साढे चारसय कैदीबन्दीका एक्ला स्वास्थ्यकर्मी

कृष्ण मल्ल/बुटवल
प्रकाशित
२०७७ कार्तिक ८ गते १२:३९

एक वर्षदेखि कारागारको स्वास्थ्य निरीक्षकका रुपमा कार्यरत लक्ष्मणप्रसाद कंडेल

कारागारभित्र ४५२ कैदीबन्दी छन्। कारागारका कैदीबन्दीमा रुघाखोकी र भाइरल ज्वरो देखिएको छ। तर, ति सबै कैदीबन्दीको स्वास्थ्यको रेखदेख गर्ने जिम्मा भने जनस्वास्थ्य निरीक्षक लक्ष्मणप्रसाद कंडेलले गरिरहेका छन्। नवलपरासी कारागारका उनी एक्ला स्वास्थ्यकर्मी हुन्।

२६ वर्षदेखि स्वास्थ्य सेवामा रहेका उनी विगत एक वर्षदेखि कारागारमा खटिएका हुन्। उनकाअनुसार कारागारमा केही दिनअघि ५३ जनासम्ममा रुघाखोकी देखिएकोमा कारागारमा अहिले भने पुरुष विभागतर्फ १५ जनाजति र महिला विभागतर्फ १० जना जतिमा रुघाखोकी छ।

नवलपरासीको कारागारमा ३८९ जना पुरुष, ६२ जना महिला र एक नाबालक गरी ४५२ जना कैदीबन्दी छन्।

कैदीबन्दीको स्वास्थ्य हेर्ने जनस्वास्थ्य निरीक्षक लक्ष्मणप्रसाद कंडेलको जिम्मेवारी त धेरै नै छ। तर, उनीसँग सरकारलाई भन्नुपर्ने गुनासा पनि उत्तिकै छन्।

उनी भन्छन्, ‘कोभिड–१९ का बिरामी हेरचाहको लागि न तालिम पाइयो न त कुनै जानकारी नै। सुनेको, पढेको भरमा कोरोनाको विषयमा काम गरिरहेको छु।’

मिडयामा सुनेको र पढेको भरमा काम गरिरहेको उनले सुनाए। तर, आफूले जाने अनुसार काममा भने कुनै कमी नराखेको उनले दाबी गरे।

‘कारागारमा एक्लै छु, २४ सैं घण्टा खटिनुपर्छ। न पोर्टोकल, न यस्तो अवस्थामा अपउनाउनुपर्ने उपाबारे तालिम नै पाइएको छ,’ उनले भने, ‘बाहिर ८ घण्टाको ड्यूटी हुन्छ तर यहाँ भने पालो दिने कोही छैनन्।’

पिपिई आएको पनि बल्ल एक महिना भएकोले त्यसअघि हातैले छोएर भगवान भरोसामा काम गरेको उनले बताए। कंडेल आफुले कोभिड–१९ को शुरुवादी चरणदेखि काम गरेको भए पनि जोखिम भत्ता भने नपाएको बताउँछन्।

कोरोनाका सामान्य लक्षण देखिए पनि नवलपरासीको कारागारका कैदीबन्दीमा अहिले कोरोना परीक्षण गरिएको छैन। कोरोनाको लक्षण देखिएको छैन भन्दै कारागार प्रशासनले त्यहाँ रहेका ४ सय ५० कैदीबन्दीको पिसिआर टेष्ट नगरेको हो।

जनस्वास्थ्य निरीक्षक कंडेल पनि कारागार प्रशासनकै शैलीमै भन्छन्, ‘लक्षण नदेखिएको हुँदा परिक्षण भएको छैन्।’

कारागारमा रहेका दुई जना पुरुषमा भने कोरोना पोजेटिभ देखिइसकेको छ। दीर्घ रोगी उनीहरुलाई अन्यत्र सार्ने प्रयोजनका लागि पिसिआर गर्दा ति पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुमा पनि कोरोनाका लक्षण नदेखिएको कारागार प्रशासनको भनाइ छ। ति दुईमध्ये एक पुरुष प्यारालाइसिसका बिरामी हुन्। ६६ वर्षीय उनलाई खाना खुवाउनेदेखि दिशा पिसाब गराउन समेत अरुको सहयोग पर्ने गर्दछ।

ति प्यारालाइसिसका बिरामीको हेरचाहसमेत भित्रै रहेको दुई कैदीबन्दीले गरिरहेका छन्। लक्षण नदेखिएका दुई जनाको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएपछि कारागारभित्रका धेरै कैदीबन्दीमा कोरोना पोजेटिभ हुनसक्ने कारागार प्रशासनकै अनुमान छ।

कोरोनाको अनुमान रहँदारहँदै किन परीक्षण भएन त? भन्ने प्रश्नमा उनी भन्छन्, ‘टेस्ट गर्दा देखिएमा बढी त्रास हुन्छ कि भन्ने पनि हाम्रो सोँचाइ हो।’

कारागारबाट अर्को ठाउँमा स्थानान्तरण हुँदा र नयाँ कैदीबन्दिलाई प्रवेश गराउँदा भने कोरोनाको परीक्षण गराउने गरिएको उनले बताए। नयाँ कैदीबन्दीलाई केही दिन छुट्टै आइसोलेसनमा राखेर मात्रै समूहमा मिसाउने गरेको उनको भनाइ छ।

तर, कैदीबन्दी थपिरहँदा भने आइसोलेसन व्यवस्थापनमा कठिनाई भएको कंडेल बताउँछन्। उनकाअनुसार कोरोना संक्रमणको सावधानी स्वरुप कैदीबन्दीसँगको भेटघाटमा कडाइ गरिएको र कारागारभित्र ल्याउने तरकारी र खाद्यान्न भित्र ल्याउँदासमेत सतर्कता अपनाइको छ।

सप्लायर्सहरु पनि कम गरिएको छ भने आएको सामान पनि केही समय बाहिर राखेर मात्रै लैजाने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय