कोरोना नियन्त्रणमा बुटवल उपमहानगरका सात अभियान

कोरोना महामारीले उग्र रुप लिँदै गर्दा सबै तहका सरकारहरु नियन्त्रणका लागि आ–आफ्नो तरिकाले जुटेका छन्। उनीहरुले आफ्नो क्षमता र स्रोत साधनले भ्यासम्म विभिन्न अभियानहरु पनि थालेका छन्।

यस्तै बुटवल उपमहानगरपालिकाले पनि यो महामारीका समयमा कोरोना नियन्त्रणका लागि सातवटा काम थालेको छ। जसमा निःशुल्क पिसिआर परीक्षणदेखि योगाभ्यासम्मका अभियान छन्।

गत कार्तिक ३ गते बसेको बुटवल उपमहानगरपालिका कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बुटवलमा कोभिडबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले नगरेको खण्डमा उपमहानगरपालिका स्वयंले व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै उपमहानगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरवासीको शव व्यवस्थापनको जिम्मा नगरपालिकाले नै लिने निर्णय गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

कोरोना रोकथाम र सचेतनाका लागि उपमहानगरले थालेका मुख्य सात अभियान

१) नियमित निःशुल्क पिसिआर परीक्षण

संक्रमित भएकामध्ये लक्षण देखिएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर आइसोलेसनमा राख्ने र कन्ट्रयाक ट्रेसिङ गरी निःशुल्क पीसीआर परीक्षण गरिएको उपमहानगरको भनाइ छ।

कन्ट्रयाक्ट् ट्रेसिङ र निःशुल्क परीक्षणको कामलाई जारी राख्न हालै बसेको उपमहानगरको ६८ औं कार्यपालिका बैठक र कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले समेत निर्णय गरेको थियो।

संघीय सरकारले नयाँ मापदण्ड बनाएको कुरा सार्वजनिक भइरहेका बेला बुटवलमा भने पहिलेकै जस्तै नियमित रुपमा निःशुल्क परीक्षण जारी राखेको छ।

कात्तिक ३ गतेदेखि हालसम्म ५१ जनाको स्वाब संकलन गरी पिसिआर जाँच गर्न पठाइसकेको छ।

२) संक्रमित मृतकको शव व्यवस्थापन

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनलाई उपमहानगरले मुख्य प्राथमिकतामा राखेको छ। शव व्यवस्थापन उचित रुपमा गर्न नसकिए, अर्को समस्या निम्तिन सक्ने भन्दै उपमहानगरले व्यवस्थापनलाई दरिलो बनाएको जनाएको छ।

हालसम्मा बुटवलमा कोरोना संक्रमणबाट ३१ जनाको मृत्यु भइसकेको र ती सबैको शव सुरक्षित तरिकाले व्यवस्थापन गरिएको छ।

जनस्वास्थ्यमा अझै थप जिम्मेवार बन्दै बुटवलमा कोरोना संक्रमणमा मृत्यु भएका जोसुकै व्यक्तिको शव व्यवस्थापन उपमहानगर आफैले गर्ने निर्णय भए अनुसार काम भइरहेको छ।

३) संक्रमितलाई राख्न व्यवस्थित आइसोलेसन

बुटवलले संक्रमितलाई राख्न व्यवस्थित आइसोलेसन निर्माण गरेको छ। यहाँ ६ वटा सामुदायिक क्वारेन्टाइनमा दुई हजार ४ सय ९१ जनालाई व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए।

त्यस्तै नगरपालिकाले तीनसय १६ जनालाई सामुदायिक आइसोलेसन सेन्टरमा व्यवस्थापन गरिसकेको छ। जसमध्ये दुईसय ८० जना निको भएर घर फर्किसकेका छन्। मुख्य गरेर संक्रमण भएपछि घरमा बस्ने अवस्था नभएकाहरुलाई सामुदायिक आइसोलेसनमा राखिने गरिएको छ।

४) संक्रमितको हौसला बढाउन घर–घरमा जनप्रतिनिधि

उपमहानगरका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी तथा सम्बन्धित वडाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मासहितको टोलीले संक्रमितको घर–घरमा पुगेर हौसला बढाउने काम गरेका छन् ।

संक्रमितकहाँ पुग्दा उनीहरुले आयुर्वेदिक ओखती र जडिबुटीसहित स्वास्थ्यलाभको पत्र बोकेर जाने गरेका छन्। मुलुकमै पहिलोपटक कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई घरमै गएर भेट्ने कार्यक्रम सुरु गरेको बुटवल उपमहानगरको दाबी छ।

महामारी नियन्त्रणमा बुटवलमा भएका नमुना काममध्येको यो पनि एउटा हो। पाँचसय ७७ जनालाई घरैमा पुगेर रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि प्रदान गरिएको स्वास्थ्य शाखाको तथ्यांक छ।

५) सुत्केरीलाई घरमै पोषण

बुटवलले गरेको अर्को नमुना काममध्ये सुत्केरीलाई घरमै पुगेर पोषण सामग्री प्रदान पनि हो। करिब तीनसय जना सुत्केरीलाई महामारीकै बीचमा घरमा सुरक्षा मापदण्ड अपनाएर पोषण सामग्री वितरण गरिएको स्वास्थ्य शाखाका कर्मचारी गीता शर्मा पाण्डेले जानकारी दिइन्।

कोरोना महामारीका समयमा सुत्केरीको स्वास्थ्यमा ध्यान पुर्याउँदै उनीहरुको अवस्था जानकारी लिनका साथै बच्चा र आमामो पोषणमा सहयोग पुर्याउनका लागि सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिएको हो ।

६) होम क्वारेन्टाइनको व्यवस्थापन

बुटवल उपमहानगरका १९वटै वडालाई लक्षित गरेर होम क्वारेन्टाइन र आइसोलेसन निर्माण गरिएका छन्। त्यसका अतिरिक्त बुटवलमा घरमै मापदण्ड पूरा गरेर होम क्वारेन्टाइन र आइसोलेसनमा बस्ने व्यवस्था पनि मिलाइएको छ।

क्वारेन्टाइन र आइसोलेसनमा गरि करिब पाँच हजार जना रहेको उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख उपसचिव मित्रमणी खनालले जानकारी दिए। उनका अनुसार दुई हजार चार सय ५४ जना र होम आइसोलेसनमा एक हजार नौ सय ७९ जना छन्।

 

७) आइसोलेसनमा नियमित योगा

उपमहानगरको मातहत सञ्चालित सामुदायिक आइसोलेसनमा बस्ने संक्रमितलाई नियमित रुपमा योगा सिकाउने गरिएको छ। संक्रमितको मनोबल बढाउन र स्फूर्ति जगाउन नियमित योगा अभ्यास गराइएको उपप्रमुख गोमादेवी आचार्यले बताइन्।

योग शिक्षा र योग अभ्यासका लागि योग प्रशिक्षकको व्यवस्थापन नगरपालिकाले गरेको छ। आइसोलेसनमा बिहानको समयमा नियमित रुपमा योग शिक्षा र योगाभ्यास गर्ने गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय