कोभिड के हो भन्ने आफूलाई पर्दा थाहा हुन्छ

रेणु् त्वानाबासु/भक्तपुर
प्रकाशित
२०७७ कार्तिक १२ गते १३:४७

कोरोना संक्रमण जितेकी स्टाफ नर्स सुजना बासुकला

कोरोना केही होइन भन्नेहरु पनि अहिले आफूले भोगेपछि मात्रै कोरोना के हो भनेर थाहा पाउन थालेका छन्। ‘जबकि अरुलाई पर्दा केही होइन, निको हुन्छ भन्न जति सजिलो छ, त्यति आफूलाई पर्दा नहुने रहेछ। कोरोनाको लक्षण भएपछि झन् गाह्रो हुने रहेछ,’ चागुनारायण नगरपालिका–९ मा बस्ने स्टार्फ नर्स सुजना बासुकलाको भनाइ यो हो।

भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य सेवा केन्द्रको आकस्मिक कक्षमा काम गर्ने स्टाफ नर्स हुन् सुजना। सुरुमा उनलाई ढाड दुख्ने समस्या भएको थियो। जुन कोभिडको दुर्लभ लक्षण रहेछ। पछि सुजनालाई डिउटीमा काम गर्दा निकै थकान महशुस भएको उनी बताउँछिन्।

थकान महशुस भएको १२ घण्टाभित्र उनलाई ज्वरो आउने र टाउको दुख्ने लक्षणहरु पनि देखा पर्ने थालेको थियो। सँगसँगै रुघाखोकी, श्वास फेर्न केही कठिनाइ पनि अनुभव भएको उनी सुनाउँछिन्।

‘यी सबै रोगका लक्षण देखिएपछि मैले चिकित्सकसँग परामर्श लिने निर्णय गरेँ,’ उनले भनिन्, ‘स्वास्थ्यसम्बन्धी जानकारी मेरो लागि बरदान र श्राप दुवै भयो। स्वास्थ्यसम्बन्धी जानकारीकै कारण म आफ्नो शरीरमा आउने हरेक परिवर्तनका कारण खोज्ने गर्छु, त्यसको विश्लेषण गर्ने प्रयास गर्छु।’

कोभिडका बिरामीहरूलाई रोगको लक्षण देखापरेको १० वा १४ दिनभित्र सिटोकिन भनिने अवस्थामा फोक्सोमा थप भार पर्ने, अवस्था बिग्रने सम्भावना भएको आफूले जानकारी पाएको उनले बताइन्। चिकित्सकलाई उनले आफूलाई भएका समस्याहरु लक्षणबारे सोधपुछ गरिन्।

‘उहाँले विगतको मेरो स्वास्थ्य अवस्थाबारे पनि सोध्नुभयो। सोधपुछपछि उहाँले कोभिड–१९ परीक्षण गराउन सल्लाह दिनुभयो,’ उनले भनिन्। चिकित्सकको सल्लाहपछि उनले असोज ९ गते स्वाब संकलन गर्न दिइन्। परीक्षणका लागि स्वाब दिएपछि उनी घरमै क्वारेन्टाइन बसिन्।

उनी भन्छिन्, ‘घरमै क्वारेन्टिन बस्ने क्रममा फोक्सोको कार्यक्षमता बढाउन शरीरको विभिन्न पोजिसन मिलाएर सुतेँ। मैले मेरो तापक्रम, पल्स रेट, अक्सिजन स्याचुरेसन आदिको नियमित रेकर्ड राखेँ। साथै बान्ता आउला जस्तो असजिलो अवस्था, शरीरको दुखाइ र टाउको दुखाइका सबै असजिला अवस्थामा ध्यान दिएँ। चिकित्सकसँग नियमितरूपमा सम्पर्कमा बसेँ।’

असोज १४ गते कोरोना पोजिटभ भएको खबर उनलाई अयो। त्यसपछि उनको मोबाइलमा लगातार विभिन्न व्यक्तिको फोन आउने क्रम बढ्ने थाले। पहिलो कल उनलाई आफूले काम गरेको जनस्वास्थ्य सेवा केन्द्रबाट आएको उनले बताइन्।

त्यसपछि टेकु अस्पताल, भक्तपुरको जिल्ला स्वास्थ्य कार्यालय, चाँगुनारायण नगरपालिका र वडाका जनप्रतिनिधिको फोन पनि आएको थियो।
‘लगातारको कलले म झन् आत्तिएजस्तो अनुभूति भयो,’ उनले भनिन्, ‘मलाई न केही हुने पो हो कि, केही समयमै मलाई ब्रह्मायणीस्थित भक्तपुर नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा लैजान एम्बुलेन्स आइपुग्यो।’

आफूले स्वाव दिएको भोलीपल्टबाट सुरु भएको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित त्यो आइसोलेसन केन्द्र बस्न पुगिन्। ‘यो आइसोलेसन नभएको भए म सायद खरीपाटीको आइसोलेसनमा जाुनपर्ने थियो होला’ उनले भनिन्।

आइसोलेसनमा बस्नु अगाडि क्वारेन्टाइनमा बस्न सुरु गरेपछि नै समाजमा परिवारलाई गर्ने व्यवहारमा फरक महशुस गरिन् उनले। स्वाव परीक्षण गराएको रिर्पोट नै नआएको बेला समाजले भने आफैं कोरोना पोजेटिभ भएर घरमै भएको भन्नेका थिए। उनी अघि भन्छिन्, ‘के थाहा मेरो नेगेटिभ पनि आउन सक्थ्यो नि? तर समाजले क्वारेन्टाइनमा बसेपछि पोजेटिभ भयो भनेर सोँच्ने रहेछन्।’

यहि कारणले गर्दा परिवारको सबैको नेगेटिभ र आफ्नो पोजेटिभ आएर आइसोलेसनमा बस्न जाँदा पनि उनको खेतमा कोही पनि खेताला नआएको र आउन मानेनन्। यसवर्षको धान खेतालाबिनै परिवारले दुःख गरेर भित्र्याएको उनी बताउँछिन्।

‘स्वास्थ्यकर्मी भएको नाताले मै पर्दा सबैलाई सहयोग गरेकै हो। तर मलाई परेको बेला समाज र त्यस वरिपरीका मानिसले जुन व्यवहार गरेँ त्यो निकै दुःखद रह्यो,’ उनले भावुक हुँदै भनिन्।

आइसोलेसन केन्द्रमा तीनवटा अलग अलग वार्ड थिए–ज्येष्ठ नागरिक वार्ड, महिला वार्ड र पुरुष वार्ड। आइसोलेसन केन्द्रमा उनी २१ औं नम्बरको संक्रमित थिइन्। त्यहाँका नर्सिङ स्टाफहरूले हार्दिक स्वागत गरे।

केन्द्रमा कार्यरत स्टाफहरूले साथीजस्तै व्यवहार गरे। सबैजनाको राम्रो हेरविचार गरे। ‘तर, खाँचो पर्दा उनीहरूले कडाइ पनि गरे। मलाई नियमित खान केही औषधि उपलब्ध गराइयो। जस्तैः ज्वरोको औषधि (एन्टीपाइरेटिक), भिटामिन सी आदि। त्यो सबै संक्रमितको लागि दिइने औषधि हो,’ सुजनाले भनिन्।

उनलाई आइसोलेसनका नियम, समय तालिका र आइसोलेसनमा गर्नुपर्ने नियमित गतिविधिबारे जानकारी दिइयो। अनि एक थान स्यानिटाइजर, एउटा रुमाल र दैनिक रूपमा खाँचो पर्ने केही भाँडाकुँडा उपलब्ध गराइयो। ती सामानसहित उनलाई महिला वार्डमा लगियो।

आइसोलेसनका अधिकांश दिनहरू उकुसमुकुसमै बितेको उनी सुनाउँछिन्। ‘कतिबेला त आफूलाई सम्हाल्नै सक्दिनँ थिए,’ उनले भनिन्।
त्यतिबेला आइसोलेसन केन्द्रका चिकित्सक र स्वाथ्यकर्मीहरूको परामर्शमा मनमनै प्रार्थना गरेर, नकारात्मक सोच धपाएर, केही हल्का शारीरिक व्यायाम गरेर उनी आफूलाई सकेसम्म सकारात्मक बनाउने प्रयास गर्थिन्।

कोभिडसँग सम्बन्धित अनुसन्धान पत्र र समाचारहरूका साथै केही उपन्यासहरू पनि उनले पढिन् आइसोलेसनमा। कोठामा एक्लै हुँदा मनमा एक्लोपना, अल्छीपना र बाँकी संसारबाट अलग भएजस्तो अनुभव भएको उनी सुनाउँछिन्।

‘वार्डमा अरू पनि बिरामीहरू थिए। उनीहरू आफ्नो अल्छीपना चलचित्र हेरेर मार्दै थिए। साथै आइसोलेसन केन्द्रमा वाईफाईको व्यवस्था भए पनि वाईफाई नटिप्दा हामीलाई गीत सुनाएर मनोरञ्जन गराउने व्यवस्था गरिएको थियो, त्यतिबेला एकदम रमाइलो महशुस हुन्थ्यो मलाई,’ उनले आइसोलेसन बस्दाको अनुभव सुनाइन्।

हरेक दिनको कार्यतालिका फरक–फरक हुन्थ्यो। अलग बसेको व्यक्ति भएकोले उनीहरूले आफूले चाहेजस्तो सबै चाहना पूरा गर्न नसक्नु स्वाभाविक थियो। ‘उदाहरणको लागि मैले चाहेका केही खाजा र स्वस्थबद्र्धक पेयपदार्थ त्यहाँ उपलब्ध थिएन। यसले मनमा एक प्रकारको हतासभावना जाग्थ्यो,’ सुजना भन्छिन्।

तर, आइसोलेसन केन्द्रका आफ्नै नियमहरू छन्। आइसोलेसन बस्दा पालना गर्नुपर्ने निश्चित दायित्व पनि हुन्छ। यसरी आफूले चाहेको कुरा पाउन नसक्दा आइपर्ने असजिलो भावनालाई जित्न त्यहाँ संगीत, ध्यान र चिकित्सकहरूको परामर्श सेवा उपलब्ध थियो।

चौध दिनपछि क्रमशः रोगका लक्षणहरू हराउन थाले। मानसिकरूपमा बलियो हुँदै गइन्। अन्ततः असोज २२ गते आइसोलेसन केन्द्रबाट बिदा भएर घर जाने दिन आयो।

‘भक्तपुर नगरपालिकाले जे जति व्यवस्था र बन्दोबस्त गरेको छ, त्यो निकै राम्रो लाग्यो। आइसोलेसन केन्द्र भनेको बिरामीलाई जोगाउनमात्र होइन, उनीहरूका घर परिवार र आफन्तलाई पनि संक्रमणबाट जोगाउन बनाइएको हुन्छ। आइसोलेसन केन्द्रका नियमहरू जो कोहीले पनि पालना गर्न जरुरी छ’, उनले भनिन्।

यो समयमा आफूलाई बलियो बनाउन प्रयास गरिन् उनले। इच्छाशक्तिलाई कमजोर बनाएर आफूलाई अझ कमजोर बनाइनन् उनले। अहिले पनि उनी नियमितरूपमा तातो पानी र झोल पदार्थ खाने गरेकी छिन्।

साथै पसिना नछुटुञ्जेल शारीरिक व्यायाम गर्ने गर्छिन्। ‘साथै मैले केही श्वासप्रश्वासका अभ्यास पनि नियमित गर्ने गरिरहेकी छु। कोभिडको संक्रमित बढेको कारण आइसोलेसनमा बसेर घर आएको ३ दिनमै फेरि मैले ड्युटी जोइन गरिसकेँ,’ सुजनाले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय