दुई महिनामै २४ करोडको स्यानिटाइजर भित्रियो

कोभिड-१९ महामारीसँंगै नेपालमा स्यानिटाइजर व्यवसाय फस्टाउन थालेको छ।

हरेक घर, अफिस, व्यक्ति-व्यक्तिले हात-हातमा स्यानिटाइजर बोक्न र प्रयोग गर्न थालेपछि नेपालमा स्यानिटाइजर व्यवसाय बढ्न थालेको हो।

स्यानिटाइजर व्यवसायी बढ्न थालेपछि औषधि व्यवस्था विभागले स्यानिटाइजर बिक्रीका लागि दर्ता गर्नुपर्ने नियम ल्याएको छ।

तर, अहिलेसम्म जम्मा ४० वटामात्र व्यवसायीले मात्र औषधि व्यवस्था विभागमा दर्ता गराएको विभागका सूचना अधिकृत सन्तोष केसीले बताए।

पहिला स्यानिटाइजर केही-केहीले मात्र प्रयोग गर्ने भएर यसको लागि दर्ता गर्नु नपर्ने नियम भएको सूचना अधिकृत केसी बताउँछन्।

तर, कोभिड-१९ को प्रभाव नेपालमा बढ्न थालेपछि अधिकांश नेपालीले स्यानिटाइजर प्रयोग गर्न थालेका छन्।

स्यानिटाइजरको बढ्दो प्रयोग र बिक्रीवितरणलाई ध्यानमा राखेर दर्ता गर्नुपर्ने नियम ल्याइएको केसी सुनाउँछन्।

प्रयोग गर्ने धेरै भएपछि स्यानिटाइजर बिक्रेता पनि धेरै हुन थालेकाे छ।

‘त्यसपछि चैत ९ गते स्यानिटाइजर बिक्रेतालाई आफ्नाे उत्पादन दर्ता गराउनु भनी सूचना प्रकाशित गरेका थियौं,’ केसीले थपे। त्यसै दिनदेखि लकडाउन भएपछि विभागले दर्ता अवधि असोज २२ गतेसम्म थपेको उनी सुनाउँछन्।

केसी भन्छन्, ‘बजारमा गुणस्तरहीन स्यानिटाइजर बिक्री भयो भन्ने गुनासो आएपछि केही पसलबाट स्यानिटाइजर लिएर परीक्षण गर्न सुरु गरेका थियौं। जसमा धेरै स्यानिटाइजरमा मिथाइल रसायन प्रयोग भएको भेटिएको छ।’

दैनिक स्यानिटाइजर संकलन गरी परिक्षण गर्न थालेको उनले जानकारी गराए। जसमा ‘अहिलेसम्म विभागले १८ वटा स्यानिटाइजर कम्पनीले मिथाइल रसायन प्रयोग गरेको पायौं,’ उनले भने ।

उनकाअनुसार इथाइल रसायनभन्दा मिथाइल रसायन बढी प्रयोग हुनुको कारण सस्तो र आपूर्ति गर्न सजिलो भएकोले हो। इथाइल रसायन लिनका लागि औषधि व्यवस्था विभागमा पसल दर्ता हुनुपर्ने र इथाइल रसायन आपूर्तिका लागि विभागको सिफारिस चाहिने उनले जानकारी गराए।

मिथाइल रसायन भएको स्यानिटाइजर खाएमा मानिसकाे मृत्युसमेत हुनसक्ने उनी बताउँछन्। साथै यसको दैनिक प्रयोगले छालामा फोका आउने र कोमामा समेत जानसक्ने सम्भावना रहेको उनको भनाइ छ।

‘अरु देशमा भन्दा हाम्रो देशमा मिथाइल रसायन भएको स्यानिटाइजर बढी बिक्री भइरहेको छ’, उनले भने । अहिले मेडिकल फिल नभएकाले पनि स्यानिटाइजर बनाएर बिक्री गर्ने गरेको उनले बताए।

लकडाउन भएपछि धेरै स्यानिटाइजर बिक्रेता बढेको उनी सुनाउँछन्। साथै स्यानिटाइजर पसल दर्ता भएपछि यस्तो समस्या नआउने उनले बताए।

‘यसकारणले गर्दा पनि स्यानिटाइजर प्रयोगकर्ताको स्वास्थ्यमा खेलवाड भइरहेको छ। यसको रोकथामका लागि बाहिरबाट आउने स्यानिटाइजरको पनि बजारमा वितरण हुनु अघि परीक्षण हुनुपर्छ।’

दर्ता गर्ने बेलामा नै कुन स्यानिटाइजर बिक्री गर्ने हो त्यसका लागि ल्याबमा परीक्षण गराएर मात्र बिक्री गराउने केसी बताउँछन्।

नेपालमा जम्मा ४० वटा स्यानिटाइजर कम्पनी दर्ता भएको नेपाल औषधी उत्पादन संघका महासचिव विप्लव अधिकारीले जानकारी दिए।

बाँकी स्यानिटाइजरहरू बिना कम्पनी दर्ता गरी सञ्चालनमा रहेको महासचिव अधिकारीले बताए।

यस सन्दर्भमा असार २५ गते आन्दोलनमा उत्रिएको अधिकारीले बताए। उनले मिथाइल रसायन मिसाइएको स्यानिटाइजरले आँखा नदेख्ने, हातमा फोका निस्किने, कलेजो र किट्नीमा असर पार्ने बताए।

अहिले धेरैजसो स्यानिटाइजर परीक्षणबिना नै बजारमा गइरहेको उनको भनाइ छ। नेपालमा चीन र भारतबाट स्यानिटाइजर आयात हुने गरेको छ। साउन र भदौसम्म मात्रै नेपालमा करिब २४ करोड बराबरको स्यानिटाइजर भित्रिएको उनले जानकारी दिए।

साथै इथाइल रसायन र मिथाइल रसायन यत्तिकै हेरेर थाहा नहुने उनी सुनाउँछन्। यसका लागि ल्याबमा लगेर नै परीक्षण गर्नुपर्ने उनले बुझाए। उनले घरमै स्यानिटाइजर बनाउन मिल्छ भन्ने भ्रम मात्र भएको बताए।

‘ल्याब नभइकन स्यानिटाइजर बनाउन सकिने अवस्था छैन्’, उनले भने। अहिले लकडाउन भएपछि औषधिसम्बन्धी कुनै ज्ञान नभएका व्यक्तिहरूले पनि भारत र चीनबाट आयात गरेर स्यानिटाइजर बिक्री गरिरहेको उनको दाबी छ।

उनी भन्छन्, ‘यसकारणले गर्दा पनि स्यानिटाइजर प्रयोगकर्ताको स्वास्थ्यमा खेलवाड भइरहेको छ। यसको रोकथामका लागि बाहिरबाट आउने स्यानिटाइजरको पनि बजारमा वितरण हुनु अघि परीक्षण हुनुपर्छ।’

यस्तो भएमा सर्वसाधारणको स्वास्थ्यमा असर नपर्ने उनको बुझाइ छ। अहिले नेपालमा स्यानिटाइजरको लागि चाहिने कच्चा पदार्थ, प्रविधि र जनशक्ति भइसकेको उनले बताए।

‘यसकारण अहिले विदेशबाट स्यानिटाइजर आयात नगर्दा पनि नेपालमै उत्पादन गरेर सर्वसाधारणलाई उपलब्ध गराउन सकिन्छ,’ उनले थपे।

साथै यही असोज २२ गतेपछि दर्ता नगरिकन स्यानिटाइजर बेच्न नपाउने नियम औषधि व्यवस्था विभागले ल्याएको उनले बताए। यसले गर्दा मिथाइल रसायन भएको स्यानिटाइजर बिक्री वितरण कम हुन्छ भन्ने उनको विश्वास छ। केही कम्पनीका स्यानिटाइजर विक्री वितरणमा विभागले राेक पनि लगाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय