लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालमा निःशुल्क उपचार यथावत

सरकारले अब कोरोना परीक्षण तथा उपचार बिरामी आफैंले गर्नुपर्ने भनेको छ। सरकारको यो निर्णयसँगै कतिपय सरकारी अस्पतालले भर्नाअघि नै पैसा जम्मा गर्न सूचना निकालिरहेका छन्।

तर, लुम्बिनी सरकारले भने सबैको उपचार निशुल्क भइरहेको जनाएको छ। कार्तिक २ गतेदेखि सरकारले सबैको उपचार र परीक्षण नगर्ने निर्णय गरेको हो।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलका अनुसार प्रदेशमा रहेका सबै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निःशुल्क उपचार भइरहको जनाएका छन्।

सामाजिक सन्जालमा मुख्यमन्त्री पोख्रेलले लेखेका छन् ‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार कोरोनाको परीक्षण तथा उपचार सम्बन्धित व्यक्तिले आफैं व्यहोर्नुपर्ने निर्णय भएको बताएका थिए।

लुम्बिनी प्रदेशको रुपन्देही बुटवलस्थित धागो कारखानामा प्रादेशिक अस्पताल अन्तरगत कोरोना विशेष अस्पताल सन्चलन भइरहेको छ। त्यसैगरी भैरहवाको भीम अस्पताल, बाँकेको भेरी अस्पताल र दाङको आयुर्वेद अस्पताललाई पनि कोरोना विशेष अस्पताल बनाइएको छ।

यसअघि सरकारले सरकारी अस्पतालहरूमा कोरोना परीक्षण र उपचार गराउँदै आएको थियो। मन्त्रिपरिषदको निर्णय सुनाउँदै स्वास्थ्य प्रवक्त्ता गौतमले अबदेखि बिरामी आफैले सबै शुल्क बेहोर्नुपर्ने बताएका हुन्।

सर्वोच्च अदालतले समेत सरकारी तथा निजी सबै अस्पतालमा कोरोना परीक्षणको सबै उपचार निशुल्क गर्न सरकारलाई आदेश दिएको थियो।

सर्वोच्चको त्यो आदेशलगत्तै स्वास्थ्य प्रवक्त्ता गौतमले भनेका थिए ‘सर्वोच्चले भनेपनि उपचार निशुल्क गर्न सकिन्न।’

कोरोना परीक्षणका लागि सरकारले दुई हजार रुपैयाँ शुल्क तोकेपनि निजीले भने ४ हजारभन्दा बढी शुल्क लिइरहेका छन्।

त्यसैमाथि अबदेखि कोरोनाको उपचारसमेत बिरामी आफैले बेहोर्नुपर्ने छ।

सरकारी निर्णयमा आर्थिक रुपले विपन्न, असहाय, अशक्त, एकल महिला, अपाङ्गतायुक्त, ज्येष्ठ नागरिकलगायत वर्गका निम्ति निःशुल्क उपचार गर्ने भनिएको छ।

तर उनीहरूको कोरोना बिमा भएमा सरकारले उपचार खर्च त्यही बिमा रकमबाट असुल गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय