‘खोप आइसकेपछि भोज गरौंला, अहिलेलाई सुरक्षित दसैं’

यज्ञराज जोशी/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक १० गते १६:२६

अघिल्ला वर्षका दसैंमा छुट्टै उमंग हुन्थ्यो।

परिवारका सबै सदस्य गोलघेरामा बसेर ठूलाबडाबाट पालैपालो टीका र जमरा लगाउँथे।

घन्टौंसम्म टीका र जमरा लगाउँदाको रमाइलो अनि पोज(पोजका फोटा खिच्नुको मज्जा नै बेग्लै हुन्थ्यो।

टाढा–टाढाबाट आफन्त र इष्टमित्र पनि टीका–जमरा लगाउन र आशिष थाप्न आउँथे।

तर, यसपालि कोरोना त्रासले दसैंको रौनक लिएरै गएसरह हुने निश्चित छ। केवल मानिसभित्र त्रासमात्रै छ।

परिवारकै बीचमा पनि कसरी टीका(जमरा लगाउने भनेर मानिस सोचिरहेका छन्।

भीडभाड हुँदा वा कुनै एक व्यक्तिलाई मात्रै कोरोना भाइरस संक्रमण भएको रहेछ भने त्यसले परिवारमात्रै नभएर नातागोतालाई नै सर्नसक्ने जोखिम कराण पनि मानिस त्रासमा छन्।

तर, जनस्वास्थ्यविद डा.रविन्द्र पाण्डे भने सावधानी अपनाए रमाइलोसँग दसैं मनाउन सकिने र सुरक्षित भइने बताउँछन्।
उनी मेलामहोत्सव आयोजना नगर्न र त्यस्ता भीडभाड हुने ठाउँमा नजान सुझाव दिन्छन्।

उनी टीका लगाउँदा पनि दुरी कायम गरेर र मास्क लगाएर मात्रै टीका लगाउन सुझाव दिन्छन्।

डा.रविन्द्र पाण्डे
‘यो पटक निधारमा टीका नलगाउने। हातमा टीका जमरा दिने। घरभित्र टीका लगाउने काम नगरी घर बाहिर टीका लगाउने काम गर्ने,’ उनले भने।

बाहिर टीका लगाउँदा हावा पास हुने भएकाले कोरोनाको जोखिम कम हुने उनको भनाइ छ। उनले एकदमै छोटो समयमा टीका–जमरा लगाइसक्नुपर्ने बताए।

टीका–जमरा लगाउन गएको ठाउँमा खाना–खाजा नखान उनको सुझाव छ।

उनी यसपालि मान्यजनलाई कोसेलीका रूपमा मास्क र स्यानिटाइजर दिन सुझाव दिन्छन्।

पाण्डे यसपटकको दसैंमा सबैलाई आफ्नै घरमा पाकेको परिकारमात्रै खान सुझाव दिन्छन्।

‘मैले प्रसादका रूपमा खाइनँ भने आफन्तले दुःख मान्लान् कि भन्ने नसोचेर अरूलाई पनि खान कर नगर्ने र आफू नखाने गरे सुरक्षित भइन्छ,’ उनले भने।

बाहिरबाट कुनै पनि परिकार किनेर नखान सुझाव दिए। पिङ खेल्नेलगायत भीडभाड हुने गतिविधि नगर्न पाण्डे सुझाव दिन्छन्।

दसैंमा खानपिन नमिल्ने भएकाले त्यसै पनि बिरामी हुने सम्भावना हुने भएका कराण खानेकुरामा विशेष ध्यान दिन उनको सुझाव छ।

‘ताजा, सफा खानेकुरा मात्रै खानुपर्छ। हेल्थी खानेकुरामा विशेष जोड गर्नुपर्छ,’ उनले भने, ‘आफूले पचाउन सक्नेगरी थोरैमात्र खानुपर्छ। मिठो मसिनो खान पाइयो भन्दैमा शरीरले पचाउनै नसक्ने गरी खानु हुँदैन।’

उनी नियमित बिहानै उठ्ने र व्यायाम गर्ने बानी विकास गर्न पनि सुझाव दिन्छन्। यसले यस्ता महामारीमा मात्रै नभई अन्य बेला पनि मानिसलाई स्वस्थ राख्ने भएकाले सधैंको दैनिकी व्यवस्थित बनाउनुपर्ने बताउँछन्।

‘हेल्थी लाइफ स्टाइल’ बिताए दसैं सुरक्षित हुने उनको भनाइ छ।

उनी कोरोनाबाट जोगिन मास्क ठूलो अस्त्र भएकाले त्यसको सधै प्रयोग गर्न सुझाव दिन्छन्।

‘सबैभन्दा बढी कोरोना भाइरस नाकबाट छिर्छ। त्यसपछि मुखबाट छिर्छ। त्यसपछि न्यूनरूपमा आँखाबाट छिर्छ। त्यसैले मास्कलाई हामीले नाकमुख राम्रोसँग छोप्ने गरी लगायौं भने मात्रै कोरोनाबाट जोगिन सक्छौं,’ उनले भने, ‘खोप आइसकेपछि भोज गर्ने, रमाइलो गर्ने छँदैछ। अहिले ज्यानलाई असुरक्षित राख्ने काम नगरौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय