पहिलोपटक मुस्ताङमा समुदायमा देखियो कोरोना, तीन दिनका लागि विद्यालय बन्द

मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम बस्ने एक ३८ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। कात्तिक ३ गते सात जनाको स्वाबमध्ये क्षयरोग परीक्षण केन्द्रको पोखरास्थित प्रयोशलामा भएको पिसिआर परीक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो।

बुधबार आएको रिपोर्ट अनुसार महिलामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल मुस्ताङले जनाएको छ। संक्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै घरमा आइसोलेसनमा बसेका जिल्ला अस्पतालका डाक्टर अनिल तिमिल्सिनाले बताए।

जिल्ला बाहिर नगएकी ती महिलामा कोरोना पुष्टि भएपछि जोमसोमस्थित जनहित माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।

विद्यालयका प्रधानाध्याक रामचन्द्र अधिकारीले अहिलेसम्म ग्रिन जोनकै अवस्थामा रहेको मुस्ताङमा कोरोना संक्रमण देखिएपछि विद्यार्थीलाई सुरक्षित राख्न तीन दिनका लागि विद्यालय बन्द गर्नुपरेको बताए।

यस्तै मंगलबार मुस्ताङको जोमसोमस्थित बैंकमा कार्यरत एकजना कर्मचारीलाई डेंगुसहित कोरोना देखिएको थियो। साग्रिला डेभलमेन्ट बैंकमा कार्यरत एक पुरुष कर्मचारीमा डेंगुसहित कोरोना पोजेटिभ देखिएको थियो।

डेंगुसहित कोरोना पुष्टि भएका ती कर्मचारी मुस्ताङबाट दसैंअघि कार्तिक ३ गते घर गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय