नेपालमा रेमडिसिभिरको हाहाकार,उपचारमा समस्या

कोरोना उपचारको लागि प्रभावकारी मानिएको रेमडिसिभिर औषधी नेपालमा अभाव भएको छ।

सरकारले तीन वटा कम्पनीलाई बिक्रि—वितरणको लागि अनुमति दिएको छ।

तर, यी कम्पनीसँग अहिले औषधी नै छैन।

हेट्रो ल्याब्स लिमिटेडका विजय अग्रवालले अहिले रेमडिसिभिर औषधी नभएको बताए।

‘हामीले केही दिनअघि मात्र स्विकृती पाएका हाैं,’ अग्रवालले हेल्थपोस्टसँग भने, ‘ल्याउन अझैं ३ हप्ता लाग्छ।’

त्यसैगरी, फर्माकेम डिस्ट्रब्युर्टस प्रालिका प्रभुराज वैद्यले पनि कम्पनीमा औषधी नभएको बताए।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै नेपालमा रेमडिसिभिर ल्याउन र बेच्नका लागि एक भारतीयसहित तीन कम्पनीलाई अनुमति दिएको हो।

अनुमति पाउनेमा फार्माकेम डिस्ट्रब्युर्टस प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिस् प्राइभेट लिमिटेड, काठमाडौं र हेट्रो ल्याब्स लिमिटेड रहेका छन्।

मन्त्रालयले कोरोना उपचार गर्ने अस्पतालहरूले बिरामीका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिस अनुसार औषधी व्यवस्था विभागबाट आयात तथा बिक्रि वितरण अनुमति प्राप्त कम्पनीबाट मात्रै खरिद आग्रह गरेको छ।

गम्भिर अवस्थाका कोरोना संक्रमितलाई यो औषधी अहिले विश्वव्यापीरुपमा चलाइएको छ। परीक्षणकै क्रममा रहेको रेमडिसिभिरलाई केही समयअघि नेपालमा प्रयोगका लागि सरकारले अनुमति दिएको थियो।

यो औषधी अहिले कोरोना बिरामीले चाहेमा किन्न पाइन्छ र, एक भाइलको करिब ७ हजार ५ सय पर्छ।

यो एन्टीभाइरल खोप हो।

चाँडै मगाउनुपर्छ– मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ती कम्पनीहरूसँग नभएमा चाँडै मगाउनुपर्ने बताएका छन्।

‘छिटो नै ल्याउनुपर्छ। औषधी ल्याउन तीन–चार हप्ता लाग्दैन,’ डा. गौतमले भने, ‘यो विषयमा म बुझेर कुरा गराैंला।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय