हामी कसैको मृत्युको प्रतीक्षा गर्न बाध्य छौं

जीवन नै प्रतीक्षा रहेछ। सानो हुँदा ठूलो हुने प्रतीक्षा। सफलताको प्रतीक्षा। दुःख निवारणको प्रतीक्षा। सुखको प्रतीक्षा। रातपछि बिहानीको प्रतीक्षा। बिहानपछि साँझको प्रतीक्षा। ड्युटीपछि ड्युटी सकिने प्रतीक्षा। सबैजना केही पर्खिरहेका हुन्छौं।

जीवन पूरै एकोहोरो भएको छ। अचेल समय भने कसैको मृत्युको प्रतीक्षा गरेजस्तो आभास हुन्छ। चित्रगुप्तका दूतहरु अस्पतालमा पर्खिरहेका हुन्छन् होला। कति दूतहरु अचेल घरतिर पनि घुमिरहेका हुन्छन्।

ती सबै प्राणवायु खिच्ने प्रतीक्षामा। पहिलेभन्दा काम बढेको छ होला तिनिहरुको। घर नै अस्पताल भएका छन्। पूरै परिवार अस्पतालमा हुनाले अस्पताल घरजस्तो हुन पुगेका छन्। स्वास्थ्यकर्मीको अभावले अस्पताल घरजस्तै हुन पुगेका छन्।

फरक केवल अक्सिजन भएको बेड र एकाध सुइका औषधि। कोभिडमय अस्पतालमा सबैका फोक्सोमा आक्रमण गरेर कोभिडले उधुम मचाइरहेको छ। श्वास लिन एकाएक गाह्रो हुँदैगर्दा सबैजना अक्सिजनको प्रतीक्षा गरिरहेका छन्।

हावामा भएको अक्सिजनले नपुग्ने कस्ता दिन आए? शताब्दीदेखिको प्रदूषित वातावरणले बदला नै लिएजस्तो (श्वास फेर्न कति गाह्रो हुन्छ भनेर देखाउने प्रयासजस्तो) यति धेरै अक्सिजन फोक्सोले कहिले देखि माग्न थाल्यो। विस्मयमा हुन्छु म कहिले काहीँ।

गाह्रो भएपछि मात्रै अस्पताल जानू भनेर भन्न निकै सजिलो छ। तर, गाह्रो भएपछि अस्पताल खाली हुने सुनिश्चित त कतै छैन। आइसियु बेड कुर्दा कुर्दै प्राणवायु छुटेर गए को त भोग्ने परिवार र देख्ने स्वास्थ्यकर्मीलाई मात्रै थाहा हुन्छ।

त्यस्ता अप्रिय प्रतीक्षाका अनेकौं घटनाहरु आफ्नै आँखाअगाडि नाचिरहेका हुन्छन्। अक्सिजनको मात्रा घटेर जान लागेको देखेपछि अस्पताल ल्याइ पुर्याउँछन्। अस्पताल गेटमा भनिन्छ ‘अस्पतालमा बेड खाली छैन। उहाँलाई आइसियु चाहिन्छ।’

तर तत्काल कतै व्यवस्था गर्न नसकिने हुनाले एउटा कुनाको बेडमा राखेर उपचार सुरु गरिन्छ। जानेको जति उपचार गरिसकेर अस्पताल खोज्न लगाउनै पर्‍यो। उपचार भनेको अक्सिजन र केही औषधि। तर, त्यो बेडमा बिरामीको भाग्यको परीक्षा मात्रै भइरहेको लाग्छ।

कसले कति लामो समय भेन्टिलेटरबिना थेग्न सक्छ भन्ने प्रयासमात्र। सबैजना फोन घुमाउन लाग्छन्। चिनेजानेका डाक्टर नेता आदी सबैलाई फोन गर्छन्। काम पर्दा सम्झिने त हो टाढा टाढासम्मका चिनजान।

तर, कतै सीप लाग्दैन। आइसियु बेड फेला पार्नु सबैभन्दा मुस्किल कार्य हो। लाग्छ बेड भेटाउनेलाई विशेष सम्मान दिनुपर्छ। के बेड खाली नै हुँदैनन् त? हुन्छन्। अवस्य हुन्छन्। कुन बेला खाली हुन्छन् भन्ने टुङ्गो नहुने त हो।

एउटा बिरामीको प्राणवायुले साथ नछोडेसम्म त कसरी खाली हुन्छ होला र यो महामारीमा। कि त सुधार भएको बिरामी आइसियुबाट सर्नुपर्‍यो। यी दुवै नहुँदा बिरामीले भाग्य परीक्षाभन्दा अरु के नै सामर्थ्य भयो र।

त्यस्तै ती बाका परिवारले पनि १४ घण्टा बितिसक्दा पनि कतै बेड भेटाउन सकेनन्। शक्ति पुगेन, न त अस्पतालमा बेड खाली हुने संकेत देखियो। हरेक आधा घण्टामा अक्सिजनको मात्रा घटेको छ भन्दै फोन आउँछ। औषधि दिन सकिने सबै दिइसकेको छ।

त्यो हावा दिन अम्बु ब्याग थिचेर हात कति दुखेका होलान्। त्यो जोड्न भेन्टिलेटर छैन। भेन्टिलेटरमा जोडेर मात्रै मान्छे बाँचिहाल्ने भन्ने त हैन। तर, समयानुसार बिरामीले उपचार पाउन नसक्नु नै दुर्भाग्य हो। बेडको प्रतीक्षामा अन्ततः आत्माले साथ छोड्न पुग्छ।

आइसीयु बेडको प्रतीक्षा मृत्युको प्रतीक्षा जस्तै हुन पुगेको छ। त्यसमाथि औषधिको प्रतीक्षा त अझै बेजोड छ। कोभिडलाई प्रयोग गर्दा राम्रै देखिएको औषधि रेम्डेसिभिर बजारमा अभाव हुन्छ। त्यो औषधीको व्यवस्थाको अनुमति सिमित व्यक्तिलाई मात्रै दिएकोमा तहाँ पनि उपलब्ध हुन नसक्नु कसको कमजोरी हो त ?

औषधीको प्रतीक्षा गर्दागर्दै कति बिरामी ठिक भए। कति जीवन त्याग गर्नपुगे। सबैको प्रतीक्षा त उज्ज्वल भविष्य र समृद्ध नेपालको थियो। विभिन्न तन्त्रको काँचो अभ्यास गरेर नै बिते शताब्दीहरु। नेतालाई सधैं चुनावको प्रतीक्षा। तर, जनतालाई चाँही चुनावको प्रतीक्षा नहुने होला।

त्यस्तो व्यग्र प्रतीक्षा हुँदो हो त कमसल काम गर्नेलाई पाठ सिकाउने र आफ्नो रोजाइ सच्याउने मौकामा सधैं किन चुक्थे त ! समृद्धिको प्रतीक्षा केवल प्रतीक्षा मात्रै रहन गयो। कोभिडले दुःख नदिएको क्षेत्र त सायद केवल भ्रष्टाचार मात्रै होला हगि। म त एउटा सामान्य चिकित्सक।

सामर्थ्य बिरामी हेर्न मात्रै जान्ने। बिरामी निको हुने प्रतीक्षा मात्रै गर्छु। तर, परिबन्धले बिरामी र म दुवै आइसियुको प्रतिक्षा गर्न बाध्य हुन्छौं। श्वास खिचेर लगेजस्तो अप्ठेरो महशुस हुने ती सब बिरामीका दृश्य देख्दा श्वास कति महत्वपूर्ण रहेछ भन्ने ज्ञात गराइरहन्छ।

अप्रिय शब्दमा भन्नुपर्दा हामी कसैको मृत्युको प्रतीक्षा गर्न बाध्य छौं। कोभिड भाइरसले कसैलाई पक्षपात गरेको छैन होला। श्वास फेर्न नपाउँदा हुने छट्पटीको महशुस कुर्सिमा विराजमान नीतिनिर्माताहरुलाई नि हुन्छ होला है कुनै दिन। त्यस्तो प्रतीक्षा गर्न नपरोस् उहाँहरुलाई।

के गर्नु! भलो नै चिताउनपर्यो चिकित्सकको नाताले। उहाँहरुले सामान्य बिरामीले जस्तो आइसियु आदिको व्यग्र प्रतीक्षा गर्नुपरेमा अस्पतालमा काम गर्ने सबैलाई ठूलो दबाब र भार पर्छ। कता हुनुहुन्छ महानुभावहरु कोभिड केवल हाउगुजी हो भन्नेहरु।

म निकै थाकेको छु। कामले हैन, दृष्यले थाकेको छु। बिरामीका प्रतीक्षा देखेर थाकेको छु। कृपया मलाई पालो दिन आइदिनुस् न ल। अलिकति भार लिन आउनुस् न है।

2 thoughts on “हामी कसैको मृत्युको प्रतीक्षा गर्न बाध्य छौं

  1. बडो घतलाग्दो लेख, डार्साप। डार्सापलाई फलो गरेको केहि समय भयो। हजुरको लेख सधैं राम्रो पाउने गरेको छु: समसामायिक विषयवस्तु, स्वास्थ्य क्षेत्रको सटिक चित्रण। नेपालमा पनि अब्बल डाक्टर छन् भन्ने आभाष हुन्छ।

    1. धन्यवाद । अलि अलि शब्दका हुल बनाउने प्रयास गर्छु बेलाबखतमा । फुर्सद हुँदा healthliteratureissues.blogspot.com मा google गर्न सक्नुहुनेछ । देखेका कुरा भोगेका कुरा उतार्ने प्रयास गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय