ज्वरो र रुघाखोकीले कैदीबन्दी ग्रस्त, नवलपरासी कारागार प्रशासन बेखबर

कृष्ण मल्ल/बुटवल
प्रकाशित
२०७७ कार्तिक ३ गते १४:२८

कारागारका कैदीबन्दीमा रुघाखोकी र भाइरल ज्वरो देखिए पनि नवलपरासीको कारागारका कैदीबन्दीको कोरोना परीक्षण हुन सकेको छैन। कोरोनाको लक्षण देखिएको छैनभन्दै कारागार प्रशासनले त्यहाँ रहेका ४ सय ५० कैदीबन्दिको पिसिआर टेष्ट नगरेको हो।

कारागारमा रहेका दुईजना पुरुषमा भने कोरोना पोजेटिभ देखिइसकेको छ। दीर्घ रोगी उनिहरूलाई अन्यत्र सार्ने प्रयोजनका लागि पिसिआर गर्दा ति पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनीहरूमा पनि कोरोनाका लक्षण नदेखिएको कारागार प्रशासनको भनाई छ। ती दुईमध्ये एक पुरुष प्यारालाइसिसका बिरामी हुन्।

६६ वर्षीय उनलाई खाना खुवाउनेदेखि दिशा पिसाब गराउनसमेत अरुको सहयोग पर्ने गर्दछ। ती प्यारालाइसिसका बिरामीको हेरचाहसमेत भित्रै रहेका दुई कैदीबन्दीले गरिरहेका छन्।

मानवअधिकार तथा शान्ति समाज नवलपरासीको समन्वयमा भएको कारागारको अनुगमनको क्रममा यस्तो अवस्था भेटिएको हो।

कारागारका कैदीबन्दिमा रुघाखोकी रहेको कारागारका जनस्वास्थ्य निरीक्षक लक्ष्मण प्रसाद कडेलले अनुगमन टोलीलाई जानकारी दिए।

उनका अनुसार केही दिन अघि ५३ जनासम्ममा रुघाखोकी देखिएकोमा कारागारमा अहिले भने पुरुष विभागतर्फ १५ जनाजति र महिला विभागतर्फ १० जना जतिमा रुघाखोकी छ।

नवलपरासीको कारागारमा ३८९ जना पुरुष, ६२ जना महिला र एक नाबालक गरी ४५२ जना रहेका छन्।

लक्षण नदेखिएका दुईजनाको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएपछि कारागारभित्रका धेरै कैदीबन्दीमा कोरोना पोजेटिभ हुनसक्ने कारागार प्रशासनकै अनुमान छ।

कारागारका जेलर जगतबहादुर बस्नेतले दुईजनामा कारोना संक्रमण पुष्टि भएपछि अरुमा पनि कोरोना भएको हुनसक्ने बताए। ‘हामीलाई कोरोना संक्रमण छ जस्तो लागिरहेको छ’, जेलर बस्नेतले भने, ‘लक्षण नदेखिएको हुँदा परीक्षण गरेका छैनौं। कारागारबाट अर्को ठाउँमा स्थानान्तरण हुँदा र नयाँ कैदीबन्दिलाई प्रवेश गराउँदा मात्रै कोरोना परीक्षण हुन्छ।’

नयाँ कैदीबन्दिलाई केही दिन छुट्टै आइसोलेसन कोठामा राखेर मात्रै समूहमा मिसाउने गरेको उनको भनाई छ। तर, कैदीबन्दि थपिरहँदा भने आइसोलेसन व्यवस्थापनमा कठिनाई भएको उनले बताए।

कोरोना संक्रमणको साबधानी स्वरुप कैदीबन्दीसँगको भेटघाटमा कडाई गरिएको र कारागारभित्र ल्याउने तरकारी र खाद्यान्नभित्र ल्याउँदासमेत सतर्कता अपनाईने गरिएको जेलर बस्नेतले बताए। उनका अनुसार सप्लायर्सहरू पनि कम गरिएको छ भने आएको सामान पनि केही समय बाहिर राखेर मात्रै लैजाने गरिएको छ।

कारागारमा खानेपानीकै हाहाकार

सुधार गृहको नामले सञ्चालनमा रहेको कारागार आफै सुधार हुन सकेका छैन। खानेपानीसमेत कैदीबन्दी किनेर खान बाध्य बनेकाछन्।

खानेपानी समस्या भोग्दै आएको कारागार व्यवस्थापनले डिप बोरिङ खनेको भए पनि पानी ननिस्किएपछि कैदीबन्दी खानेपानीसमेत किन्न बाध्य बनेको कारागारका जेलर शाखा अधिकृत जगतबहादुर बस्नेतले बताए।

‘पानी निकाल्नका लागि ३६०/७० फिट गहिराइमा डिप बोरिङ गरिएको भए पनि पानी आएन’, जेलर बस्नेतले भने, ‘पानी नहुँदा जारको पानी किनेर केन्दीबन्दीले खाइरहेका छन्। चापाकलको पानीमा आर्सेनिक भएको र खान योग्य नभएको हुँदा कारागारमा खानेपानीको समस्या समाधान हुन सकिरहेको छैन।’

बस्नेतका अनुसार चापाकलको पानीले कपडा धुँदासमेत रंग नै पहेलो हुने गरेको उनल बताए।

अहिले दैनिक १५ देखि २० जार पानी कैदीबन्दीले किनेर खानेगरेको कारागारका चौकीदार जेभिट राईले बताए। उनका अनुसार एक जारको मूल्य ४५ रुपियाँ पर्ने गरेको छ।

‘कारागारभित्र फिल्टरको पानी खाने पनि छन्’, उनले भने, ‘नपुग्नेहुँदा खानेपानी किन्नु पर्ने बाध्यता छ।’

के भन्छन् मानवअधिकारकर्मी

गोविन्द खनाल, केन्द्रीय बरिष्ठ उपाध्यक्ष, मानवअधिकार तथा शान्ति समाज

कारागारभित्र कैदीबन्दीमा कोरोना देखिएको हुँदा कैदीबन्दीको इच्छा भएको अवस्थामा पिसिआर परीक्षणको व्यवस्था गर्नका लागि कारागार व्यवस्थापनले ध्यान दिनुपर्ने मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्द खनालको सुझाव छ।

उनले कैदीबन्दीको स्वास्थ्यलाई प्राथमिकता दिन कारागार प्रशासनलाई आग्रह गरे। कोरोनाको आंशकामा कैदिबन्दी बस्ने क्षेत्रमा प्रत्यक्ष रेखदेख नहुँदाको अवस्थामा हुनसक्ने जुनसुकै खालका घटनाप्रति सचेत रहनुपर्नेमा उनको जोड छ।

‘कैदिबन्दीमा कोरोना संक्रमण भएको आंशकामा तपाइहरू गेटबाटै जानकारी लिने उता कैदीबन्दीको स्वास्थ्यमा समस्या हुने, कैदिबन्दीबीच मनमुटाबको अवस्था बढेर जाने हुनसक्छ’, खनालले भने, ‘त्यसतर्फ तपाइहरूको चासो जानु र सतर्कता अपनाउनु जरुरी छ।’

सिडिओको आफ्नै दाबी

सागरमणी पाठक, प्रमुख जिल्ला अधिकारी, नवपरासी

लक्षण देखिएको अवस्था र कैदीबन्दीको स्वास्थ्यमा समस्या देखिए पिसिआर परीक्षण गर्न सकिने अवस्था रहेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए। उनले कारागारभित्र आइसोलेसनको व्यवस्था गर्नका लागि कारागार प्रशासनलाई निर्देशन दिइएको समेत जानकारी दिए।

उनले आइसोलेसनका लागि रेडक्रससँग टेन्टको माग गरि उपलब्ध गराएको तर गर्मीका कारण त्यहाँ राख्न समस्या भएको बताए। उनले गर्भीको मौसम जाँदै गरेकाले गर्मी घटेको अवस्थामा त्यसको प्रयोग गर्न सकिने बताए।

कारागार रहेको क्षेत्रमा खानेपानी संस्थानको पाइपलाइन नभए र पाइपको व्यवस्थापन गर्न नसकेकाले पनि समस्या बल्झिँदो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय