बिहीबार थपिए २३६४ नयाँ संक्रमित, कोरोनाबाट १७ जनाको मृत्यु

पछिल्लो २५ घण्टामा नेपालभर दुई हजार तीनसय ६४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएकोमा दुई हजार तीनसय ६४ जना नयाँ संक्रमित थपिएका हुन्।

बिहीबार संक्रमित हुनेमध्ये एकहजार ७ सय १५ जना काठमाडौं उपत्यकाकै छन्। उपत्यकामध्ये पनि काठमाडौंका एक हजार तीनसय ३८, ललितपुरका १८० र भक्तपुरका ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसन तथा अस्पतालहरुबाट तीन हजार ३८ जना डिस्चार्ज भएका छन्। संक्रमितमध्ये ७५ प्रतिशत निको भएको मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमित भएर डिस्चार्ज हुनेको संख्या एकलाख २४ हजार ८ सय ३२ पुगेको छ। हालसम्मको अवस्था हेर्दा नेपालमा संक्रमितमध्ये निको हुनेको दर ७५.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट थप १७ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ। नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय