कोरोना उपचार : निःशुल्क भन्छ प्रदेश सरकार, अस्पताल भन्छ सम्पूर्ण खर्च बिरामी व्यहोर्नुपर्छ

हेल्थापोस्ट/पोखरा
प्रकाशित
२०७७ कार्तिक ६ गते १५:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोरोना संक्रमितको उपचार निशुल्क गर्ने बताएको ४८ घण्टा नबित्दै सरकारी अस्पतालले नै संक्रमितसँग शुल्क मागेको छ ।

बुधबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पनि संक्रमितको उपचार खर्च ब्याहोर्ने निर्णय गरेको थियो ।

तर गण्डकी प्रदेश राजधानीमै रहेको सरकारी अस्पतालले कोरोना संक्रमितले आफ्नो खर्च स्वयम् बिरामीले व्यहोर्नु जनाएको छ ।

अस्पतालले सूचना निकालेर संघ सरकार मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कात्तिक ४ देखि लागु हुने गरी सम्पूर्ण खर्च बिरामी आफैले व्यहोर्नुपर्ने जनाएको छ ।

साथै खाजा/खानाको व्यवस्थापन गर्न असमर्थ भए पहिल्यै धरौटी राख्नुपर्ने अस्पतालले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रदेश सरकारबीच कोरोना संक्रमितको उपचार गर्ने विषयमा सुरुआतदेखि नै मनमुटाव रहँदै आएको छ ।

अन्य बिरामीलाई सेवा प्रवाहमा समस्या हुने भन्दै अस्पतालका अधिकारीहरु आइसोलेसन बनाउन नहुने पक्षमा थिए ।

अन्य खाली ठाउँमा संक्रमितको व्यवस्थापन गर्न अस्पतालले सुझाएको थियो । तर प्रदेश सरकारले पश्चिमाञ्चलबाहेक अरु विकल्प देखेन ।

केन्द्र सरकारले नै डेडिकेटेड अस्पताल घोषणा गरेपछि प्रदेशले अरु विकल्प खोजेन ।

क्षेत्रीय अस्पतालको आइसोलेसन संक्रमितले भरिएपछि साउन अन्तिमदेखि बल्ल प्रदेश मातहतको सरुवा रोग अस्पतालमा संक्रमितको उपचार थालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय