मन्त्री संयोजक रहेकै कोरोना अस्पतालमा बेड अभाव : दाङ लैजादै गर्दा संक्रमितको मृत्यु

बुटवलबाट दाङको बेलझुन्डी अस्पताल लैजादै गर्दा एक संक्रमितको बाटोमै मृत्यु भएको छ। प्रदेश सरकारद्वारा व्यवस्थापन गरिएको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बेड अभाव भएपछि उनलाई दाङ लगिदै थियो।

लुम्विनी प्रदेश सरकारले बुटवलको कोरोना बिशेष अस्पतालको संयोजकको रुपमा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीलाई तोकेको छ।

त्यसैगरी भैरहवाको भीम अस्पतालमा संयोजकको रुपमा सामाजिक विकास मन्त्री सुदर्शन बराललाई तोकेको छ। तर, ति अस्पतालकै क्षमता बृद्धि हुन सकेको छैन।

अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका–९ का ७३ वर्षीय व्यक्तिको बिहीबार बिहान पौने ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

बुधबार मात्रै बुटवल कोरोना अस्पतालमा नवलपरासीको सुनवल नगरपालिका ४ का ७७ वर्षीय एक पुरुषको आइसियु बेडमा उपचार नपाउँदा मृत्यु भएको थियो।

लक्षणसहितका बिरामी बढ्दै गएपछि बुटवल र भैरहवामा कोरोना संक्रमितका लागि केही हप्तादेखि आइसियु बेड अभाव हुँदै आएको छ। लुम्बिनी प्रदेश सरकारले अस्पतालको बेड क्षमता बढाउने भने पनि बुटवल र भैरहवाको अस्पतालको क्षमता बृद्धि हुन सकेको छैन।

अर्घाखाँचीका मृतकको स्वास्थ्यमा समस्या भएपछि प्रादेशिक अस्पताल आएका उनको असोज २७ गते पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।

उनलाई बुधबार धागो कारखानास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो। बिरामीको स्वास्थ्यमा थप समस्या भई आइसियु आवश्यक परेपछि दाङको बेलझुन्डी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ती व्यक्तिमा मृतकमा श्वासप्रश्वाससम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ।

लुम्विनी प्रादेशिक अस्पतालको व्यवस्थापनमा सञ्चालन भएको बुटवल कोरोना बिशेष अस्पतालमा ३६ वटा आइसोलेसन बेड, १६ वटा आइसियु बेड, १६ मनिटर र ५ भेन्टिलेटर रहेका छन्।

त्यसैगरी भैरहवामा रहेको भीम अस्पतालमा २२ वटा आइसोलेसन, ५ वटा आइसियु। ५ वटा मनिटर र १ वटा भेन्टिलेटर रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय