उहाँमा जटिलता मलाईभन्दा बढी थियो। आफूभन्दा अरुलाई बढी समस्या भएपछि आफ्नो समस्या बताउन पनि अफ्ठेरो लाग्ने रहेछ।

हाम्रो स्वास्थ्य अवस्था बुझ्न साँझ नगरप्रमुख हीराबहादुर खत्री आइपुग्नु भयो। डा. नन्दू पाठकसँग सल्लाह गरेर उहाँलाई मेफ्टल ५०० एम.जी.को औषधी चलाइयो। म मेफ्टल प्राय पेट दुखाईमा चलाउँथेँ। सोचेँ, केही अध्ययन अनुसन्धानका कारण यो औषधि खुमसरलाई चलाइएको होला।

म आफै बिरामी भएर हस्पिटलको बेडमा सुतेको सम्झना छैन। आइसोलेसन सेन्टरमा रहेको बेडमा राति तीन बजेसम्म सुत्न सकिनँ। छटपटि मात्र भयो, पेट दुःखी रह्यो। ज्वरो १०२ थियो। शरीर आगोबाट निकालेर बाहिर राखेजस्तो लागेको थियो। पेट भने फ्रिजबाट निकाले जस्तो चिसो।

मैले खाने औषधिहरुको सन्दर्भमा मैले डाक्टर सुन्दर पाण्डेयसँग सल्लाह गर्थेँ। उहाँले प्रयोग गर्नुस् भनेपछि मात्र औषधी लिन्थेँ। हुन त चिकित्सा बिज्ञानका बारेमा ज्ञान भएपनि आफैलाई प्रयोग गर्नेबेलामा अरुको सल्लाह अनिवार्य हुने ठान्छु म।

नत्र ज्यादा औषधी प्रयोग हुन सक्ने र त्यसले साइड इफेक्ट झनै देखाउन सक्ने सम्भावना रहन्छ। बेसार पानी, गुर्जो, हर्रो, अमला, अदुवा, कागति लगायतका कुराहरु पनि बढी लिनु हानिकारक हुन सक्ने भएकाले यसमा पनि सचेत थिएँ म। मलाई लक्षणहरु उस्तै देखिइरहेको थियो। कम नभए पनि बढ्न सकेको थिएन।

६ र ७ गते क्याम्पसको बास्केटबलकोटमासबैले कसरत गर्ने, हिँड्ने गरे। खुम सर पनि सहभागी हुनु भयो तर म तल झर्न पनि सकिनँ। साँझ खुमसरलाई ज्वरो झन बढ्न थालेपछि उहाँलाई एम्बुलेन्समा राखेर बुटबल लगियो।

८ गते बिहान मलाई अलि आराम भएको महशुस भयो। अब छिनछिनमा पसिनाले शरीर भिज्न थाल्यो। पसिनाले शरीर भिज्ने बित्तिकै भिजेको कपडा खोलेर अर्को लगाउँथेँ, त्यसो नगरेमा निमोनिया हुनसक्ने सम्भावना रहने भएका कारण म त्यसमा सचेत थिएँ।

ज्वरो बिस्तारै कम हुँदै थियो। अष्टमीका दिन मासु खान दिने कुरा रहेछ। मैले बोइल गरेर खान्छु भनेँ। ८ गते बिहान खाना अलि रुचेजस्तो भयो। कताकता स्वाद हो कि जस्तो लाग ेपनि जीब्रोमा अमिलो, गुलियो, नुनिलो, पिरो राम्रोसँग अनुभूति भएको थिएन।

त्यसदिन भाइ कौशल र अर्को भाइ मोहनीलाल तिवारीले पिसिआर गरे। साँझ उनीहरुको नेगेटिभ रिपोर्ट आयो। यसबीचमा ३ गतेदेखि ८ गतेसम्म धेरैजनाले फोन सम्पर्क गर्न खोज्नु भए पनि फोन उठाएर कुरा गर्न पनि गाह्रो भयो।

त्यसैले धेरै जसो समय मोवाइल स्वीच अफ गरेँ। कति आएका फोनसमेत उठाउन सकिनँ। मेरो स्वास्थ्यको चिन्ताले मलाई फोन गर्ने शुभचिन्तकको फोन उठाउन नसक्नु पनि पीडा नै रहेछ। आइसोलेसन चिकित्सा विज्ञानको पूरानो तरिका हो।

बिरामीलाई अलग्गै राख्नु नै आइसोलेसन हो। कोभिडभन्दा पहिला पनि विश्वमा हैजा, भ्यागुते रोग, संक्रामक क्षयरोग, प्लेग, स्मलपक्स, यल्लो फिभर, इबोला, सार्स, मर्स जस्ता रोगहरुमा पनि क्वारेन्टिाइन वा आइसोलेसनमा बस्नु पर्दथ्यो।

कोभिड १९ त झनै जटिल बनेर देखा परिरहेको छ। देवदह नगरपालिकाद्वारा सञ्चालित आइसोलन सेन्टर व्यक्तिको सुरक्षाका लागि छुट्टै बस्न सहज हुने सहयोगी व्यवस्थापन मात्र हो। आइसोलेसन सेन्टरमा उपचारका कुनै पनि प्रक्रिया हुँदैन भन्ने जब त्यहाँ बस्नेलाई मैले बताएँ उनीहरु अचम्ममा परे।
आइसोलेसन सेन्टरमा बस्नेलाई के लागेको रहेछ भने उनीहरुलाई यहाँ उपचार हुन्छ। उनीहरुको स्वास्थ्य अवस्थाबारे परीक्षण हुन्छ। बेलाबेलामा स्वास्थ्यकर्मी, चिकित्सक आएर परीक्षण गर्दछन्। आदि आदि…

यस्तो बुझाइले सङ्क्रमित, उनका परिवार र स्थानीय निकायबीच द्वन्द्व बढ्न सक्छ त्यसैले कुनै पनि व्यक्ति आइसोलेसन सेन्टरमा प्रवेश गरेपछि उसलाई लिखित वा मौखिक परामर्श अनिवार्य रुपमा दिनुपर्छ। आइसोलेसन सेन्टरमा विभिन्न वडाका जनप्रतिनिधि, मेयर, उपमेयर बेला बेला गइराख्ने गर्नुपर्छ।

यसले जनताप्रतिको उत्तरदायित्व बढाउन मद्दतसमेत गर्दछ। देवदहको आइसोलेसनमा म पुगेपछि उहाँहरुको राम्रो उपस्थितिले मन प्रफुल्ल भएको थियो।

कार्तिक ९ गते, नवमीको दिन। आइसोलेसनमा रहेका कसैको अबधि पुगेर त कसैको पिसिआर नेगेटिभ आएर घर फर्किए। त्यसमध्ये मेरो भाइ कौशल पनि थियो। ऊ गए पछि अलि एक्लो महसुस भयो। १० गते बिहान म बाहेक बाँकी रहेको एकजना पनि निस्किएपछि आइसोलेसन सेन्टरमा म मात्र बाँकी रहेँ।

दशैँको दिन यसरी एक्लै समय बिताएको जीवनकै पहिलो अनुभव थियो। स्वास्थ्यमा क्रमिक सुधार भएका कारण अर्को वर्षको दशैँ मनाउन पाइएला भन्ने आशामा बसेँ। राति एक्लै आइसोलेसन सेन्टरमा रात बिताउन परे पनि छिटै निको भएर समूहमा बस्न पाइने अभिलाषामा छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय