गर्भवतीको मृत्युपछि लुम्बिनी अस्पतालमा तनाव, आफन्तले शव बुझ्न मानेनन्

बुटवल लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा सुत्केरी व्यथा लागेर भर्ना भएकी एक महिलाको मृत्यु भएको छ। गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मदाने गाउँपालिका–३ भुजुङे गाउँकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका छैनन्। अस्पतालको लापरबाही र उपचार प्रक्रिया गलत भएको भन्दै मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै अस्पताल गेट अगाडि जम्मा भएर विरोध जनाएका छन्।

मृतकका आफन्त कमलराज गिरीले कात्तिक ८ गते सुत्केरी हुने मिति तोके पनि मिति सार्दै १३ गते बोलाइएको र उपचारमा पनि लापरबाही भएको दाबी गरे। मृत्यु हुनु अघिसम्म राम्रै कुराकानी गरिरहेकी उनको मृत्यु भएपछि अस्पतालमाथि शंका भएको हुँदा छानबिन हुनुपर्ने उनको माग छ।

अस्पतालका अनुसार ती महिला बिहीबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन्। उनको बिहीबार साँझ मृत्यु भएको हो। अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले यही कारणले मृत्यु भयो भनेर किटान गर्न नसकिएको बताए।

प्रवक्ता गौतमका अनुसार महिलालाई बिहान ११ बजे सुत्केरी व्यथा लगाउने औषधि दिइएको थियो। नर्मल डेलिभरी हुने ठानेर केहीबर छोडिएकोमा महिलालाई एक्कासी श्वास प्रश्वासमा समस्या देखिएको अस्पतालको भनाइ छ।

समस्या बढेपछि तत्काल शल्यक्रिया गर्न शल्यकक्षमा लैजाने क्रममा मृत्यु हुन पुगेको प्रवक्ता गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय