अखाद्य सामान बजारमा वर्षैभरी, अनुगमन दसैंमा मात्रै

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक ७ गते ७:०६

महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भदौ १५ गते काठमाडौं कलंकीमा रहेको आयान डिस्ट्रिब्युटर र अमेजन डिस्ट्रिब्युटरमा शिलबन्दी गर्यो।

कारण थियो( बजारबाट म्याद गुज्रिएका चकलेट, जुसलगायत सामानमा नयाँ स्टिकर लगाउने गरेको।

यो क्रममा करिब ४ करोड रुपैयाँबराबरका म्याद गुज्रिएका वस्तु बरामद गरियो। घटनामा संलग्न रहेको आरोपमा आठजना पक्राउ परेकामा पछि धरौटीमा रिहा भए।

स्निकर चकलेट, प्रिंगल्स नामक आलु चिप्स, ओरियो बिस्कुट, ट्याङ तथा युनिलिभर कम्पनीको हर्लिक्स, बोर्नभिटा, क्याडबरी चकलेटलगायत सामानमा उत्पादन मिति तथा ब्याच नलेखिएको, मेटाउने केमिकल र प्रिन्ट गर्ने मेसिन राखी उपभोग्य वस्तुका लेबल मेटाई नयाँ लेबल लगाउने गरेको पाइएको थियो।

काठमाडौं महानगरपालिकाको कृषि विभागले असोज २७ गते दुग्ध विकास संस्थान (डिडिसी) को बालाजुस्थित वितरण आयोजनामा अनुगमन गर्दा म्याद नाघेका र लेबल नभएका बटर फेला पर्यो।

अनुगमन टोलीले १ लाख ९४ हजार किलो बटर फेला पारेर कारबाही प्रक्रिया अगाडि बढाउने भनेको थियो।

तर, कारबाहीको जिम्मा जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई जिम्मा लगाउने निर्णय भयो।

सहर–बजारदेखि गाउँघरसम्म दसैंको माहोल छ। कोभिड–१९ संक्रमणको जोखिमबीच दसैं मनाइँदै छ।

यो विषम परिस्थिति मौका छोपेर बजारमा धमाधम म्यान नाघेका तथा रिलेबलिङ गरेका खाद्यवस्तु पठाइने गरेको पाइएको छ।

‘दसैंतिहारमा माग बढी हुने भएकाले केही व्यापारीले यसलाई मौकाका रूपमा लिएर म्याद नाघेका, रिलेबलिङ गरेका, कम तौल भएका खाद्यवस्तु बजार पठाउने गर्छन्,’ उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने, ‘यस्तो बेला उपभोक्ता र नियामक निकाय पनि चनाखो हुनुपर्छ।’

वाणिज्य विभागका प्रवक्ता रविन्द्र आचार्यका अनुसार चालू आवको हालसम्म म्याद नाघेका, अखाद्य वस्तु बेच्नेलाई ७८ लाख ५७ हजार रुपैयाँ जरिवाना गरिएको छ। यो अवधिमा ९५ हजार ८ हजार मूल्यको वस्तु नष्ट गरिएको छ।

विभागले गत आर्थिक वर्ष ७८ लाख ५७ हजार रुपैयाँ जरिवाना असुल गरेको थियो।

‘अखाद्य वस्तु बेच्नेलाई कारबाही भइरहेको छ। त्यस्ता वस्तु नष्ट गर्ने र संलग्नलाई जरिवाना गर्ने गरिएको छ,’ उनले भने।

बजारमा अखाद्य वस्तु बिक्री गर्ने क्रम बढेपछि नेपाल उद्योग वाणिज्य महासंघले असोज २७ गते विज्ञप्ति जारी गरी म्याद नाघेका सामान बजार नपठाउन आग्रह गरेको छ।

‘यस्तो कठिन घडिमा कहिँकतै कम गुणस्तरीय सामान बिक्री भएको, उपभोग्य मिति गुज्रेका सामान बेचिएको, म्याद गुज्रेका वस्तुमा पुनः उपभोग्य मिति राखी बजार पठाइएको, निश्चित तौल नपुगेको सामान बजारमा बिक्री गरेको लगायतका प्रचलित कानुनविपरीतका कार्यहरू भएको भन्ने गुनासा आएकोतर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघले भनेको छ।

कोरोना भाइरस रोकथामका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म ‘लकडाउन’ गर्यो। भदौमा काठमाडौंमा निषेधाज्ञा जारी भयो। यो अवधिमा थन्किएर बसेको कतिपय खाद्य वस्तु र सरसामग्रीको म्याद गुज्रिसकेकोमा व्यापारीले दसैं मौका छोपेर बजार पठाउने गरेका छन्।

उपभोग्य मिति सकिएको वस्तु उत्पादक कम्पनीलाई फिर्ता गर्नुपर्ने हुन्छ। तर, आयातकर्ता र वितरकले नै बजार पठाइरहेका छन्।

नेपाल वितरक संघका पूर्वअध्यक्ष दुर्गाराज श्रेष्ठका अनुसार खाद्य वस्तुको म्याद प्रायः ६ देखि १२ महिनासम्म रहने गरेकामा पछिल्लो परिस्थितिका कारण बजारको चक्र बिग्रिएको छ। र, आयातकर्ता, वितरक, होलसेल र खुद्राको २५ देखि ३० प्रतिशत सामान ड्यामेज भएको हुनसक्ने उनले बताए।

दसैं लक्षित बजार अनुगमन

हरेक वर्ष दसैंतिहारमा चर्चामा आउने विषय हो– महँगी, कालोबजारी र अखाद्य वस्तु बिक्री। अनि, यही बेला नियामक निकाय पनि तात्छन्।

काठमाडौं उपत्यकामा वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र स्थानीय तहहरूले बजार अनुगमन गरिरहेका छन्।

वाणिज्यका प्रवक्ता आचार्यका अनुसार काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा अनुगमनका लागि २५ कर्मचारी खटाइएको छ।

‘अन्य बेला पनि बजार अनुगमन हुन्छ नै, तर दसैंतिहारमा थप जनशक्ति परिचालन गरिएको छ,’ उनले भने।

खाद्य प्रविधिका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार उपत्यकामा तीनवटा टोली परिचालन गरिएको छ।

‘प्रशोधित पानी, दूधलगायत खाद्य उद्योगको अनुगमन भइरहेको छ,’ उनले भने।

उपभोक्ता अधिकारकर्मी तिमिल्सिनाले बजार अनुगमन मौमसी नभई वर्षभरि चल्नुपर्ने र त्यसका लागि संयुक्त संयन्त्र परिचालन गर्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय