पूर्वमन्त्री विश्वकर्माको अवस्था गम्भीर, अस्पतालले अवस्थाबारे जानकारी नगराएकाे परिवारकाे गुनासाे

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ।

करिब ६ दिनदेखि आइसियूमा बसेका विश्वकर्माको अवस्था गम्भीर भए पनि अस्पतालले भने उनको स्वास्थ्य अवस्थाबारे परिवारलाईसमेत जानकारी दिन नमानेको पारिवारिक स्रोतले जनाएको छ।

कोरोना संक्रमित भएपछि नेता विश्वकर्मा आइसियूमा छन्। विगत तीन दिनदेखि ग्राण्डी अस्पतालको आइसियूमा रहेका विश्वकर्माको स्वास्थ्य अवस्थाबारे पटकपटक बुझ्दा पनि जानकारी नदिइएको नेता विश्वकर्माका साला विवश पौडेलले गुनासो गरे।

कात्तिक १ गते नेता विश्वकर्मालाई कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि एक दिन वीर अस्पतालको जनरल वार्डमा बसेका थिए।

‘जनरल वार्डमा बसेको भोलिपल्ट नै वीरको आइसियूमा राखियो, त्यहाँ तीन दिन बस्नुभयो। त्यहाँ खै के भएर हो कर्मचारी अभाव देखेपछि उहाँले आफैं फोन गरेर अन्त लैजान भन्नुभयो,’ पौडेलले भने, ‘त्यहाँपछि हामीले ग्रायण्डी अस्पताल लिएका हौं।’

ग्राण्डी अस्पतालको आइसियूमा बसेको तीन दिन हुँदासम्म पनि अस्पतालले स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिन नमानेपछि चिन्ता थपिएको पौडेलले बताए।

साथै उनले वीर अस्पतालमा हुँदा नै ५० प्रतिशत फोक्सोमा निमोनिया फैलिएको र अहिले त्यो बढेको हुनसक्ने भन्दै आफूहरुले पटक–पटक अवस्थाबारे बुझ्न खोजेको बताए।

‘परिवारबाट मात्रै होइन, पार्टीका मान्छेलाई पनि फोन गर्न लगायौं,’ उनले भने, ‘पार्टीका मान्छेले फोन गर्दा चाही अस्पताल प्रशासनले चिकित्सकसँग बुझ्नु भन्छ। तर, चिकित्सकले न पार्टीका मान्छेलाई नै भन्छन् न हामी परिवारका मान्छेलाई नै जानकारी दिन्छन्।’

५३ वर्षीय नेता विश्वकर्मा केही समयअघिसम्म उच्च रक्तचापका बिरामी थिए। तर, पछि औषधि सेवन गरेपछि उनको उच्च रक्तचाप पनि नियन्त्रणमा आएको थियो।

‘विगत १८ वर्षदेखि हेर्दै आएको छु। भिनाजु अस्पताल गएर भर्ना भएको देखेको थिइन। यसपाली कोरोनाका कारण अस्पताल जानुभयो। तर, अस्पतालले उहाँको अवस्थाबारे जानकार नगराउँदा हामीलाई थप चिन्ता लागेको छ,’ पौडेलले भने।

यस विषयमा यता ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेलाई बुझ्न खोज्दा उनले फोन काटेका छन्। साथै पूर्वमन्त्री विश्वकर्माको स्वास्थ्य अवस्थाबारे के कस्तो छ? परिवारलाईसमेत जानकारी दिनुभएको छैन म्यासेजमार्फत गरिएको हेल्थपोस्ट नेपालको प्रश्नको जवाफ पनि दिएका छैनन्।

2 thoughts on “पूर्वमन्त्री विश्वकर्माको अवस्था गम्भीर, अस्पतालले अवस्थाबारे जानकारी नगराएकाे परिवारकाे गुनासाे

  1. अस्पताल स्रोतका अनुसार पुर्ब मन्त्री मीन बहादुर बिश्वकर्माको स्वस्थ्य अवस्था स्थिर रहेको जानकारी प्राप्त भएको छ ।

  2. मानानीय मिन विश्वकर्मा ज्युको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी अस्पातलमा उपचारमा संलग्न डाक्टरले जानकारी दिनुभएको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय