दशैंमा चितवनका कोभिड प्रयोगशाला आलोपालो खुल्ने, अन्य सेवा पनि सुचारू हुने

हेल्थपोस्ट/चितवन
प्रकाशित
२०७७ कार्तिक ४ गते १५:१९

कोभिड–१९ प्राविधिक समिति चितवनले दर्शैका बेला चितवनमा स्वास्थ्य उपचारमा कुनै कमी आउन नदिन अस्पतालहरुलाई आग्रह गरेको छ ।

जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र मातहतको सो समितिले चितवनका सबै अस्पतालमा कुनै पनि सेवा अवरुद्ध नहुने गरी सञ्चालन गर्न आग्रह गरेको छ ।

समितिका सदस्य सचिव तथा जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आलोपालो व्यवस्थापन गरेर सेवा सुचारु राख्न सुझाइएको बताए ।

‘अस्पतालमा कुनैपनि सेवा अवरुद्ध हुन नदिन सञ्चालकलाई आग्रह गरेका छौँ’, उनले भने, ‘घरबाटै फोनबाट समेत स्वास्थ्य परामर्श लिने गरी चिकित्सकका नाम, नम्बर सार्वजनिक गर्न पनि भनेका छौँ ।’

उनले पिसिआर परीक्षण पनि नरोकिने बताए । उनका अनुसार ८ गते अष्टमीका दिन भरतपुर अस्पताल, ९ गते नवमीका दिन चितवन मेडिकल कलेज र १० गते दशैंको मुख्य दिनमा बिपी मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा परीक्षण गर्ने गरी आलोपालो निर्धारण गरिएको छ ।

अस्पताल भर्ना भएका वा आकस्मिक उपचार गर्न पिसिआर रिर्पोट आवश्यक परेमा तोकिएका अस्पताल र प्रयोगशालाले स्वाब संकलन तथा परीक्षणको काम गर्नेछन् ।

दशैका बेला चितवनमा रहेका ३ कोभिड प्रयोगशाला आलोपालोगरी २ दिन बन्द हुनेछन ।

बिरामीलाई अस्पताल लैजान सहजताका लागि सात वटै स्थानीय तहमा सञ्चालित एम्बुलेन्स चालकहरुको नाम र ठेगाना सहितको सूचीसमेत जिल्ला स्वास्थ्य कार्यालय चितवनको फेसबुक पेजमा सार्वजनिक गरिएको छ ।

भरतपुरमा ४७, खैरहनीमा १३, कालिकामा १०, राप्तीमा ७, रत्ननगरमा ४, माडीमा ४ र इच्छाकामनामा १ एम्बुलेन्स तयारी अवस्थामा छन् । बिरामीका आफन्तीले नजिकको ठेगनामा रहेका एम्बुलेन्स चालकलाई खबर गरी सेवा लिन सक्ने छन् ।

तोकिएकै ठाउँमा रहेर सेवा दिन एम्बुलेन्स चालकलाई निर्देशन दिइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले ११ सदस्यीय हेल्पडेस्क समेत गठन गरिएको बताए ।

‘स्वास्थ्यसम्बन्धी सेवा लिन वा गुनासो सुनवाईका लागि ११ सदस्यीय हेल्पडेस्क बनाइएको छ’, उनले भने, ‘साधरण बिरामीले घरबाटै स्वास्थ्य परामर्श लिन सक्नेछन् ।’

उनले सहजरुपमा स्वास्थ्य सेवा दिन सरकारी तथा निजी अस्पताललाई निर्देशन दिइएको जानकारी दिए । चितवनमा २५ वटा ठूला अस्पताल छन् । चितवनमा २ हजार ४ सय ३५ शैया, १ सय ७६ वटा आइसीयु र ४९ वटा भेन्टिलेटर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय