प्लाज्मा दान गर्न रेडक्रसद्वारा अपिल

नेपाल रेडक्रस सोसाइटी झापाले प्लाज्मा दान गर्न सार्वजनिक आह्वान गरेको छ। उपचाररत कोरोना संक्रमितहरुकोअवस्था गम्भीर भएकोमा चिन्ता व्यक्त गर्दै रेडक्रसले त्यस्तो आव्हान गरेको हो।

रेडक्रस झापा सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल र विपी कोइराला विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत १३ जना सङ्क्रमितको अवस्था गम्भीर बनेको बताए। उनीहरूको जीवन रक्षाका लागि प्लाज्मा दान गर्न रेडक्रसले आह्वान गरेको हो।

कोरोना संक्रमण निको भएका व्यक्तिले १४ दिनदेखि ३ महिनाभित्र प्लाज्मा दान गर्न सकिने छ। रेडक्रसको बिर्तामोडस्थित रक्तसञ्चार केन्द्रको प्लाज्मा बैंकमा आएर इच्छुकलाई निःशुल्क दान गर्न रेडक्रसले भनेको हो।

‘सङ्क्रमण बढेसँगै सातजना भन्दा बढी संक्रमित गम्भीर अवस्थामा आइसियूमा हुनुहुन्छ,’ सभापति ढकालले भने, ‘संक्रमितका आफन्तले तत्काल प्लाज्मा चाहियो भनेर भनिरहनुभएको छ। उहाँहरुको जीवन बचाउन कोरोना जितेका व्यक्तिले प्लाज्मा दान गरौं।’

हालसम्म आठ जनालाई प्लाज्मा बैंकमा जम्मा भएको प्लाज्मा निःशुल्क प्रदान गरेको रेडक्रसले जनाएको छ। बैंकमा चार पोका प्लाज्मा मौज्दात रहेको छ। झापामा हालसम्म १० जनाले प्लाज्मा दान गरेका छन्। प्रदेश १ मा धरान, विराटनगर र बिर्तामोडमा प्लाज्मा संकलन गर्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय