गण्डकीमा कोरोनाः १४ दिनमा थपिए २५ प्रतिशत संक्रमित

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारमात्रै ९ जिल्लाका दुई सय ६९ जनालाई कोरोना संक्रमण देखिएको छ।

यो हालसम्मकै उच्च संक्रमण दर हो। ९ सय ३४ स्वाब परीक्षण गर्दा २ सय ६९ (२८.८० प्रतिशत) मा कोरोना पोजेटिभ देखिएको हो।

पछिल्लो १५ दिनमा १८ सय १५ संक्रमित थपिएका छन्। यो कूल संक्रमणको २४.८० प्रतिशत हो। संक्रमण दरको हिसाबले कास्की ‘रेड जोन’ मा छ।

निर्देशनालयका अनुसार प्रदेशमा दैनिक भेटिनेमध्ये आधाभन्दा बढी संक्रमित कास्कीका छन्। बुधबार दुई सय ६९ जनामा पोजेटिभ देखिँदा एक सय ८३ (६८.०२ प्रतिशत) जना कास्कीका रहेको निर्देशनालयले जनाएको छ।

शुक्रबार साँझसम्म कास्कीका २३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये सात सय ४० जना निको भएका छन्। निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार कास्कीपछि नवलपुरमा धेरै संक्रमित छन्।

नवलपुरका १६ सय ६३ जनामा पोजेटिभ देखिएकोमा ११ सय २ संक्रमित निको भएका छन्। शुक्रबार नवलपुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको छ।

कास्की र नवलपुरबाहेक शुक्रबार तनहुँमा २१, पर्वतमा १०, बागलुङमा ९, स्याङ्जामा सात, बागलुङ, गोरखा र म्याग्दीमा चार÷चार जना थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशका ११ मध्ये मनाङमात्रै कोरोनामुक्त छ। ९ संक्रमित निको भएपछि मनाङ ग्रीन जोनमा छ। प्रदेशमा सबैभन्दा कम मुस्ताङमा दुई जनामा पोजेटिभ देखिएको छ।

जिल्ला नछोडेकी जोमसोम बस्ने ३८ वर्षे महिलामा गत बुधबार कोरोना पुष्टि भएपछि ४ महिनादेखि कोरोनामुक्त रहेको मुस्ताङमा कोरोना संक्रमणको त्रास बढेको छ।

यसअघि ६ असारमा ८३ वर्षे वृद्धलाई कोरोना पोजेटिभ देखिएकोमा उनी निको भएपछि मुस्ताङमा संक्रमित भेटिएका थिएनन्। योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७३ सय १६ पुगेको छ। तीमध्ये ४२ सय २१ (५८.२९ प्रतिशत) निको भएका छन्।

गण्डकी प्रदेशमा ८८ हजार ६ सय ४६ स्वाब परीक्षण गरिएको छ। गण्डकी प्रदेशमा दुई सरकारी र एक निजी गरी तीनवटा ल्याबमा कोरोना परीक्षण हुन्छ।

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफकेयर डाइग्नोस्टिकमा कोरोना परीक्षण भइरहेको छ। केही जिल्लाको स्वाब प्रदेशबाहिरका ल्याबमा पठाउने गरिएको छ।

प्रतिष्ठानमा चैत तेस्रो हप्तादेखि र क्षयरोग उपचार केन्द्रमा असार पहिलो हप्तादेखि कोरोना परीक्षण सुरु गरिएको हो। लाइफकेयरले भने दुई हप्ताअघिदेखि परीक्षण थालेको हो।

मृतक संख्या ७५ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार तीन जिल्लाका तीन संक्रमितको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ७५ पुगेको हो।

निर्देशनालयले बागलुङ, स्याङ्जा र कास्कीका एक÷एक संक्रमितको मृत्यु पुष्टि गरेको हो। बागलुङका संक्रमितको बिहीबार साँझ र अरु दुई जनाको शुक्रबार मृत्यु भएको हो।

बागलुङको गलकोट नगरपालिका–३ का ७२ वर्षीय पुरुष र स्याङ्जाको वालिङ नगरपालिका ५ कि ७० वर्षीया महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

बागलुङका संक्रमितमा रक्तअल्पता तथा क्षयरोगको समस्या थियो। स्याङ्जाका संक्रमित महिला निमोनिया र उच्च रक्तचापबाट ग्रस्त थिइन्। दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा ज्यान गएको हो।

कास्कीका संक्रमितको भने घरमै मृत्यु भएको हो। पोखरा महानगरपालिका १५ का ८० वर्षीय पुरुष संक्रमितको शुक्रबार बिहान होम आइसोलेसनमा मृत्यु भएको निर्देशक शर्माले जानकारी दिए। उनलाई १२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका २५, नवलपुरका १४, तनहुँका १२, गोरखाका आठ, स्याङ्जाका ६, बागलुङका चार, लमजुङका तीन, म्याग्दीका दुई र पर्वतका एक जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय