चितवनमा मात्रै आइसियु र भेन्टिलेटरमा ५२ संक्रमित

हेल्थपोस्ट/चितवन
प्रकाशित
२०७७ कार्तिक १ गते १४:१५

चितवनमा कोरोना संक्रमितका लागि भनेर छुट्टाइएका आइसियु र भेन्टिलेटर भरिएका छन्।

जिल्लामा विभिन्न अस्पतालले आइसियु र भेन्टिलेटर गरि ५२ बेड छुट्टाएका थिए। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जटिल अवस्थाका ५२ जना कोरोना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचाररत छन्।

प्रशासनको स्थानीय प्रशासन शाखाका प्रशासकीय अधिकृत खेमराज पौडेलका अनुसार २ सय १ जना आइसोलेसन गरिएका साधरण बेडमा उपचाररत छन्।

यस्तै कोरोना संक्रमण भएका ४७ जना आइसियु र ५ जना भेन्टिलेटरमा उपचाररत छन्। भरतपुर अस्पतालमा १० जना आइसियुमा, चितवन मेडिकल कलेजमा ३४ जना आइसियुमा र ५ जना भेन्टिलेटरमा, पुरानो मेडिकल कलेजमा ३ जना आइसियुमा उपचाररत छन्।

‘एक महिनाको तथ्यांक केलाउँदा जटिल अवस्थाका संक्रमित बिरामी दर उस्तै देखिन्छ’, पौडेलले भने, ‘तीन ठूला अस्पतालमा संक्रमित बिरामीको चाप बढ्दो छ, संक्रमण फैलिँदै गएमा व्यवस्थापनमा केही चुनौती हुने देखिन्छ।’

भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि १ सय ५९ बेड आइसोलेसन गरिएको छ भने १६ आइसीयु बेड तयारी अवस्थामा राखिएको छ। चितवन मेडिकल कलेजमा ८५ बेड आइसोलेसन गरिएको छ भने १६ आइसियु बेड छन्। पुरानो मेडिकल कलेजमा ११ बेड आइसोलेसन गरेर राखिएको छ।

चितवनमा संक्रमितको संख्या ३१ सय बढी पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार शुक्रबार साँझसम्म चितवनमा संक्रमित हुनेको संख्या ३ हजार १ सय २ पुगेको छ।

संक्रमितमध्ये ६६ प्रतिशत भरतपुर महानगरका, १३ प्रतिशत रत्ननगर क्षेत्रका, खैरहनी नगर क्षेत्रका ७ प्रतिशत संक्रमित छन्। भरतपुरमा २ हजार ५७ जना, रत्ननगरमा ४ सय १० जना, खैरहनीमा २ सय ३५ जना, राप्तीमा २ सय १० जना, कालिकामा ९७ जना, माडीमा ७३जना र इच्छाकामनामा २० जनामा संक्रमण पुष्टि भैसकेको छ।

जिल्लामा ९ सय ३ जना होमआइसोलेसनमा र ३ सय ८७ जना अस्पतालको आइसोलेसनमा छन्। जिल्लाका १ हजार ७ सय ७३ जना कोरोनामुक्त बनिसकेका छन्।
कोरोना संक्रमणका कारण चितवनका ३९ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा भरतपुरका २३ जना, राप्तीका ५ जना, रत्ननगरका ४ जना, कालिकाका ३, खैरहनी २ जनाले ज्यान गुमाएका छन्।

शुक्रबार मात्र जिल्लामा १ सय ४२ जना संक्रमित थपिएका छन्। जिल्लामा स्थानीय तहमार्फत २३ हजार ५ सय ४२जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय