जब परिवारका १४ सदस्यको कोरोना पोजेटिभ आयो, उनका नौ नाडी गले

रेणु त्वानाबासु/भक्तपुर
प्रकाशित
२०७७ कार्तिक ६ गते १२:२३

‘दसैंसँगै कोरोना पनि घरदैलो गर्दैछ है, सबैजना सतर्क रहनुहोला!’

भक्तपुरका ४८ वर्षीय प्रचण्ड न्यौपाने मनैदेखि अनुरोध गर्छन्।

सुन्नेलाई लाग्न सक्छ, उनले किन यस्तो भनेका होलान्?

बरा, नभनुन् पनि किन?

उनले हालै भोगेको नियति, अरू कसैले भोग्न नपरोस् भन्ने विशुद्ध चाहना हो उनको।

के नियति भोगेका रहेछन् उनले?

अहिलेको विषम परिस्थितिमा प्रचण्डको नियति सुन्नेको आङ सिरिङ्ग हुन्छ।

र, त्यति सुन्नेले पनि फेरि पक्कै भन्नेछन्– सबैजना सतर्क रहनुहोला!

भक्तपुर चाँगुनारायण नगरपालिका–३ न्यौपाने गाउँका प्रचण्डको परिवारमा १६ जना सदस्य छन्। हाँसिखुसी चलिरहेको परिवारमा एक्कासि यस्तो ‘वज्रपात’ आइलाग्यो, त्यो सम्झेर उनको मुटु अहिले पनि हल्लिन्छ।

उनको परिवारका १४ सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भयो, उनका नौ नाडी गले। टेकेको जमिन पनि भासियो कि भन्ने लाग्यो उनलाई। धन्य, भगवान रहेछन्, कोरोना भाइरसले परिवारका कलिला दुई बच्चालाई भने आफ्नो पकडमा लिन सकेन।

उनको यो परिवार भक्तपुर जिल्लाकै पहिलो परिवार हो, जहाँ एकै परिवारका १४ सदस्य कोरोना संक्रमित भए।

प्रचण्डको परिवारमा चार दाजुभाई छन्। सबैको घर ५० मिटर वरिपरि छ। सबैजना घरायसी काममा व्यस्त छन्। कोरोनासँग सतर्क भएर बसिरहेको थियो उनको परिवार। साउनमा उनको बुबाको श्राद्ध थियो। त्यसको भोलिपल्ट उनकी ७० वर्षीया आमा एक्कासि बाथरुममा लडिन्।

त्यस घटनापछि उनको परिवारमा ‘कालो बादल’ मडारिएको प्रचण्ड भावुक हुँदै सुनाउँछन्।

बाथरुममा लडेर घाइते भएकी आमालाई मध्यपुर थिमिस्थित ‘मध्यपुर थिमि अस्पताल’ लगेर उपचार गराइयो। उपचार क्रममा आमाको पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको न्यौपाने बताउँछन्।

त्यसपछि असोजमा आमालाई फेरि रोगले च्याप्न थाल्यो। त्यतिबेला कोरोना संक्रमित धेरै भएपछि उनले आमालाई मध्यपुर थिमि अस्पताल नलगी काठमाडौं पेप्सीकोलास्थित मदरल्यान्ड अस्पताल लगे।

‘त्यहाँ आमालाई निमोनिया भएको भनिएपछि पिसिआर चेक गराउन लगाइयो र त्यसको रिपोट नेगेटिभ आयो,’ प्रचण्डले आयोमेलसँग घटना विवरण सुनाए, ‘आमाले उपचारकै क्रममा पेप्सीकोला अस्पतालमा नबस्ने, बरु मध्यपुर थिमि नै जाने कर गर्नुभयो, अनि आमालाई मध्यपुर थिमि नै ल्यायौं।’

उपचार क्रममा आमा कुर्न प्रचण्ड आफैं तीन दिनजति अस्पताल बसे। त्यसबेला पनि मास्क, स्यानिटाइजर, पन्जा प्रयोग गरेका थिए उनले। केही दिन अस्पताल बसेपछि उनका साहिँलो भाइले ‘म आज कुरुवा बस्छु’ भनेपछि प्रचण्ड घर फर्किए।

‘तर, भोलिपल्ट देखि नै भाइलाई ज्वरो आउन थाल्यो। अनि, तुरुन्तै काठमाडौं सिनामंगलको केएमसी अस्पताल पठाएर ५ हजार ५ सय रुपैयाँ तिरेर पिसिआर परीक्षण गरायौं,’ प्रचण्ड भन्छन, ‘पिसिआर गरेपछि साहिँलो भाइ होम आइसोलेसनमा बस्यो। तर, भदौ ८ गते उसको रिपोर्ट पोजिटिभ आयो।’

‘केही हुँदैन राम्रोसँग बस भनेँ,’ प्रचण्ड सुनाउँछन्, ‘मनमा डर भएर पनि देखाइनँ। म घरको जेठोबाठो नै आत्तिएँ भने अरूको हालत के होला?’

त्यसबेला उनलाई लाग्यो, ‘भाइ बाहिर काम गर्ने भएकाले रिपोर्ट पोजिटिभ आएको हो।’

‘केही हुँदैन राम्रोसँग बस भनेँ,’ प्रचण्ड सुनाउँछन्, ‘मनमा डर भएर पनि देखाइनँ। म घरको जेठोबाठो नै आत्तिएँ भने अरूको हालत के होला?’

साहिँलो भाइलाई कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि काइँलो भाइलाई पनि ज्वरो आयो, विसञ्चो हुन थाल्यो।

‘काइँलोलाई पनि तुरुन्तै केएमसीमै पिसिआर परीक्षण गर्न लगाएँ,’ जेठा प्रचण्ड भन्छन्, ‘भदौ १० मा उसको पिसिआर चेक गराएको तीन दिनपछि ११ गते रिपोर्ट पोजिटिभ आयो।’

दुई दिन फरकमा लगातार दुई भाइलाई कोरोना संक्रमण भएपछि प्रचण्डले काठमाडौं टेकु अस्पतालमा फोन गरे। उनले ११३३ मा फोन गरेर ‘घरमा कोरोना संक्रमित भएका छन्, कन्ट्याक्ट टे«सिङ गर्न आउनुस्’ भने।

‘टेकु अस्पतालबाट जवाफ दिए– हामीले सबैको कहाँ हेर्न सक्छौं र? नगरपालिकामा खबर गर्नुस् वा जनस्वास्थ्यमा खबर गर्नुस्,’ प्रचण्ड आक्रोशित हुँदै भन्छन्, ‘टेकु अस्पतालको कुरा सुनेर अचम्म लाग्यो। भन्ने बेला केही भए खबर गर्नू, सम्पर्क गर्नू भन्छन्, कल गर्दा जवाफ ठाडो दिन्छन्। गर्न सकिँदैन भने यो नाटक नै किन?’

‘स्वास्थ्यमा केही लक्षण देखिए सम्पर्क गर भन्ने अनि आफैंले फोन गरेर कोरोना पोजिटिभ भयो भनेर जानकारी दिँदा भनेर वास्तै नगर्ने? आइसोलेसनमा बस्नुपर्छ कि? लक्षण छ कि छैन? स्वास्थ्य अवस्था कस्तो छ? दिर्घरोगी कोही छन् कि?,’ प्रचण्ड आक्रोशित मुद्रामा भन्छन्, ‘उनीहरूको एउटै रेडिमेड जवाफ छ– वेटिङमा बस्नुस्। तपाईंमात्र होइन, अरू पनि संक्रमित छन्।’ यो के पारा हो?’

त्यसपछि उनले ठाडै ‘तपाईंको केही सहयोग चाहिँदैन। जे गर्नुपर्छ आफैं गर्छु। मेरो परिवारमा कोही मरेको खण्डमा लाश उठाउनमात्र आइदिनुहोला, यति सहयोग गर्नुहोला’ भनिदिएको उनलाई आजैजस्तो लाग्छ।

त्यसपछि उनले भक्तपुर जिल्ला जनस्वास्थ्य प्रमुखलाई फोन गरे, तर उताबाट पनि नगरपालिकामा खबर गर्नुस् भनिदिए।

उनको मनमा एक्कासि झट्का लाग्यो, ‘यिनका आशमा बस्यो भने खत्तम हुन्छ, बरु आफैं खर्च गरेर पिसिआर चेक गराउनुपर्यो।’

नगरी पनि सुख थिएन उनलाई। किनकि, घरका सबै सदस्यलाई ज्वरो आउने र खोकी लाग्ने लहर चलेको थियो।

कहाँ र कसरी गराए पिसिआर?

त्यसपछि उनले पैसा तिरेर भए पनि पिसिआर चेक गर्न आउनू भनी दुवाकोटस्थित केएमसी अस्पताललाई अनुरोध गरे।
‘प्रोटोकलअनुसार आउन मिल्दैन’ भन्ने जवाफ पाए।

त्यसपछि उनले सिनामंगलको केएमसी अस्पतालमा फोन गरेर पिसिआर परीक्षण गर्न लगाए।

परिवारका १४ जनाको पिसिआर परीक्षण गर्दा ६ जनालाई कोरोना संक्रमण पुष्टि भयो।

त्यसबेला १४ जनाको पिसिआर परीक्षण गर्न ३२ हजार २ सय रुपैयाँ तिरेको बिल उनीसँग अझै सुरक्षित छ।

आफू र अरू पाँचजनालाई कोरोना संक्रमण भएपछि प्रचण्ड होम आइसोलेसन बसे।

‘लगभग चार दिन आइसोलेसन बस्दा बोटलमा नै पिसाब गर्ने, छुट्टै खाना दिने गरेका थिए। त्यसमाथि एकैचोटि ६ जनाको रिपोर्ट पोजिटिभ आउँदा आकास खसेजस्तो भयो, वरिपरि सबै अँध्यारो हुन थाल्यो, निःशब्द र लाचार भएको अनुभूति भएको थियो,’ सम्झिनै मन नलाग्ने ती दिन स्मरण गर्छन् प्रचण्ड, ‘मनमनै यति डराएँ, तर कसैलाई देखाइनँ। किनकि, म घरको जेठो छोरा। एक किसिमले घरको पिलर भएर बस्नुपर्ने अवस्था थियो।’

सशुल्क सबैको स्वाब दिएपछि भदौ १८ मा कन्ट्याक्ट टे«सिङ गराउन भनी चाँगुनारायण नगरपालिका कार्यालयबाट फोन आएको उनी बताउँछन्।

उनले आफू होम आइसोलेसनमा भएका कारण आठजनाको मेसेजमा नाम, उमेर, ठेगाना पठाएका थिए। तर, टे«सिङ गराउन पठाएका बेला ६ जनाको मात्र ट्रेसिङ गरेर पठाएको उनी सुनाउँछन्।

‘दुईजनालाई भिटिएम सक्किएर नगएको भनी फिर्ता पठाएदिएछन्,’ प्रचण्ड सम्झिन्छन्, ‘नाम आठजनाको टिपाएपछि आठैजनालाई पुग्ने गरी भिटिएम आउनुपर्ने होइन र? यसरी दुईजनालाई भिटिएम सकियो भनेर फर्काउँदा रिसको झोंकमा मैले कन्ट्याक्ट टे«सिङ गर्ने व्यक्तिलाई दुइटा भिटिएम बेचेर त खानुभएन? भनेर सोधेँ।

उनका अनुसार त्यो ६ जनाको परीक्षणमा सबैको रिपोर्ट पोजिटिभ आयो। दुइटा बच्चाको पिसिआर पछि गराएको र उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि खुसी लाग्यो। तर, परिवारका सबै सदस्यको रिपोर्ट पोजिटिभ आएपछि दुःख पनि लाग्यो।

‘घरका सबै सदस्य कोरोना संक्रमित भएपछि सबैजना एउटै ड्यांगको मुला जस्तै भयौं,’ प्रचण्ड हाँस्दै भन्छन् ‘सबै संक्रमित भएपछि होम आइसोलेसनमा बस्नै परेन।’

नगरपालिकाको सहयोग कति?

प्रश्न सुन्नेबित्तिकै प्रचण्ड गलल हाँसे।

‘मलाई लाग्यो तपाईंले कुनै जोक पो भनेको हो कि’, हाँस्नुको कारण खुलाउँंदै उनले भने, ‘नगरपालिकाको देखाउने दाँतमात्र रहेछ, चपाउने दाँत अर्कै रहेछ।’

आफैंले समझदारी अपनाएर कोरोना संक्रमण भएको छ भनेर जानकारी दिँदा पनि कोही नआएको गुनासो उनको छ।

‘अरू पनि धेरै छन् काम भनेर जवाफ दिए। जनस्वास्थ्य, टेकु, नगरपालिका सबैले जागिरमात्र खाने रहेछन् तलबका लागि, काम गर्न होइन,’ स्थानीयदेखि केन्द्रसम्मको उस्तै पारा देखेर दुःखी भएका प्रचण्ड भन्छन्, ‘अरू मतलबै छैन।

कर्मचारी(स्वास्थ्यकर्मीलाई काम नगरी कसरी दिन कटाउने भन्नेमात्र छ। सरकारी काम न हो, तलब त यसै पनि पाकिहाल्छ।’
अस्पतालहरूले कोरोनालाई ‘पैसा कमाउने भाँडो’ बनाएको प्रचण्डको आरोप छ।

प्रचण्ड आक्रोशित हुनुका कारण

हो, मर्का सबैलाई पर्छ।

तर, उनको परिवारमा सबै दीर्घरोगी थिए। कोही सुगरका बिरामी, कोही प्रेसर, कोही थाइराइड अनि कोही चाहिँ नसा रोगका बिरामी थिए। यतिसम्मकी घरका एउटा बच्चालाई टङसिल भएको थियो। यस्तो अवस्थामा किन आक्रोसित नहुनु?

‘आफू वा परिवारका सदस्यलाई नलागेसम्म कोरोना रुघाखोकी जस्तै हो भने सोच्यो भने त्यो महाभूल हुनेछ। जब आफूलाई पर्छ अनि थाहा हुन्छ कोरोना साँच्चै के हो भन्ने?,’

त्यसपछि नगपालिकाबाट दोस्रोपटक स्वाब परीक्षण गर्न हेलमेट डाँडा बोलाएको उनी सम्झिन्छन्। हिँड्न सक्ने आठजना हेलमेट डाँडासम्म पुगेर स्वाब दिए। तर, आमा हिँड्न नसक्ने भएका कारण घरमै गएर स्वाब संकलन गर्न प्रचण्डले आग्रह गरेका थिए। तर, त्यहाँका कर्मचारीले मान्दै मानेनन्।

त्यसपछि मेयरसँग कुरा गरेपछि ती कर्मचारी कन्ट्याक्ट टे«सिङका लागि न्यौपाने गाउँ नै आएर उनकी आमाको स्वाब संकलन गरेका थिए।

‘राम्रो मुखले सोझो भएर भन्दा हेप्ने रहेछन्। त्यसपछिको रिपोर्ट सबैजनाको नेगेटिभ आयो र हामी अहिले सबैजना कोरोनामुक्त भएका छौं,’ उनी भन्छन्, ‘तर एउटा कुरा, यो सरकारी सेवासुविधा भन्ने सबै पहुँच भएका र पावर भएकालाई मात्र रहेछ। कोरोना लागेपछि थाहा भयो, समाचार र मिडियाले भनेजस्तो सेवा राम्रो रहेनछ।’

कसले साथ दिए कोरोनाको समयमा?

नगरपालिका पनि नाममात्र भनेर कोरोना लागिसकेपछि बुझ्न आएको उनको आरोप छ। कोरोना लागेका बेला स्थानीयले धेरै मद्दत गरेको प्रचण्ड सुनाउँछन्। अत्यावश्यक खानादेखि पौष्टिक खानेकुरा (अन्डा, मासु, दूध) सबै घरबाहिर राखेर जाने गरेका थिए। साथै, कसैकसैले घरका ज्येष्ठ सदस्यलाई नातेदारकोमा पठाएका थिए।

‘त्यसलाई नराम्रो भन्न मिल्दैन। सबैले आफ्नो सुरक्षा गरेका हुन्,’ प्रचण्ड भन्छन्, ‘कोहीकोही आफ्नो घर नजिक पुग्नै बित्तिकै दौडिने गरेका थिए। जेसुकै भए पनि समुदायले नै साथ दियो।’

अहिलेको अवस्था

अहिले सबैजना कोरोना नेगेटिभ भए पनि खोकी भने लागिरहेको प्रचण्डले सुनाए। अहिले पनि ज्वरो आउने डरले दिनको दुई चक्की सिटामोल खाइरहेका छन्।

‘आफू वा परिवारका सदस्यलाई नलागेसम्म कोरोना रुघाखोकी जस्तै हो भने सोच्यो भने त्यो महाभूल हुनेछ। जब आफूलाई पर्छ अनि थाहा हुन्छ कोरोना साँच्चै के हो भन्ने?,’ उनी आग्रह गर्छन्, ‘त्यसकारण मास्क चिउँडोमा होइन, मुखमै लगाउनुस्, रोग लाग्न नदिऔं, यसलाई हल्का नलिऔं।’

उनको गुनासो, र सरकारलाई प्रश्न?

सरकारी अस्पतालमा स्वाब संकलन गराउँदा नाकबाट मात्र स्वाब लिने गरिन्छ। अनि, निजी अस्पतालमा स्वाब दिँदा नाक, मुख दुवैको लिने गर्छन्। यसमा कुन चाहिँ सही हो? कि सरकारीले गर्न नजानेको हो, कि निजीले,’ उनको प्रश्न छ, ‘अहिले त सरकाले हात उठाइसकेको अवस्था छ।

सरकारको काम भनेको कति संक्रमित भए र कति मरे भनेर गन्नेबाहेक अरू देखिएन। केही महिनाअघि २ हजारमा पिसिआर टेस्ट हुन्छ भन्दा भन्दै निजी अस्पतालले ५ हजार ५ सय लिएको किन टुलुुटुलु हेरेर बस्यो सरकार?’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय