पौष्टिक आहारका लागि संक्रमितलाई आर्थिक सहयोग

रेणु त्वानाबासु/भक्तपुर
प्रकाशित
२०७७ असोज २६ गते १३:३६

कोरोना भाइरसको संक्रमणको शरीरमा रोपप्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउँछ। संक्रमण भएको अवस्थामा पौष्टिक आहार अभावले बिरामीको अवस्था गम्भीर नहोस् भनेर टोखा नगरपालिकाले संक्रमित परिवारलाई आर्थिक सहयोग गर्दै आएको छ।

गत साउन र भदौको महिनामा संक्रमितलाई १४ दिनसम्म दैनिक तीनसय ५० रुपैयाँका दरले पौष्टिक आहार भत्ता दिँदै आएको थियो। हाल संक्रमितको संख्या बढ्दै गएपछि असोजदेखि नयाँ दर लागू गरिएको नगरपालिकाले जनाएको छ।

असोजदेखि एक घरमा एक जना संक्रमित भएमा एकमुष्ट चार हजार ९ सय रुपैयाँ दिने गरिएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताए।

‘एउटै घरमा दुई जना संक्रमित भएमा त्यस परिवारलाई हामीले सात हजारसम्म दिने गरेका छौं,’ उनले भने, ‘यस्तोबेला पौष्टिक तत्व भएका खानेकुराहरु आवश्यक पर्दछन्। त्यसैले त्यो पूर्तिका लागि हामीले संक्रमितका परिवारलाई आर्थिक सयहायता उपलब्ध गराउन थालेका हौं।’

नगरप्रमुख अधिकारीका अनुसार अहिलेसम्म १३ हजार परिवारलाई राहत वितरण गरिएको छ। आर्थिक अवस्था कम भएका र दैनिक गुजारा चलाउन नसक्ने परिवारका लागि अहिले पनि नगरपालिका सहयोगका लागि तयार भएको उनले बताए।।

साथै संक्रमितका परिवारलाई स्यानिटाइजर, मास्क, साबुुन, ज्वरो नाप्ने थर्मोमिटर, हेल्थ किट्स वितरण गर्ने गरिएको छ।

नगरपालिकाले कोभिड १९ का बिरामी हेरचाह गर्ने स्वास्थ्यकर्मीहरुलाई तलबको साथसाथै नगरपालिकाले एकसय प्रतिशत भत्ताको व्यवस्था पनि गरेको उनले बताए।

‘उनीहरुको तलब दश हजार भए, त्यसमा थप दश हजार दिने गरेका छौं, ताकि यसले गर्दा स्वास्थ्यकर्मीहरुको काम गर्ने हौसला बढोस,’ उनले थपे, ‘स्वास्थ्यकर्मीेले हात उठाइदिए भने बिरामी कसले हेर्छ र?’

टोखा नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमित एक हजार ३ सय ६४ छन्। जसमा अहिले सम्म ८ सय ३९ जना निको भइसकेका छन्। बाकी सक्रिय संक्रमित पाँच सय २० जना रहेको टोखा नगरपालिका काभिड–१९ दैनिक रिपोर्टमा उल्लेख गरिएको छ।

चार सय ४२ जना होम आइसोलेसनमा र ५४ जना अस्पतालमा बसिरहेको बताए नगरपालिकाले जनाएको छ। अहिलेसम्म नगरपालिकामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ।

जसमध्ये चार जना भाडामा बस्ने हुने भने, एक जना बाहिर जिल्लाभित्रको रहेको नगरप्रमुख अधिकारीले जानकारी दिए।

सुरुसुरुमा संक्रमण देखिएको क्षेत्रमा सिल गर्ने गरिए पनि अहिले संक्रमित बढ्न थालेपछि त्यो सम्भव नभएको नगरप्रमुख अधिकारीको भनाइ छ। हालसम्म नगरपालिकाले चार हजार ९ सय ५२ जनालाई कन्ट्रयाक्ट ट्रेसिङ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय