शिल्पीको स्वस्थ रहने काइदा…

कृष्ण मल्ल/बुटवल
Published on
Wednesday October 28, 2020

न कोलाहल, न त भिडभाड। शान्त बगिरहेको बडिगाड खोलाको छेउको खैरेनी बजार। कलाकार शिल्पी विनोदले कर्मथलो बनाएका छन् यो ठाउँलाई।

जुन ठाउँ हो गुल्मीको सत्यवती गाउँपालिका–६, खैरेनी। त्यस क्षेत्रकै नुन तेल किन्ने पुरानो बजार पनि हो। शिल्पी त्यही खैरेनीमा स्वरोजगार छन्। फुर्सद निकाले वरपरको प्रकृतिसम्म पुगेर मन खुसी पार्छन्। पुस्तक पढेर साहित्य र समाजसँग नजिक हुन्छन्।

यसलाई उनले स्वस्थ रहने काइदाको रुपमा लिएका छन्। उनको दैनिकी हेर्दा कम लोभ लाग्दो छैन। सफा सुन्दर प्रकृतिका डाडा काडासम्म पुग्छन्, ति ठाउँसँग परिचित हुन्छन् र अरुलाई पनि उक्त ठाउँहरुबारे परिचय दिने प्रयास गर्छन्।

गुल्मीको खैरेनीमा शिल्पी विनोद परिचय पेन्टिङ गर्ने र चित्र कोर्ने कलाकर्मीको रुपमा छ। तर, उनले पेन्टिङ गर्ने कर्मसँगै पहाडको उकालो चढ्ने, साइकल चढ्ने र पुस्तक पढ्ने सोख पनि सँगै पालेका छन्।

सोखलाई हुर्काउन आफूले समय मिलाएर पहाडको उकालो चढ्छन्, साइकल चलाउने र पुस्तक संकलन गर्दै पढ्ने गरेको विनोद बताउँछन्।

बुटवलमा रहेर पेन्टिङ गर्ने र ढुङ्गामा आकृति खोप्ने सीप सिकेका विनोदले त्यही सीपलाई अहिले स्वरोजगार पेशाको रुपमा अगाडि बढाएका छन्।

यसबाट उनको स्वरोजगारमात्र भएको छैन् त्यस क्षेत्रमा परिचय पनि फैलिदो छ। सीप र मिहिनेत भए बाँच्नका लागि गाह्रो नहुने अनुभव उनले लिएका छन् भने थोरै समय छुट्याएर आफैंलाई दिन सके त्यसले शरीर स्वस्थ राख्ने उनी बताउँछन्।

शरीर स्वस्थ राख्नका लागि साइकलिङ गर्ने, खैरेनी क्षेत्रका पाखा पखेरा पुग्ने गरेको उनले सुनाए।

‘त्यसबाट शरिरलाई व्यायाम पुग्ने, मनलाई मनोरञ्जन हुने र आफ्नै भूगोलबारे परिचित हुने मौका मिल्छ,’ उनले भने, ‘मलाई स्वस्थ रहन र शरीरलाई फूर्तिलो राख्न ठूलो मद्दत पुगेको छ।’

वाल पेन्टिङ, चित्रकला, क्यानभास पेन्टिङ, साइनबोर्ड लेखन र मूर्ति बनाउने कामले पैसासँगै सम्मान पाएको उनले बताए। समय मिलाएर पुस्तक पढ्नु उनको अर्को शोख हो।

२०६४ सालदेखि साहित्यिक पुस्तक पढन सुरु गरेका शिल्पीले ५ सय बढी पुस्तक पढिसकेको बताए। उनले लकडाउन यता तीन दर्जन पुस्तक पढिसकेका छन्।

उनले चार कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेका छन्। ति काम के हुन त? भन्ने जिज्ञासामा शिल्पी विनोदले भने, ‘पहिलो पसलमा काम गर्ने, दोस्रो किताब पढने, तेस्रो पहाड चढ्ने र चौथो कविता लेख्ने।’

पहाड चढ्ने रुटिङ के छ त? भन्ने अर्को जिज्ञासाम शिल्पीले भने, ‘हप्ताको दुई दिन म हिँड्छु। साविकको लिम्घा, रिमुवा र हँसरा गाविसका धेरै क्षेत्रमा म पुगिसकेँ।’

त्यसरी डाँडाकाँडामा पुग्दा फेसबुकबाट त्यस क्षेत्रको परिचय दिने गरी लाइभ भिडियो पनि पोस्ट गरिदिने गरेको उनले बताए।

शिल्पीकाअनुसार पुस्तक पढ्ने समय भने उनले बिहान÷बेलुका मिलाउने गरेका छन्। कमाईको केही अंश किताब किन्नका लागि छुट्याउने गरेका छन्।

आमा, श्रीमती र एक छोरीसँगै बस्दै आएका शिल्पीकी ६ वर्षकी छोरी पनि चित्र बनाउँछिन्। बाबाले बनाएको हेर्दै, देख्दै गर्दा चित्र बनाउन सिकेकी छन्। तर ठूलो भएर के बन्ने त? भन्ने जिज्ञासामा भन्ने उनी भन्छिन्, ‘आँखाको डाक्टर।’

छोरीमा आँखाको डाक्टर बन्ने ईच्छा कहाँबाट पलायो त? भन्ने जिज्ञासामा शिल्पीले हाँस्दै भने, ‘चित्र बनाउन त मेरो दैनिकीबाट सिकेकी हुन् तर डाक्टर बन्ने कुरो चाही कहाँबाट प्रभावित बनिन् थाहै भएन।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News