सरकार जनताको जीवनरक्षा गर्न असफल भइसक्यो : विमलेन्द्र निधि

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक ३ गते १२:४४

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना खर्च र उपचारबारे सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएका छन्।

कोरोना परीक्षण तथा उपचार संक्रमितले आफैं गर्नुपर्ने सरकारको निर्णयप्रति निधिले आपत्ति जनाएका हुन्।

कोरोना भाइरसको पीसीआर परीक्षण तथा संक्रमितको उपचार खर्च धान्नै नसक्ने अवस्थामा पुगिएको भन्दै नागरिकले स्वयं गर्नुपर्ने आइतबार सरकारले जनाएको छ।

निधिले सरकार देश र नागरिकको स्वास्थ्य सुरक्षाको दायित्वबाट च्यूत भइसकेको आरोप लगाउँदै गैरजिम्मेवारपूर्ण निर्णय तत्काल सच्याउन माग गरेका छन्।

संविधानले नागरिकको स्वास्थ्यसम्बन्धी अधिकार प्रत्याभूति गरेको अवस्थामा सरकारले ठाडो उल्लंघन गरेको उनको भनाइ छ। ‘सर्वोच्च अदालतले पनि परीक्षण तथा उपचारको सबै व्यवस्था राज्यले व्यहोर्नु पर्ने आदेश जारी गरिसकेको छ,’ निधिले भने,‘तर, सरकारको पछिल्लो निर्णयले अदालतको आदेशसमेत अवहेलना गरेको छ।’

यसैगरी कांग्रेस नेता धनराज गुरुङले पनि सरकारको पछिल्लो निर्णयप्रति आपत्ति जनाएका छन्।

नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सामाजिक सञ्जाल ट्विटरमा ‘जनताको थाप्लोमा ऋणको भारी बोकाएर मन्त्री र सांसदहरूले दसैं भत्ता खाने तर महामारीमा जनताले परीक्षण र उपचार खर्च आफैं व्यहोर्ने ?सरकार चलाउन नसक्नेले पार्टीकै सक्नेलाई छाडिदेऊ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय