कोरोना भाइरसः मेक्सिकोमा ९० हजार, अर्जेन्टिनामा ३० हजार बढीको मृत्यु

मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ। मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमितको ज्यान गएको छ।

मन्त्रालयका प्रवक्ता लुइज अलोमियाले मेक्सिकोमा हालसम्म ९ लाख ६ हजार व्यक्ति संक्रमित भइसकेको बताउँदै यी संंक्रमितमध्ये ९० हजार ३०९ जनाको मृत्यु भएको जानकारी दिए।

उनले पछिल्लो २४ घण्टामा ५ हजार ५९५ जना नयाँ संक्रमित थपिएको पनि बताए। यसैबीच, दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा काेरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार ७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ३४५ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको थियो। मन्त्रालयका अनुसार अर्जेन्टिनामा हालसम्म ११ लाख ३० हजार ५३३ जना संक्रमित भएकामा ९ लाख ३१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्।

अर्जेन्टिनाको सबैभन्दा ठूलो शहर ब्यूनस आयर्समा मात्र ५ लाख ४० हजार व्यक्तिमा संक्रमण देखिएको छ। मन्त्रालयले कोरोनाभाइरसका कारण गम्भीर स्वास्थ्य अवस्था रहेका पाँच हजार व्यक्तिको हाल सघन उपचार कक्षमा राखेर उपचार भइरहेको जनाएको छ।

अर्जेन्टिनामा गत मार्च ३ मा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ४ करोड ४३ लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने ११ लाख ७० हजारभन्दा बढीको ज्यान गइसकेको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय