कति साहसी डा. केसी, लत्रिएको शरीरमा धिपधिपाउँदो ‘ऊर्जा’
दिन उस्तै हुन्। समय उस्तै हो। यो निरन्तर चलिरहन्छ आफ्नै गतिमा।
प्रत्येक मिर्मिरेमा उदाउँदो सूर्यका पहेँलपुर सिर्का पनि उस्तै।
तर, आइतबार बिहान त्रिवि शिक्षण अस्पतालको आँगनीमा छरिएका उषाकालीन सूर्यका किरण प्रिय लाग्दै थिए।
मानिसहरूको चहलपल बाक्लो थियो। अस्पतालमा प्रायः मलिन अनुहार देख्न पाइन्छ।
तर, आइतबारीय मिर्मिरेमा धेरैका अनुहार उजेलिएका थिए। क्यामेराका लस्क तेर्सिएका थिए।
सबैमा यस्तो खुसीयाली छाउनुको कारण थियो– १९औं सत्याग्रह थालेका डाक्टर गोविन्द केसीको २८औं दिनमा सत्याग्रह तोडिनु।
एक सत्याग्रहीसँग तर्सिरहेको, डराइरहेको, वार्ता नै गर्न नचाहिरहेको सरकार अन्ततः सत्यको सामु फेरि पनि एकपटक निरीह बन्दै थियो।
केसी एक्लो सत्याग्रही होइनन्। उनी मेडिकल माफियाबाहेक ३ करोड नेपालीका आसाका केन्द्र हुन्। स्वास्थ्य क्षेत्रको एक जलिरहेको दीप हुन्।
…
अस्पताल परिसरमा सानो टेन्ट गाडिएको थियो।
टेन्टको वरपरि सबै झुम्मिएका थिए।
टेन्टले सबैको ध्यान खिचेको होइन। प्रतिक्षा त कतिबेला सत्याग्रही डाक्टर केसी आउलान् भन्ने थियो।
सबैको मनमा उनको वृद्ध र अबोध अनुहार नाचिरहेको थियो।
२८ दिनदेखिको एक वृद्ध शरीर। जसले सलाइन पानीको भरमा देशको स्वास्थ्य सुधारका लागि जीवन त्याग्ने बाटो रोजेको थियो।
तिनै केसीको रुग्ण र कमजोर शरीरबाट केही शब्द निस्किन्छ कि भनेर क्यामेराका ट्राइपडहरू टेन्टतिर पहिले नै गाडिएका थिए।
घडिको सुईले १० बजे वरिपरि फन्को मारिरहेको थियो।
हरेकले आफ्ना नजर गेटतिरै सोझ्याइएका थिए।
…
यत्तिकैमा केही सहयोगीले केसी पल्टिरहेको बेडलाई बाहिर ल्याए।
२८ दिनदेखि एउटा बेडमा लडिरहेको बुढो शरीरले पहिलो घामको स्पर्श पायो। र, त्यही प्रभातकालीन घामको सिर्को झैं एक मिठो मुस्कान हाँस्यो। मास्कभित्रै चलमलाएका उनका ओठले हाँसोको स्पर्श दिनसक्थे।
वा! कति साहसी डाक्टर केसी तिमी। २८ दिनसम्म भोकै बस्दा पनि ६२ वर्षको बुढो हाडछालामा कस्तो बलियो आत्मविश्वास।
गेटबाटै केसीले हात हल्लाए।
पुलुक्क–पुलुक्क यताउति हेरे। सकिनसकी नमस्कार गरे।
हात उठाउन गाह्रो भएको सबैले सहजै अनुमान लगाउन सक्थे।
उनलाई बाहिर ल्याउँदै गरेको बेडमा पर्चा टाँसिएका थिए।
‘फेरी अनसन बस्न नपरोस्।’
‘साथ दिने सबैलाई धन्यवाद।’
‘सरकार सम्झौताप्रति जिम्मेवार बनोस्।’
यस्ता यस्तै पर्चाबीच घेरिएका थिए उनी।
…
केसी पत्रकार, स्वास्थ्यकर्मी र सर्वसाधारणले घेरिए।
केही सहयोगी भीडभाड नियन्त्रण गर्न थाले।
केही सहयोगीले केसीलाई टेन्टमा जान आग्रह गर्दै थिए।
तर, उनी जान मानेन्।
त्यही चर्को घाममा बस्न राजी भए।
२८ दिनसम्म अन्न पानी नछोएका केसीलाई घामको के पर्वाह हुन्थ्यो र?
त्यही भीडबाट डा. केसीका सहयोगी प्रितम सुवेदी अगाडी सरे।
र, भने, ‘आज डा. केसीको आमरण अनसनको २८औं दिन। सरकारले २७ दिनपछि बल्ल सरको मागलाई सम्बोधन गरेको छ।’
हिजो राति सरकारी पक्ष र केसीबीच आठ बुँदे सहमति भएको थियो।
उनले डा. केसी जुम्लादेखि शिक्षण अस्पतालसम्म अनसन बस्दा प्रत्यक्ष सहयोग गरेका सबैलाई एक–एक गरी धन्यवाद दिए।
उनले अहिलेसम्म साथ सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे।
सरकारसँग भएको आठ बुँदे सहमतिका बुँदाबुँदा पढे।
बुँदा नम्बर १…..८।
केसी बेडबाट उठ्न खोजिरहेका थिए।
तर, २८ दिनसम्म गलेको थलिएको शरीरले साथ दिइरहेको थिएन।
तर, उनले प्रयास भने गरिरहे।
…
यत्तिकैमा सहयोगीले बेड उचाले।
अब पालो आयो अनसन तोड्ने।
केसीले अनसन तोड्न अस्पतालका सरसफाइ कर्मचारी रोजे।
उनको हातबाट जुस खाए।
२८ दिनदेखि भोको, गलेको शरीरबाट के शक्ति आउँथ्यो र!
केही बोल्न खोज्दै थिए।
तर, बोली फुट्न समय लाग्दै थियो।
विस्तारै केही वाक्य बोले।
‘अस्पतालका सरसफाई कर्मचारी विकास नेपाली। उहाँबाट नै अनसन तोड्छु।’
‘कोरोना नियन्त्रण रोकथाममा खटिएका सबै स्वास्थ्यकर्मीलाई धन्यवाद’ दिए।
‘स्वास्थ्यकर्मी दिन रात नभनी जोखिम मोलेर काम गर्दै आएका छन्। उनीहरूलाई सरकारले सम्मान गर्नुपर्छ,’ उनले यत्ति भने।
१५ मिनेटको बसाइमा उनको खुइलिएको तालुबाट चिटचिट पसिना आइसकेको थियो।
तर, उनलाई त्यसको कुनै मतलब थिएन।
…
त्यही भीडबाट एक अर्धबैंसे पुरुष आए।
डा. केसीको हातमा फूलको गुच्छा थमाए।
‘आज बिहान मात्रै ७२ वर्षीय आमाले टिपेर पठाउनु भएको,’ उनी भन्दै थिए।
‘तपाईंले जनताको लागि जे काम गर्नुभएको छ, आमाको यो फूलले पनि तपाईंको सम्मान गर्न सक्छ जस्तो लाग्दैन,’ ती पुरुष भन्दै थिए।
यत्तिकैमा चिकित्सकले तुरुन्तै आइसियुमा लैजानुपर्ने भने।
उनीहरूले केसीको स्वास्थ्य अवस्था बुझेका थिए।
ढिला नगरी बेड घुमाए।
सलाइन जोडिएका गह्रुङ्गा हात हल्लाउँदै केसी आइसियु कक्ष छिरे।
केसीले उठाएका माग सरकारले पूरा गरे ‘गरिबका छोराछोरीले पढ्न पाउँथे।’
‘भुईंमान्छेका छोराछोरी डाक्टर बन्न पढ्न पाउँथे।’
‘कसैले पनि उपचार नपाइ मर्नुपर्ने थिएन।’
‘फेरि नेपाली जनताले केसीलाई धोका भएको सुन्न नपरोस्।’
‘त्यो बुढो शरीर र चाउरिएको अनुहारले फेरि पनि अनसन बस्नु नपरोस्।’
परिसरभर यस्ता आवाज गुन्जिरहे…।
‘त्यही भीडबाट एक अर्धबैंसे पुरुष आए।
डा. केसीको हातमा फूलको गुच्छा थमाए।
‘आज बिहान मात्रै ७२ वर्षीय आमाले टिपेर पठाउनु भएको,’ उनी भन्दै थिए।
‘तपाईंले जनताको लागि जे काम गर्नुभएको छ, आमाको यो फूलले पनि तपाईंको सम्मान गर्न सक्छ जस्तो लाग्दैन,’ ती पुरुष भन्दै थिए।’
स्तम्भकार मित्र,
त्यो पुरुष अर्धबैंसे हैन, त्यो ‘युवा षुरुष’ हो ! त्यो ‘युवा षुरुष‘की आमा ७२ हैन ८५ की छन् । त्यो ‘युवा षुरुष’ अरु कोही हैन सत्याग्रही डा. गोविन्द केसीका सधैंका एक निष्ठावान समर्थक र एक लेखक पनि हुन् । त्यो ‘युवा षुरुष‘ले नै सबैभन्दा पहिला डा. केसीलाई “महात्मा केसी”को सम्मान दिएर एक लेखेको ।
‘युवा षुरुष’को पेन नेम शिव प्रकाश (Shiva Prakash) हो । जे होस् तपाईँको लेखन मनपर्यो । धन्यवाद!