गम्भीर अवस्थाका संक्रमितलाई नै बेड पाउन मुस्किल छ

फाटफुट संक्रमित हुँदा नै भाइरस नफैलियोस् भनेर सुरु गरिएका आइसोलेसन सेन्टरहरु अहिले धमाधम उपचार केन्द्रका रुपमा परिणत भइरहेका छन् ।

महामारीका रोकथामको जिम्मेवारीबाट केन्द्र सरकार पन्छिरहेको अवस्थामा कतिपय स्थानीय सरकारले पनि नमुना काम गरिरहेका छन् ।

संक्रमितको व्यवस्थापनमा सुरुदेखि नै काम गर्दै आएको टोखा नगरपालिकाद्वारा सञ्चालित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रस्थित आइसोलेसन सेन्टरका इन्चार्ज डा. सुमन आचार्यसँग हेल्थपोस्टका लागि रेणु त्वानाबासुले गरेको कुराकानी ।

संक्रमित संख्या बढ्दै गएको अवस्थामा टोखा नगरपालिकामा रहेको आइसोलेसन सेन्टरले धान्ला ? केही योजना छ कि ?
सिंगो काठमाडौं उपत्यका अहिले कोरोनाको हटस्पट बनेको छ । त्यसको चाप र तापबाट टोखा नगरपालिका मुक्त रहन सक्दैन ।

संक्रमितको संख्या बृद्धिसँगै अस्पतालहरुमा गम्भीर अवस्थाका बिरामीले पनि बेड नपाउने अवस्था आइरहेका छन् ।

यस्ता अवस्थामा हाम्राजस्ता आइसोलेसन सेन्टरहरु पनि व्यवस्थित गर्दै लानुपर्ने बाध्यता छ ।

अहिले अवस्था हेरेर टोखा नगरपालिकामा रहेको सेन्टरमा बेड बढाउने भन्दा पनि त्यसको गुणस्तर (क्याप्यासिटी) बढाउनेतर्फ लागि परेको छ ।

अब टोखा नगरपालिकाद्धारा संचालित आइसोलेसनमा लक्षण भएका कोरोना संक्रमितहरुलाई राख्ने गरी स्तरउन्नतीको तयारी भइरहेको छ ।

अब गम्भीर अवस्थाका संक्रमितले पनि अस्पतालमा बेड पाउन मुस्किल भइसक्यो । यस्तो अवस्थामा यस्ता सेन्टरमा केही उपकरण, जनशक्ति थपेर आकस्मिक अवस्थाका संक्रमितलाई अक्सिजन दिनमात्रै सकियो भने पनि ज्यान जोगाउँन सकिन्छ ।

अब यतातिर नसोची हुन्न । आइसोलेसन सेन्टरमै राखेर अस्पतालमा गर्न सकिने उपचार दिनुपर्ने अवस्था छ ।

अब त सामान्य लक्षण भएका वा नभएकाहरु त होमआइसोलेसनमै रहनुपर्ने होला हैन ?
हामीले सुरुका दिनदेखि नै लक्षण नभएका वा अलिअलि लक्षण भएका संक्रमित राख्दै आएका थियौं ।

तर लक्षण भएका अक्सिजन दिनुपर्ने बिरामीहरु अस्पताल पठाउँथ्यौं । लक्षण नभएका बिरामीहरु होम आइसोलेसनमा र होम आइसोलेसन बस्न नमिल्ने बिरामीलाई मात्र यहाँ राख्ने गरेका थियौं ।

तर अहिले अस्पतालमा बेड भरिन थालेपछि अक्सिजन दिनुपर्ने बिरामी पनि यहाँ राख्न लागेका हौं । जस्तै निमोनिया भएका, प्रेसरको समस्या भएका बिरामीलाई यहाँ राख्ने निर्णय भएको छ ।

अब भेन्टिलेटरमा राख्नुपर्ने बिरामी भने अस्पतालमा रिफर गछौं ।

सेन्टरको क्षमता कति छ ?
यस आइसोलेसमा सुरुमा १७ वेडबाट संचालन गरिएको हो । यो आइसोलेसन सेन्टरमा अहिले ४२ बेड छन् । संक्रमित आउने/जाने भइरहन्छ । साडे दुई तले भवनको भुँइ तलामा ३२ जना र पहिलो तल्लामा १० वटा बेड राखेका छौं । त्यही पहिलो तल्लामा यसमा अब १०–१५ सम्म बेड थप्न सकिन्छ ।
अहिलेसम्म यहाँ आइसोलेसन बसेर करिब एक सय जना संक्रमित घर फर्किसकेका छन् ।

कोरोना भएको भन्दै आत्तिएर आइपुगेको संक्रमितलाई स्वास्थ्य उपचार, परामर्श दिएर निको भएर घर फर्किँदा बेग्दै खालको आनन्द आउँछ ।

उनीहरुको अनुहारमा देखिने सन्तुष्टीले हामीले काम गर्ने प्रेरणा थप्छ ।

टोखा आइसोलेसन कहिलेबाट सुरु गरिएको थियो ?
काठमाडौं महानगपालिका अन्तर्गत नगरपालिकाद्धारा संचालन गर्ने पहिलो आइसोेलेसन टोखा नगरपालिकाले संचालन गरेको हो ।

टोखा नगरपालिका वडा नम्बर २ टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्यकेन्द्रमा आइसोलेसन संचालन गरिएको थियो ।
टोखामा अवस्थित आइसोलेन भाद्र ७ गते संचालनमा ल्याएको थियो ।

लकडाउन पछि उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन संचालन गरिएको हो ।

यस अघि क्वारेन्टाइन पनि बनाएको थियो नगरपालिकाले । अहिले क्वारेन्टाइनमा बिरामी छैन् ।
टोखा आइसोलेसनमा के के हुन्छ ?
टोखा नगरपालिकाद्धारा संचालित आइसोलेसनमा विहान करिव १ घन्टा व्यायाम हुने गर्दछ ।

त्यसपछि विरामीहरुको दिन काट्न सजिलो होस् भनेर पढ्नको लागि मिनी लाइबेरी, स्किपङ्ग डोरी, क्यारिम्बोड, चेस इत्यादिको व्यवस्था गरिएको छ ।

साथै विल्डिङ्ग नजिकै ब्याटमिन्टन खेल्ने ठाउँ रहेको छ ।

त्यहाँ व्याटमिन्टन खेल्ने र पुसअफ गर्ने ठाउँहरु छन् । जसले गर्दा बिरामीहरुलाई शारीरिक अभ्यास गर्नदेखि पुरै दिन कटाउन पनि सजिलो भइरहेको छ ।

नगर क्षेत्रमा होम आइसोलेसनमा बस्नेहरु पनि होलान् उनीहरुका लागि केही व्यवस्था ?
आइसोलेसनमा बस्नेलाई सुविधा भएजस्तै टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितहरुलाई पनि सुविधा दिदैँ आएको छ ।

टोखाले होम आइसोलेसनमा बस्ने परिवारलाई १ जना कोरोना संक्रमण भए चार हजार नौ सय रुपैया र दुई जना भए सातहजार रुपैँया नगरपालिकाले दिदँै आएको छ ।

आइसोलेसनमा बस्नेहरुका गुनासा कस्ता आउँदा रहेछन् ?
आइसोलेसनमा बस्ने बिरामीहरु खुसी नै छन् । उनीहरुको गुनासो एउटै मात्र छ खाना एकै खालका परिकार भयो ।

कहिलेकाही छुटै तरकारीहरु पनि भए हुन्थ्यो भन्ने मात्र हो । जुन नगरपालिकाको सहयोगबाट भइरहेको छ ।
आइसोलेसनबाट डिस्चार्ज हुने बेलामा बिरामीहरुलाई उपमेयर, मेयर, वडाअध्यक्षबाट खादा लगाइदिएर विदा गर्ने गरेका छौं ।

उनीहरुको आत्मबल बढाउन र पुन एकहप्ता जति घरमा नै होम आइसोलेसनमा बस्न अनुरोध गरेर पठाउने गरेका छौं ।

संक्रमित बढेसंगै नगरपालिको कन्ट्क्ट ट्रेसिङ पनि बढाउदै लगेको छ ।

आइसोलेसन सेन्टरमा स्वास्थ्य सेवा प्रवाहका लागि जनशक्ति के कति चाहिने रहेछ ?

टोखाको आइसोलेसनमा अहिले ३ वटा मेडिकल टिमले सेवा प्रदान गर्दै आएको छ । यहाँ ५ जनाको एउटा टिम बनाएका छौं । एउटा टिमले एक हप्ता काम गरिसेको पनि त्यो टिम एक हप्ता क्वारेन्टाइनमा बस्ने गर्छ ।

जुन नगरपालिकाले प्रदान गरिएको छ । एउटा पुरै फ्याट भाडामा लिएर ।

घरमा बस्न मिल्ने स्वास्थ्यकर्मीहरुलाई घरमै जान्छ अरु क्वारेन्टाइमा नै बस्ने गरेका छन् । यसको सबै व्यवस्था पनि टोखा नगरपालिकाले नै गर्दै आएको छ ।

के सुझाव दिनुहन्छ ?
अहिले कोरोना भाइरस रोग केही होइन भन्नेहरु छन । सय जना संक्रमित मध्ये १०–१५ जना सामन्य लक्षण भएका र ५ जना आइसियू भर्ना हुन परेको अवस्था छ ।

सामान्य लक्षण नै पनि नभएका र सामान्य लक्षण भएरमात्रै कोरोना जितेकाहरुलाई कोरोना केही होइन् भन्ने लागेको होला ।

जुन रुपमा संक्रमण फैलिरहेको छ र उपचार गर्ने क्षमता घटिरहेको छ यो आधारमा अझै धेरै कठीन अवस्था आउँनसक्छ ।

यो भाइरस संक्रमण नै नहुँनु राम्रो हो, संक्रमण भइसकेको अवस्थामा कस्तो असर देखाउँछ र कस्तो नतिजा निम्त्याउँछ भन्ने ग्यारेन्टी छैन ।

त्यसैले महामारीमा लापरवाही नगरौं । सबैजना आ आफ्नो ठाउँमा स्वस्थ भएर बस्नका लागि विश्व स्वास्थ्य संगठनको नियम पालना गरौं ।

अहिले त सरकारले पनि हात उठाइसेकेको छ । फेरी पनि आम सर्वसाधारणले सम्झिनुपर्ने कुरा भनेको संक्रमण भएको अवस्थामा हामीले बेड पाइन्छ कि पाउँदैनौ? उपचार हुन्छ कि हुर्दैन ? भन्नेमा शंका छ ।

त्यसकारण यो विजया दशमी चाडपर्व मात्र नहेरी आफ्नो स्वास्थको ख्याल गर्ने र निरोगी बन्न भनी शुभकामना दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय