चितवनमा थप तीन कोरोना संक्रमितको ज्यान गयो

कोरोना भाइरसको संक्रमणबाट चितवनमा शनिबार थप तीनजनाको मृत्यु भएको छ।

भरतपुर अस्पतालमा २ र चितवन मेडिकल कलेजमा उपचारत १ जना महिलाको मृत्यु भएको हो।

जिल्लाको खैरहनी नगरपालिकाका वडा नम्बर १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान मृत्यु भएको वडा अध्यक्ष टीकाराम तिमल्सिनाले जानकारी दिए।

दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्यान्सर रोगबाट समेत पीडित थिए। उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो। उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडा नम्बर ६ निवासी ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

ज्वरो, खोकी र निमोनियाको समस्या भएपछि ती महिलालाई गत असोज २४ गते अस्पताल भर्ना गरिएको थियो। असोज २७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोभिड अस्पतालको आइसीयुमा राखेर उपचार गर्ने क्रममा आज बिहान २:८ मिनेटमा उनको मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।

यस्तै, भरतपुर अस्पतालमा उपचारत रौतहत माधवनारायण–७ निवासी ७० वर्षीया महिलाको मृत्यु भएको हो। ज्वरो, खोकी र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण असोज २९ गते अस्पताल भर्ना भएका भएकी थिइन्।

उनलाई बिहिबार संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी दिए।

उनका अनुसार स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि अस्पतालको कोभिड आइसियुमा राखेर उपचार सुरू गरेको थियो। उनको शनिबार बिहान ९:२५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

यससँगै कोरोना संक्रमणबाट चितवन जिल्लाका ४१ जनाले ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय