पर्वभन्दा स्वास्थ्यलाई ध्यान दिएकी छुः कलाकार कल्पना कुसुम

कृष्ण मल्ल/बुटवल
प्रकाशित
२०७७ कार्तिक ९ गते १३:२३

गुल्मीको तम्घासमा जन्मिएर बुटवललाई कर्म थलो बनाएकी कलाकार हुन् कल्पना कुसुम। उनी सामाजिक सेवासँगै सांगीतिक क्षेत्रमा एकैसाथ क्रियाशील छिन्।

कल्पना महिला जेसिजमा अपनि आवद्ध छिन्। साथै हाल उनी बुटवल महिला जेसिजकी अध्यक्षसमेत हुन्।

आफ्नो स्वास्थ्य अवस्थालाई ठिक राख्नका लागि सांगीतिक क्षेत्रमा लागेको बताउने कुसुमको संगीतले मनोरञ्जन मात्रै होइन व्यक्तिलाई स्वस्थ राख्नका लागि पनि सहयोग पुर्याउने बुझाइ छ।

त्यसको उदाहरण आफू नै रहेको उनको भनाइ छ। ‘विभिन्न कारणले तनावमा रहीरहने मलाई संगीत कक्षामा भर्ना भएपछि तनावमुक्त पारिदियो,’ उनले भनिन्, ‘रियाज गर्दा र गीत गुनगुनाउँदा टेन्सन भाग्दो रहेछ।’

संगीतले आफूलाई बाँच्न सिकाएको र थप ऊर्जा पनि दिएको उनी बताउँछिन्। आफूले परिवारभित्र मात्रै दशैं मनाउन योजना बनाएको बताउँदै कुसुमले सबैजनालाई आफ्नो परिवारभित्र मात्रै सुरक्षित तरिकाले दशैं मनाउन आग्रह गरिन्।

उनले भनिन्, ‘खानपान र आनीबानीमा ध्यान दिए रोगले आक्रमण गर्दैन। स्वास्थ्य नै जीवन भएको हुँदा महामारीको समयमा स्वास्थ्यलाई ध्यान दिऔं। मेरो प्रमुख प्राथमिकता पनि पर्वभन्दा स्वास्थ्य नै हो।’

कुसुमको दशैं सम्झना र योजना

सानो छँदाका दशैको सम्झना सुनाउँदै कुसुमले भनिन्, ‘दशैमा नयाँ लुगा लगाउन पाउँदाको केटाकेटी खुसी अहिल्यै जस्तै लाग्छ। दशैंमा टिका थाप्न गाउँको आफन्तको घर घरमा पुगेको र टिका थाप्दा पाएको दक्षिणा कति भयो भनेर गनेको याद पनि ताजै छ।’

यसपटकको दशैं भने विषम परिस्थितिले गर्दा दशैं आएजस्तो अनुभूति नभएको उनले बताइन्। सासू ससुराहरु अर्घाखाँचीमा हुँदा सासूआमाले गाउँमै आउन अनुरोध गरेपछि बुटवलमै बस्ने भन्दाभन्दै पनि गाउँ आएको उनले बताइन्।

उनले भनिन्, ‘यो पटकको दशैं सासू ससुरा, (जेठाजु, जेठानी), दाजु दिदी, श्रीमान र छोरीसँगै मनाउँदैछु। कोरोनाका कारण घर–घरमा टिका थाप्ने योजना छैन।’

कुसुमको सांगीतिक यात्रा

कुसुमको सांगीतिक यात्रा २०६८ सालबाट सुरु भएको हो। सानैदेखि गीतसंगीतमा ध्यानमग्न हुने उनी संगीत कक्षा लिन थालेपछि अझै आकर्षित भइन्। बिरामी परेपछि उनले बुटवलको बागेश्वरी संगीतालयमा भर्ना भइ संगीत कक्षा लिन शुरु गरेकी थिइन्।

मनोरञ्जमा मात्रै होइन सन्देशमूलक गीतहरु बढी गाउनमा उनको रुचि र जोड छ। कुसुमको पहिलो एल्बम ‘भमरा’ हो। उक्त एल्बमले बजारमा राम्रै चर्चा पायो।

उनको भनाईमा समग्रमा ‘भमरा’ एल्बम राम्रो रह्यो र उनलाई सांगीतिक यात्रामा अगाडि बढ्नका लागि प्रेरित गरायो। ‘तीजमा लेहेंगा लगाउँछु’ नामक तीज गीत निकालेकी थिइन्। उक्त गीतले पनि निकै चर्चा पायो।

उक्त गीतले उनले छायाँ छवि तीज म्यूजिक अवार्ड काठमाडौं–२०७२ अवार्डसमेत जितेकी छिन्। त्यसपछि २०७५ पुनः उत्कृष्ठ अवार्ड पाइन्। उनले ‘शिवजीको दर्शन’ नामक तीज गीत ल्याइन्। यो गीतले पनि बजारमा निकै चर्चा कमायो। उनले ‘रानी चरी’ तीज गीत, मख्खै पर्यो भवँरा गीतलगायत एक दर्जन गीतमा आवाज दिइसकेकी छन्।

राम्रो कलाकार बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउने उनले भविष्यमा कलाकार मात्र नभएर अन्य क्षेत्रमा पनि काम गर्ने योजनामा रहेको बताइन्। ‘मेरो लागि गीत संगीत नशा हो, म यसबाट अलग हुन सक्दिन’, उनले भनिन्।

संगीतमा श्रीमानको साथ

२०६८ सालमा कुसुम निकै बिरामी परिन्। उनलाई व्यस्त र स्वस्थ राख्नको लागि उनका श्रीमानले संगीत कक्षामा भर्ना गरिदिए। तत्पश्चात संगीत क्षेत्रमा निरन्तर लागिरहेकी छिन्।

‘मलाई यहाँसम्म ल्याइपुर्याउने प्रेरणाको स्रोत नै मेरो श्रीमान् हुनुहुन्छ,’ कुसुमले भनिन, ‘उहाँले नै संगीत कक्षामा भर्ना गरिदिनुभयो, संगीतले मेरो स्वास्थ्य ठिक पारिदियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय