झापामा एक हजार १६७ जनामा कोरोना पुष्टि, मृत्यु १३

झापामा कोरोना संक्रमितको संख्या  एक  हजार १६७ पुगेको छ । जसमा ९११ जना निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या २४४ छ । जिल्लामा कोरोना संक्रमण देखिएका १३ जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा सर्वसाधारणदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । साउनको अन्तिमसम्म विदेशबाट आएका र क्वारेन्टाइनमा बसेकामा संक्रमण देखिए पनि अहिले संक्रमण समुदाय स्तरमा फैलने क्रम बढ्दो छ ।

# जनप्रतिनिधिलाई कोरोना :-
पछिल्लोपटक नेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई संक्रमण पुष्टि भएको छ ।

कनकाई प्रयोगशालामा गरिएको परीक्षणमा नगरप्रमुख आचार्य सहित परिवारका अरु दुई जनामा संक्रमण देखिएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ ।

यसअघि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उनकी श्रीमती लिलालाई समेत कोरोना पुष्टि भएको थियो ।

उनीहरू धरानमा उपचाररत छन् । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिका १० का वडाध्यक्ष टेकबहादुर खड्का, दमक १० का वडाध्यक्ष बोधराज न्यौपाने र दमककै अर्का एकजना जनप्रतिनिधिलाई कोरोना पुष्टि भइसकेको छ ।

त्यसैगरी मेचीनगर ४ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक नवीन बराललाई पनि कोरोना संक्रमण भएको छ ।
राजनीति दलका नेतामा पनि कोरोना संक्रमण देखिएको छ ।
# नेतामा पनि संक्रमण :-

नेपाली कांग्रेस झापाका कोषाध्यक्ष केशव पाण्डे, नेविसंघका पूर्वकेन्द्रीय सदस्य सन्तोष उप्रेती संक्रमण पछि होमआइसोलेसनमा छन् ।

नेकपाका प्रदेश १ कमिटी सदस्य वेदराज रेग्मी, सोही पार्टीका जिल्ला पूर्वसदस्य श्री सिटौलाई पनि कोरोना पुष्टि भएको छ । यसअघि सोही पार्टीका बाह्रदशी अध्यक्षलाई पनि संक्रमण भइसकेको छ ।

# पत्रकारलाई कोरोना :-

राष्ट्रिय समाचार समितिका सञ्चालक सदस्य दयाराम दाहाल लाई पनि संक्रमण भएको छ । दाहाल नेकपा नेता समेत हुन् ।

नेपाल पत्रकार महासंघका झापाका सदस्य समेत रहेका दाहालसँगै नेपाल पत्रकार महासंघ झापाका कर्यसमिति सदस्य रमेश तिवारीलाई पनि संक्रमण भएको छ ।

झापाली पत्रकार भुपाल लुइँटेललाई पनि संक्रमण पुष्टि भएको नेपमहासंघ झापाले जनाएको छ ।

दाहाल निको भइसकेका छन्, लुइँटेल अझै उपचाररत रहेका छन् । त्यसैगरी झापामा पत्रकार सुजन तिम्सिना र गणेश तिम्सिना पनि संक्रमित भएका छन् ।

# सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई कोरोना :-

यसबाहेक झापामा नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरी संक्रमित भइसकेका छन् ।

झापामा ५० जनाको हाराहारीमा स्वास्थ्यकर्मी र चिकित्सक समेत संक्रमित भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । उद्योगी व्यापारीमा पनि कोरोना संक्रमण फैलिएको छ ।

# उद्योग व्यवसायी पनि संक्रमित :-

झापामा औषधि व्यवसायी , सुन व्यवसायी लगायतमा संक्रमण देखिएको छ । झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल संक्रमित भएको जनाइएको छ ।

गोरखकाली र पण्डा सिमेन्ट उद्योगका संचालक दीपेश ढकाललाई पनि संक्रमण भएको छ । कतिपय व्यवसायी नाम सार्वजनिक गर्न चाहेका छैनन्। यसबाहेक झापामा बैंकका कर्मचारी बढी संक्रमित छन् ।

दुई महिने बालकदेखि १०० वर्षीय व्यक्तिसम्मलाई कोरोना पुष्टि भइसकेको छ । अहिले कोरोना संक्रमणको अवस्था सहर केन्द्रित देखिएको छ । ग्रामीण र सीमावर्ती क्षेत्रमा सरुवातको तुलनामा संक्रमण घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय