प्रदेश १ मा चुलिँदै कोरोना संकट

मिलन बुढाथाेकी/विराटनगर
प्रकाशित
२०७७ असोज ३० गते ८:५३

बिहीबार प्रदेश १ मा हालसम्मकै उच्च कोरोना संक्रमित थपिए। एकैदिन ६ सय ५४ संक्रमित थपिएको यो पहिलो पटक हो।

कोभिड उपचार केन्द्रमा संलग्न चिकित्सकले समेन संक्रमणको पछिल्लो अवस्था अत्यासलाग्दो रुपमा देखिएको बताएका छन्। बजारमा चहलपहल बढेसँगै कडा लक्षणयुक्त संक्रमित थपिएका हुन् भने मृत्युदर बढिरहेको चिकित्सकले ठहर छ।

‘सहरमा कोभिडका केश यसरी बढिरहेका छन् की, हाम्रा स्वास्थ्य प्रणालीले अब धान्नै सक्दैन,’ विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रका संयोजक दीपक सिग्देलले भने, ‘अबको परिस्थिति कस्तो हुने र कसरी सामना गर्ने यसको जवाफ सायद कसैसँग छैन।’

उनका अनुसार कोभिड केश घटाउन बजारको चहलपहल कम गर्नुको विकल्प छैन। तर, बजारमा भिड कम गर्ने पक्षमा पटक्कै देखिएका छैनन्। पहिले कोभिडबाट समान्य डराउनेहरू अहिले कडा लक्षययुक्त संक्रमित भेटिँदा र मृत्युदर बढ्दासमेत नडराएपछि यो संकट थप बढ्ने सिग्देलको बुझाइ छ।

अहिले प्रदेश १ का कोभिड उपचार केन्द्रका वेडहरू धमाधम भरिन थालेपछि चिकित्सकले अक्सिजनको अभाव भएको बताएका छन् भने विराटनगर र धरानमा भेन्टिलेटरको अभाव रहेको छ। स्थित नियन्त्रण बाहिर रहेको भन्दै यसको विकल्प सोच्नै नसकिरहेको सिग्देलले बताए।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत अवस्थमा हालसम्म ५८ संक्रमितको मृत्यु भइसकेको छ। अलग्गै एक सय वेडको डेलिकेटेड कोभिड १९ अस्पताल र अर्को ८५ वेडको आइसोलेशन अस्पताल बनाइ संक्रमितको उपचार भइरहेको छ।

डेलिकेटेड अस्पतालमा भने संक्रमित बच्चा वार्ड, गाइनो वार्ड र आइसियु सुविधा राखिको छ। प्रतिष्ठानमा ९ ओटा एक्टिभ भेन्टिलेर रहेका छन्। हाल आइसियुमा ५ जना विरामी रहेका छन् भने पिआइसियुमा २ जना रहेका छन्।

प्रतिष्ठानमा अक्सिजन अभाव हुँदा थप संक्रमित भर्ना हुन पाएका छैनन् भने बिहिबार मात्रै धरानमा ३ संक्रमितको उपचार नपाएर मृत्यु भएको छ।

वेडको चाप बढिरहेको अवस्थामा विरामीको सेवाका लागि प्रयासरत रहेको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले बताए। उनले भएका स्रोत साधनलाई अधिकतम उपयोग गर्ने प्रयास गरेपनि संक्रमित थपिइरहेको जानकारी दिए।

प्रदेश १ मा जति संक्रमित थपिँदैछन् त्यति स्वास्थ्यकर्मीसमेत संक्रमित हुँदै जाँदा यसले थप चिन्ता बढाएको उपचारमा संलग्न चिकित्सकको भनाई छ। ‘कोशी अस्पतालमा ६० बढी स्वास्थ्यकर्मी कोभिड संक्रमित भइसके,’ डाक्टर सिग्देलले भने,  ‘संक्रमित बढ्दै गरेको अवस्थामा स्वास्थ्यकर्मीलाई यसरी सँक्रमण बढ्दै जानुले भोली सामान्य उपचार गर्ने मान्छेको समेत अभाव हुने निश्चित छ।’

दिनप्रतिदिन अवस्था जटिल हुँदै जाँदा यसलाई रोक्ने उपाय नभएको चिकित्सकको भनाई छ। हाल कोरोना लागि हाले त्रसित नबने पनि यदि अक्सिजन चाहियो भने त्यसको अभावको सामना गर्नुको विकल्प नभएको सिग्देलको भनाई छ।

प्रदेश १ मा हालसम्म २७ भेन्टिलेटर सञ्चालनमा रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ भने प्रदेश भित्र ५ कोभिड अस्पताल सन्चलानमा रहेका छन्। ति मध्ये धरानको विपी प्रतिष्ठान र विराटनगरको कोशी कोभिड, न्यूरो कोभिड, नोवेल कोभिड, नोवेल कोभिड र मेचि कोभिड अस्पतालबाट सेवा दिइएको छ।

बिहिबार मात्रै प्रदेश १ मा ६ सय ५४ जना नयाँ संक्रमित थपिँदा हालसम्म संक्रमितको स‌ंख्या  ११ हजार ९ सय ६१ पुगेको छ। प्रदेश १ मा १ सय २२ स‍ंक्रमितको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय