डा. केसी गोविन्द केसीको अभियानमा नसमेटिएका स्वास्थ्यकर्मी

डा. गोविन्द केसीको आज जन्मदिन । २८ दिन लामो सत्याग्रह सम्झौताको अवस्थामा पुर्याएर उहाँ त्रिवि शिक्षण अस्पतालमै उपचाररत हुनुहुन्छ ।

डा. केसीले चिकित्साशिक्षा, समग्र स्वास्थ्य सेवाको सुधारदेखि सुशासनका लागि बुलन्द गरेर आवाज आज आम नागरिकको ह्दयमा बसेका छन् ।

व्यक्तिगत जीवनमा कुनै स्वार्थ नराखि डा. केसीले गाउँगाउँ पुगेर उपचार गरेको वर्षौदेखि हो । यी क्षेत्रको सुधारका लागि सत्यग्रहको अभियान छेडेको पनि एक दशक हुनलागिसक्यो ।

२०६९ असार २१ देखि ४ दिनसम्म चलेको पहिलो अनशन गर्दादेखि २८ दिन लामो १९औं अनशनसम्म आइपुग्दा डा. केसी सत्याग्रहले स्वास्थ्य क्षेत्रका सुधारका एजेण्डाको मुलप्रवाहीकरणमा निकै महत्वपूर्ण भूमीका खेलेको छ । त्यो नेपाल स्वास्थ्य क्षेत्रको सुधारका लागि अतुलनीय छ ।

यो सन्दर्भमा म एउटा विषयको स्मरण गर्न चाहान्छु । १९ वटै अनशनसम्म आइपुग्दा डा. केसीले अभियानमा सम्पूर्ण स्वास्थ्यकर्मी नागरिक समाज लगायतको सधै साथ र सहयोग रह्यो ।

एकल प्रयासमा संभवत यति धेरै गाउँवस्ती र स्वास्थ्य संस्था चहारेर शिविर चलाउँदै सेवा प्रवाह गर्ने डा. केसी पहिलो व्यक्ति हुन् । यो अर्थमा नीतिनिर्माण तहमा बस्नेहरुले भन्दा ग्रामीण क्षेत्रका स्वास्थ्य समस्याको बोध एवं अनुभूति डा. केसीलाईसँग धेरै छ । त्यो उहाँका मागमा झल्किन्छ, अभिव्यक्तिमा प्रष्टिन्छ ।

झन् यसपटकका माग र सम्झौता पनि दुर्गम कर्णाली, बर्दिवासमा मेडिकल कलेज वा चिकित्साशिक्षा पढाईदेखि सुदूर नेपालको बयालपाटा अस्पतालका समस्यासमेत झल्किएका थिए । सोही आधारमा ८ बुँदे सहमतिसमेत भयो ।

यी सहमतिका बुँदा पढिरहँदा एउटा स्वास्थ्यकर्मीसाथीहरुको प्रतिनिधित्व गर्ने व्यक्तिका रुपमा मैले तपाईसँग केही गुनासो गर्न यो लेख लेख्ने जमर्को गरेको छु ।

प्रिय डा. केसी….

फेरी पनि म यहाँ उल्लेख गर्न चाहान्छु कि संविधानले मौलिक हकको रुपमा स्थापित गरेको छुट्टै ऐनबाट निर्देशन स्वास्थ्य सेवा अन्तर्गत विभिन्न २९ समूह र ५६ उपसमूह छन् । दरवन्दी संरचनाका अनुसार सिंगो निजामति सेवा प्रशासनकै संख्याको तहमा स्वास्थ्य सेवा छ तर ४ हजारभन्दा बढी स्वास्थ्य संस्था संचालनमा छन् ।

हेल्थ इन्स्पेक्सन, नर्सिङ, फार्मेसीसमेत गरेर ठूलो संख्यामा जनशक्ति अहिले पनि स्थानीय सरकार मातहतमा रहेर गाउँगाउँमा स्वास्थ्य सेवा प्रवाहमा खटिइरहेको छ । ग्रामीण क्षेत्रका नागरिका स्वास्थ्य भरोसा बनेका यस्ता जनशक्तिका पीडा, दुःख र समस्या तपाईका माग वा सरकारले गरेका सम्झौतमा समेटिएका छैनन् ।

डा. केसीको सत्याग्रह सुरु हुँदै गर्दा समग्र चिकित्सक जगतमात्रै होइन् सिंगो स्वास्थ्य क्षेत्र तरंगित बन्छ । गाउँगाउँमा मेडिकल कलेज खोल्ने, अस्पताल चल्ने कुरा उठ्छ । तर चिकित्सक मात्रैले अस्पताल कलेज चल्छन् ?

डा.साबले उठाएजस्तै पूर्ण र गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, फार्मेसीका जनशक्ति, नर्सिङ जनशक्ति विना पूर्ण हुन्छ त ? गाउँगाउँमा चहारेर, स्वास्थ्य संस्था पुगेर सेवा दिने तपाईँलाई आम नागरिकमात्रै होइन् त्यस्ता विकट ठाउँमा बसेर सेवा दिने स्वास्थ्यकर्मीको पीडा पनि थाहा छ भन्ने हाम्रो विश्वास हो ।

अहिले पनि नेपालले अन्तराष्ट्रिय तहमा गर्व गर्ने मातृमृत्यु, बाल मृत्युदर घटाउने, औसत आयुमा बृद्धि जस्ता सहस्राब्दी र दीगोविकासका लक्ष्य हाँसिल गर्ने सन्दर्भमा स्वास्थ्य सन्देश बोकेर गाउँगाउँ चहार्ने स्वास्थ्य स्वयमसेविकादेखि खोप सुपरभाइजरसम्मको उत्तिकै महत्वपूर्ण भूमीका छ ।

यस्ता आधारभुत सेवा प्रवाहमा खटिने स्वास्थ्यकर्मी सधै राज्यबाट अपहेलित भइरहेका छन् । स्वास्थ्य मन्त्रालय र विभागमा बसेर बजेज बाढ्ने र कार्यक्रम बनाउँनेका आँखामा त्यस्ता जनशक्तिले ल्याएका प्रगति त परेका छन तर उनीहरु योगदानको प्रशंसा र सम्मान गर्न सक्दैनन ।

अहिले आम नागरिकले स्वास्थ्य सेवाका समस्या बोल्ने, आवाज उठाउँने भरोसाका रुपमा लिएका तपाईले पनि स्वास्थ्यकर्मीका सवाल नबोलिदिँदा हामीलाई दुःख लागेको छ ।

९० प्रतिशत भुगोलमा स्वास्थ्य सेवा प्रवाह गर्ने जनशक्तिका कुरा कसले बोलिदिने ? सत्याग्रहमार्फत आम नागरिकका लागि बोल्ने डा. केसी कुनै समूह विशेष –चिकित्सक)को मात्रै प्रतिनिधि बन्न सुहाउन्न कि !

विशेषगरी डा. केसीले सुरु गरेका अभियानबाट चिकित्सक समुदाय निकै लाभान्वित भएको छ । करोडौंमा किनबेच हुने पिजी तहको पढाई अहिले निःशुल्क भएको छ । सरकारी क्षेत्रमै क्रियाशील रहेका चिकित्सकका लागि पनि अहिले पिजी कोटामा विशेष व्यवस्था गरिएको छ ।

चिकित्साशिक्षा क्षेत्रको समन्वय र सुधारका लागि अधिकार सम्पन्न राष्ट्रिय आयोग बनेको छ । आयोगमार्फत थुपै काम सुरुवात भएका छन । अहिले पनि चिकित्सकहरुका बृद्धि विकास, सेवा सुविधा र शर्तका सन्दर्भमा प्रयाप्त वहस र पहल भइरहकै छन् ।

स्वास्थ्य क्षेत्रको समग्र रुपान्तरणको यो वहस चलिरहँदा स्वास्थ्यकर्मीहरु भने अहिले विभेदको शिकार हुनुपरेको छ । यो अवस्थामा एकीकृत र गुणस्तरीय स्वास्थ्य सेवाको परिकल्पना संभव छैन् ।

डा.साब !

स्वास्थ्य सेवाबाट बञ्चित भएका आम नागरिकले तपाईले बोलेका कुराले उनीहरुको हित गर्नेछ र गरिरहेको छ भन्ने विश्वास राखेको छ । समग्र चिकित्सकले तपाईलाई अविभावक मानेको छ । यो अर्थमा देशका हजारौं स्वास्थ्यकर्मी पनि आज स्वास्थ्य क्षेत्र रुपान्तरणको एजेण्डा उठिरहँदा आफना भूमीकाको नजरअन्दाज नहोस् भन्ने चाहिरहेको छ ।

हो, तपाई अर्को अनशन बस्न नपर्ने अवस्था आओस् भन्ने आम नेपालीको चाहाना छ । तर, तपाई एउटा अभियान्त सत्यग्रह बाहेक पनि यस्ता बेथितीविरुद्ध बोल्न छाड्नु हुनेछैन् । यी सन्दर्भमा तपाईका अभिव्यक्तिमा स्वास्थ्यकर्मीले आफ्नो प्रतिनिधित्व र संवोधन पाउनेछ भन्ने विश्वास छ ।

फेरी पनि जन्मदिनको शुभकामना डा. साब !

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय