सांसद लिङदेनले सुटुक्क गरे अस्पतालको अनुगमन

राजेन्द्र गौतम / झापा
प्रकाशित
२०७७ कार्तिक १३ गते १६:१७

झापा क्षेत्र नम्बर ३ का संघीय सांसद राजेन्द्र लिङदेनले आज(बिहीबार) एक सरकारी सहित तीनवटा अस्पतालको सुटुक्क अनुगमन गरेका छन्।

उनले दुईवटा आफ्नै निर्वाचन क्षेत्र र दुईवटा बिर्तामोड क्षेत्रमा अस्पतालको अनुगमन गरेका हुन्। कोरोना महामारीका बेला सर्वसाधारणले सहज उपचार सेवा नपाएको र कोरोना संक्रमितले समेत दुरुत्साहन सहनु परेको आवाज उठिरहेका बेला सांसद लिङदेनले अस्पतालको निरीक्षण / अनुगमन गरेका हुन्।

सांसद लिङदेनले भद्रपुरको मेची प्रादेशिक अस्पताल र ओमसाई पाथीभरा अस्पतालको निरीक्षण गरेका हुन्। मेचीमा सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुर र ओमसाईमा प्रशासन प्रमुख दीप पौडेललाई भेटेर अस्पतालको सेवा बारे जानकारी लिएका छन्।

बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालका संचालक सदस्य रोमनी भट्टराई र बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई भेटेर अस्पतालले प्रवाह गरिरहेको सेवाका बारेमा जानकारी लिएका छन्।

उनले सबै अस्पताललाई उपचार नगरी फर्काउनु भएको त छैन भन्ने प्रश्न गरेका थिए। अनुगमन पछि  हेल्थपोष्टसँग कुरा गर्दै लिङदेनले भने, ” कोभिड संक्रमितको अवस्था झापामा भयावह रहेछ।” उनले मेची प्रादेशिक अस्पतालमा रहेको कोभिड उपचार केन्द्र नाम मात्रैको भएको प्रतिक्रिया दिए।

” कोभिड संक्रमितलाई भेन्टिलेटरमा राख्नु पर्ने अवस्था आयो भने त्यस्तो व्यवस्था र प्रबन्ध मिलाएको रहेनछ” सांसद लिङदेनले भने,” मेचीको उपचार केन्द्रमा सिलिन्डरबाट सिधैँ अक्सिजन दिने गरिएको रहेछ, सेवा अव्यवस्थित र भयावह रहेछ ।”

उनले अव्यवस्थित भेन्टिलेटरको व्यवस्थापन गर्न र प्रबन्ध मिलाउन निजी अस्पताल संचालकलाई समेत आग्रह गरेका छन्। मेचीको कोभिड उपचार केन्द्र नाम मात्रको भएको र त्यसमा तत्काल सुधार गर्न सरकारसँग सांसद लिङदेनले आग्रह समेत गरेका छन्।

कोभिड संक्रमितले उपचार नपाएको, अस्पताल चाहार्दाचाहार्दै मृत्यु हुनु दयनीय र टिठ लाग्दो अवस्था भएको बताएका उनले जेष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी, शारीरिक अपांगता भएका तथा दीर्घरोगीलाई सर्वसुलभ स्वास्थ्य सेवा अत्यन्त जरुरी रहेको औंल्याए।

जिल्लाको समग्र स्वास्थ्य अवस्था र सेवाको जानकारी लिन र त्यसको सुधारका लागि के गर्न सकिन्छ भनेर आफूले अस्पतालहरुको अनुगमन सुरु गरेको सांसद लिङदेनको भनाइ छ।

लिङदेनले भोलि ( शुक्रबार ) झापाका सबै संघीय सांसद, प्रदेश सांसद र प्रमुख जिल्ला अधिकारीका बीचमा छलफल तय भएको जानकारी दिए। सो छलफल ठोस विषयमा केन्द्रित हुने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय