चितवनमा तीन स्वास्थ्यकर्मीमा दोहोरियो संक्रमण

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत एक चिकित्सकमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भयो।

दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनले कोरोना जिते। रिपोर्ट नेगेटिभ आएको एक हप्ता उनले घरमै आराम गरे।

भदौ २८ गतेबाट उनी पुनः काममा फर्किए। र, पहिलेझैँ सार्वजनिक स्थानहरू तिर पनि डुल्न थाले।

तर, केही दिनमै उनको स्वास्थ्य फेरि बिग्रन थाल्यो। त्यसपछि उनले पुनः कोरोना परीक्षण गराए।

असोज १२ गते उनमा दोस्रो पुन: कोरोना पोजिटिभ देखियो।

यस घटनाले उनलाई थप शशंकित बनाएको छ। ज्वरो, खोकी र रुघा लाग्ने समस्या रहेको संक्रमित चिकित्सकले बताए।

‘पहिलो पटक पोजिटिभ आउँदा लक्षण थिएन,’ उनले भने, ‘अहिले लक्षण देखिँदा थप शशंकित बनाएको छ।’ सामान्य लक्षण भए पनि होम आइसोलेसनमा बसेर उपचार गरेका छन्। उनका परिवारमा भने संक्रमण देखिएको छैन।

कोभिड–१९ संक्रमणपछि निको भएका व्यक्तिमा पुनः संक्रमण दोहोरिएका उनी एक्ला भने होइन्।

भरतपुर अस्पतालमा कार्यरत एक चिकित्सक र नर्समा पनि पुनः संक्रमण देखिएको थियो। अहिलेसम्म चितवनमा तीनजनामा कोरोनाको संक्रमण दोहोरिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

‘चितवनमा कोभिड–१९ निको भएका व्यक्तिमा पूनः संक्रमण देखिने क्रम बढिरहेको छ,’ उनले भनिन्, ‘निको भयो भनेर ढुंक्क भएर बस्न मिलेन।’ दोस्रोपटक संक्रमण देखिएका सबै निको भएर पुनः काममा फर्किका व्यक्ति हुन्।

औषतमा १५ दिन भाइरस सक्रिय रहन्छ। त्यसपछि अर्को व्यक्तिमा नसर्ने विश्वस्वास्थ्य संगठनको दावी छ।

तर, केही व्यक्तिमा दोस्रोपटक पनि संक्रमण देखिने गरेको जनस्वास्थ्य विज्ञ डाक्टर समीरमणि दिक्षितले बताए। ‘कुनै भाइरस मानिसको शरीरभित्र तीन महिना वा सोभन्दा बढी समयसम्म रहन सक्छ। पहिले कुनै व्यक्तिमा भाइरस भेटेर परीक्षण नेगेटिभ देखिए ती व्यक्तिको शरीरमा भाइरस हुन सक्छ,’ उनले भने।

कोरोना भाइरस नयाँ भएकाले यसै अहिले नै दावाका साथ कुनै कुरा भन्न नसकिने उनको भनाइ छ। शरीरको कुनै भागमा निस्कृय भएर बसेका भाइरसहरूपछि सक्रिय हुने गरेको उनले बताए।

तर, पछि सक्रिय भएको भाइरससँग डराउन नपर्ने उनले बताए। उनका अनुसार विश्वमा १४ प्रतिशत संक्रमण दोहोरिएको छन्।

‘जब व्यक्तिको प्रतिरोधात्मक शक्ति कमजोर हुँदै जान्छ पहिलेदेखि शरीरमा निस्कृय रहेको भाइरस पुनः सक्रिय हुन्छ,’ उनले भने, अहिलेको अस्थामा आफ्नो शरिरको प्रतिरोधात्मक क्षमताले भाइरसलाई मार्नुको विकल्प छैन।’

कोरोना भाइरस वा यस किसिमका कुनै संक्रमण एकपटक भएपछि शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्छ भन्ने सामान्य मान्यता गलत भएको उनले बताए। एकपटक संक्रमित व्यक्तिले पनि स्वास्थ्य सावधानि अपनाउनु पर्ने उनी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय