कोरोना उपचार खर्च सरकारले व्यहोर्नेछ, बिना उपचार बिरामी फर्किनुपरे अस्पताल स्वयम् जिम्मेवार हुनेछन्ः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि अस्पतालबाट कोरोनाका बिरामी उपचार नपाएरै घर फर्किनुपरेमा वा अन्य कुनै समस्या निम्तिए त्यसको जिम्मेवार स्वयम् अस्पताल हुने चेतावनी दिएको छ।

कोरोना संक्रमितको उपचार खर्च सबै सरकारले व्यहोर्ने भन्दै मन्त्रालयले कुनै पनि अस्पतालमा आर्थिक अभाव भएकालाई बिना उपचार नफर्काउन निर्देशन जारी गरेको छ। केही दिनअघि नै सरकारले कोरोनाका संक्रमितले अब आफैं उपचार गर्नुपर्ने बताएको थियो।

त्यसको लगत्तै अस्पतालहरुले आ–आफ्नो अस्पतालमा उपचारका लागि आउने कोभिडका बिरामीका लागि विभिन्न दररेट नै तोकेका थिए।

सबै क्षेत्रबाट गुनासो आएको भन्दै मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत कोरोनाको सम्पूर्ण उपचार खर्च सरकारले नै व्यहोर्ने जनाएको छ। यद्दपि मन्त्रालयले कुनै नागरिक स्वयम् आफैं इच्छुक भएमात्र नागरिकबाट खर्च अशुल गर्न भनेको छ।

विज्ञप्तीमा भनिएको छ, ‘कतिपय अस्पतालहरुले कोभिड–१९ का बिरामीलाई भर्ना गर्दा रकम माग गरेको, रकम तिर्न नसक्नेहरुलाई अस्पतालहरुले उपचार सेवाबाटै वञ्चित गरेकोलगायतका गुनासाहरु आएको सम्बन्धमा यो विज्ञप्ती जारी गरिएको छ।’

विज्ञप्तीमा अघि भनिएको छ, ‘गरिब, विपन्न, अशक्त, असहाय र ज्येष्ठ नागरिकहरुको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र सोका लागि बिरामीहरुका तर्फबाट स्वयम् घोषणा भएमात्र पनि मान्य हुने तथा उक्त उपचारको खर्च नेपाल सरकारले व्यहोर्ने यसै सूचनामार्फत सबैलाई जानकारी गराइन्छ।’

मन्त्रालयले कुनै पनि बिरामी खर्च अभावका कारण अस्पतालबाट फर्किनुपरेमा त्यसको जिम्मेवार स्वयम् अस्पताल नै हुने र कारबाही पनि गरिने चेतावनी दिएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि बिरामीको खर्च अभावका कारण उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म, स्वास्थ्यकर्मीको आचारसंहीता विपरीत हुने व्यहोरा स्मरण गराइन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय