गाउँमै स्वास्थ्य इकाई स्थापनाले उपचारका लागि घण्टौंको दूरी छोटियो

पाल्पाको तिनाउ गाउँपालिका–६ पाटन गाउँकी रमा अर्गाली दुई वर्षअघि रिब्दिकोट गाउँपालिकाले सञ्चालन गरेको गाउँघर क्लिनिकमा भेटिएकी थिइन्।

छोराको नियमित स्वास्थ्य जाँच गर्न घण्टौं हिँडेर रिब्दीकोट गाउँपालिकाको ढुस्टुङ पुगेकी उनले त्यतिबेला भनेकी थिइन् घण्टौं हिडेर आएँ, काखको छोरो बोकेर घर पुग्दा रात पर्छ।

उनका अनुसार त्यतिबेला गाउँमा स्वास्थ्य संस्था थिएनन्। बिरामी पर्दा उपचारका लागि कि त बतासे जानुपथ्यो, कि त तानसेन। टाउको दुख्दा खाने सिटामोलसमेत किन्ने सुविधा गाउँमा नभएको उनले दुखेसो पोखेकी थिइन्।

तर, अहिले रमा अर्गालीको मात्र होइन, पाटन गाउँको अवस्था फेरिएको छ। पाटन गाउँमा सामुदायिक स्वास्थ्य इकाई खोलिएपछि त्यहाँका स्थानीयको आधारभूत स्वास्थ्य उपचारका लागि घण्टौं हिडनुपर्ने बाध्यता हटेको छ।

‘पहिले घण्टौं हिँडेर १५ दिनको फरकमा स्वास्थ्य सेवा लिनका लागि अर्को पालिका जानुपथ्र्यो अहिले आफ्नै गाउँको स्वास्थ्य इकाईमा पुग्छु’, रमाले भनिन् ।

स्थानीय भीमबहादुर सोमैले गत फागुनमा स्वास्थ्य इकाई स्थापना भएपछि सानो–तिनो बिरामीको उपचार गाउँमै हुन थालेको बताए। सडक, बिजुली र स्वास्थ्य इकाइ आएपछि सरकार गाउँमै आएको महशुस हुन थालेको उनले सुनाए।

‘भौगोलिक हिसाबले मात्रै होइन, अन्य सुविधाका हिसाबले पनि हाम्रो गाउँ त दुर्गम हो,’ उनले भने, ‘तर जनप्रतिनिधि आएपछि गाउँको समस्याको बारेमा सुनुवाई हुन थालेको छ।’

रमा अर्गालीकी सासू मिठु अर्गालीले पनि घरका परिवारले स्वास्थ्य इकाईबाट सेवा लिइरहेको बताइन्। ‘मेरो खुट्टामा समस्या आएको थियो,’ उनले भनिन्, ‘यहाँका नानी (अनमी)ले घरमै पुगेर सेवा दिनुभयो।’

यसअघि यहाँका स्थानीयलाई उपचारका लागि तानसेन पुग्नुपथ्र्यो। पैसा खर्च त हुन्थ्यो तर भनेजस्तो स्वास्थ्य नपाइने गरेको स्थानीय बताउँछन्। अहिले गाउँबाटै स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय खुसी छन्।

तिनाउ गाउँपालिका–६ का वडाध्यक्ष टोमबहादुर पुनले गाउँमा स्वास्थ्य सेवा दिनुपर्ने आवश्यकता देखिएपछि स्वास्थ्य इकाई खोलिएको बताए। उनकाअनुसार पाटन गाउँका पाँच दर्जन परिवारले उक्त इकाईबाट स्वास्थ्य सेवा लिइरहेका छन्।

स्वास्थ्य इकाईहरुको अवस्था हेरेर क्रमशः स्तर बृद्धि र कर्मचारीको व्यवस्थापनमा जोड दिइने गाउँपालिकाले बताएको छ। गाउँपालिकामा स्थापना भएका सामुदायिक स्वास्थ्य इकाईमा स्वास्थ्य चौकीभन्दा बढी जनताले सेवा लिएका छन्।

भौगोलिक कठिनाइले स्वास्थ्य संस्था थप्नुपर्‍योः अध्यक्ष घर्ती

गाउँपालिकाको भूगोलका कारण स्वास्थ्य संस्थाहरु थप्नुपर्ने बाध्यता रहेको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती बताउँछन्। चुरे क्षेत्र, वन–जंगल र छरिएको बस्ती भएका कारण जनतालाई घर नजिक स्वास्थ्य सेवा दिनका लागि पालिकाको पहलमा ८ वटा स्वास्थ्य संस्था थप गरिएको उनले बताए।

त्यसमध्ये झिंगामारा गाउँमा गाउँपालिकाको बजेटबाट स्वास्थ्य संस्थाका लागि भवन निर्माण भइरहेको छ। झिगामारा गाउँमा स्वास्थ्य संस्था नहुदा त्यस क्षेत्रका बासिन्दाहरु पैदल दुई घण्टाको यात्रा गरी पालिकाको कचल स्वास्थ्य चौकी र रुपन्देहीको सैनामैना नगरपालिका रानीबगिया र मुर्गियासम्म पुग्नुपर्ने बाध्यता थियो।

त्यहाँसम्म आउन जानका लागि बन क्षेत्र पार गर्नुपर्दथ्यो। तिनाउ गाउँपालिकाले आफ्नै स्रोतबाट बजेट विनियोजन गरी स्वास्थ्य इकाई स्थापना गरेको हो।

जनतालाई स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए। अध्यक्ष घर्तीका अनुसार चालू आर्थिक वर्षमा गाउँपालिकाको वडा नम्बर १ को झिगामारा गाउँ र वडा नम्बर ६ को पाटनमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो।

झिगामारा गाउँमा स्थापना भएको स्वास्थ्य इकाईबाट १९६ घरका परिवारले सेवा लिने र पाटन गाउँमा स्थापना भएको इकाईबाट ५५ घरपरिवारले सेवा लिएको उनको भनाई छ।

तीनवटा गाउँमध्ये झिगामारा बीचमा पर्ने हुँदा उक्त गाउँमा स्वास्थ्य इकाई राखिएको उनको भनाई छ। उनले पालिकाले स्थापना गरेका स्वास्थ्य संस्थाहरुबाट प्राथमिक उपचारका सेवाहरुका साथै सरकारबाट उपलब्ध हुने निःशुल्क औषधिमध्ये ३५ प्रकारका औषधिहरु उपलब्ध गराइरहेको बताए ।

आठ वटा स्वास्थ्य संस्था थपिएः प्रवक्ता श्रेष्ठ

तिनाउ गाउँपालिकाले ८ वटा सामुदायिक स्वास्थ्य इकाईहरु स्थापना गरिसकेको छ। ति मध्ये झुम्सा, चर्चरे र बगाहा सामुदायिक स्वास्थ्य इकाईमा स्वास्थ्य सेवा लिनेको संख्या स्वास्थ्य चौकीभन्दा बढी पाइएको हो।

चारवटा स्वास्थ्य चौकी र आठवटा सामुदायिक स्वास्थ्य इकाई गरी १२ वटा स्वास्थ्य संस्थाहरु रहेका छन्। साविकको चार गाविस मिलेर बनेको तिनाउ गाउँपालिकामा दोभान, कचल, मस्याम र कोलडाडामा स्वास्थ्य चौकीहरु छन्।

गाउँपालिका स्थापनापछि आठवटा स्वास्थ्य संस्था थपिएका हुन्। छाप र झुम्सामा रहेको स्वास्थ्य संस्थामा अहेब, अनमी र कार्यालय सहयोगी छन् भने, बगाहा र चर्चरेको स्वास्थ्य इकाईमा दरबन्दीका अनमीसमेत छन्।

त्यसैगरी बगाहा स्वास्थ्य संस्थामा स्वास्थ्य सहायक पदका कर्मचारीले सेवा दिइरहेका छन्। गाउँमा सिंहदरबार आएको महशुस हुनेगरी तिनाउ गाउँपालिकाले काम गरिरहेको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ बताउँछन्।

उनले सामुदायिक स्वास्थ्य इकाईको स्थापनासँगै पालिकाभित्रका गाउँमा अब सिटामोल खोज्नका लागि गाउँ छाड्नुपर्ने बाध्यताको अन्त्य भएको बताए।

सरकारको स्वास्थ्य नीति अनुसार एक घण्टाभित्र स्वास्थ्यको सेवा लिन पाउने अधिकारभित्र तिनाउ गाउँपालिकाले स्वास्थ्य संस्थाको स्थापना गरी स्वास्थ्य सेवा विस्तार गरेको बताए।

स्थापना भएका स्वास्थ्य इकाईहरुमध्ये दुईवटा भाडाका भवनमा सञ्चालनमा छन्, भने ६ वटा स्वास्थ्य इकाईहरु आमा समूहको भवन र विद्यालयमा सञ्चालनमा छन् । विस २०६८ को जनगणनाअनुसार पालिकामा तीन हजार ९ सय ८८ घरधूरी, १९ हजार २ सय ३८ जनसंख्या रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय