पाल्पाको माथागढीमा आठ सय घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा
पाल्पाको माथागढी गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम संचालन गरिरहेको जनाएको छ। स्वास्थ्यमा बिपन्न परिवारको पहुँच पर्याउने उद्देश्यले बिमाको कार्यक्रम गतबर्षदेखि संचालन गरेको पालिकाको भनाई छ।
गत बर्ष ८ सय घरपरिवारलाई निःशुल्क बीमा गरेको गाउँपालिकाले अहिले नवीकरण र नयाँ घर परिवारलाई बीमा गर्ने काम शुरू गरेको हो।
गत बर्ष बिमा गरेका घरपरिवारले स्वास्थ्य समस्या पर्दा गरेको बीमाको प्रयोग र आवश्यकतालाई मूल्याकंन गरे मात्रै ति परिवारको बीमा नवीकरण गरिने माथागढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले जानकारी दिए।
उनले बीमाको प्रयोग र आवश्यकता बिषयम सम्बन्धित वडा कार्यालयहरूले गर्नेगरी काम अगाडी बढाइएको बताए। उनका अनुसार स्वास्थ बीमा गर्न नसक्ने परिवार छुटेको अवस्थामा ति घर परिवारलाई समेट्ने कार्यक्रम समेत रहेको छ।
आर्थिक बर्ष २०७७÷७८ मा पनि ८ सय घर परिवारका लागि स्वास्थ्य बीमा गर्ने लक्ष्य माथागडी गाउँपालिकाले राखेको छ। त्यसका लागि गाउँपालिकाले २८ लाख बजेट बिनियोजन गरेको प्रशासकीय अधिकृत नेपालले बताए।
५ जनासम्म रहेको एक परिवारका लागि स्वास्थ्य बीमाका लागि ३ हजार ५ सय लाग्ने गर्दछ।
गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले गाउँपालिका भित्र रहेका आठ वटै वडाका बिपन्न परिवारलाई गाँउपालिकाले निःशुल्क बीमा गरिदिएको जानकारी दिए।
उनका अनुसार गत साल निःशुल्क बीमा गरिदिएकामध्ये गरिब र बिपन्न परिवारलाई गाउँपालिकाको तर्फबाट र सक्ने परिवारलाई आफैले बीमा गर्नका लागि प्रोत्साहन गरिएको छ।
गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बीमा गर्न नसकेका वडा नं. ७ रहबासका ८० विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिइसकेको छ। गाउँपालिका अध्यक्ष थापाका अनुसार त्यसमध्ये धेरैजसो नयाँ घर परिवार छन् भने थोरै जसो पुराना बीमा गरेका घरपरिवार हुन।
दैनिक निःशुल्क बीमा गराउने घर परिवारको संख्या थपिदै गएको छ। गाउँपालिकाका विपन्न घरपरिवारलाई पनि स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यो कार्यक्रम अघि सारेको उनको भनाई छ।
यसअघि सरकारले गरिव र आर्थिक अवस्था कमजोर भएकाहरूलाई स्वाथ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन लाग्ने शुल्क तिर्न नसक्नेहरूका लागि यो कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख केशब जिसीले बताए।
निःशुल्क बीमा कार्यक्रमपछि सामान्य रोग लागेको अवस्थामा ऋण खोजेर सदरमुकाम धाउनुपर्ने अवस्थाका परिवारलाई अहिले सहज भएको छ।
गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिएपछि सामान्य गाडी भाडाको जोहो गरेर उपचारका गर्न सजिलो भएको स्थानीय खेमबहादुर विकले बताए।
‘गाउँपालिकाको यस्तो कार्यक्रमले हामीलाई निकै सहज भएको छ,’ उनले भने, ‘रोग लागि हाल्यो भने गाउँ–गाउँमा ऋण खोजेर हिड्नु पर्ने समस्या अन्त्य भएको छ।’
निःशुल्क स्वास्थ्य बीमा गरेका पाँच जनासम्मको परिवारले ३५०० बीमा गरेपछि १ लाखसम्मको उपचार सेवा निशुल्क पाउँछन्।