अब टेकु अस्पतालले पनि कोरोना परीक्षण शुल्क लिने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाको लक्षण नदेखिएरै परीक्षण गराउँदा अब शुल्क लिने भएको छ।

अस्पतालका निर्देशक सागरराज भण्डारीले अस्पतालले आइतबारदेखि लक्षण नभएका र कन्ट्याक्ट टे«सिङमा नपरेहरूले परीक्षण गर्नुपर्ने भए २ हजार रुपैयाँ लिन थालिएको बताए।

सरकारी प्रयोगशालामा परीक्षण गराउँदा यसअघि सरकारले निशुल्क व्यवस्था गरेको थियो।

खासगरी काठमाडौं बाहिरबाट राजधानी भित्रिएकाहरूलाई घरधनी तथा रोजगारदाताले कोरोना परीक्षण रिपोर्ट माग्न थालेपछि टेकुमा भीड हुने गरेको थियो।

त्यस्तै विभिन्न परीक्षामा सहभागी हुने परीक्षार्थीलाई पनि परीक्षण रिपोर्ट सामेल गर्नुपर्दा लक्षण नदेखिएरै पनि परीक्षण गराउनुपर्ने बाध्यता छ।

‘लक्षण नभएका, डकुमेन्टेसनका लागि तथा बाहिर जानेहरू स्वास्थ्य परीक्षणका लागि आउँदा समस्या हुने गरेकाले उनीहरूबाट शुल्क लिने गरेका हौं’, भण्डारीले भने, ‘लक्षण देखिएका र सिरियस संक्रमितबाट शुल्क लिदैनौं।’

हुनेखानेहरूले समेत पटकपटक आएर निशुल्क परीक्षण गराउन थालेको भन्दै उनले शुल्क लिन थालेपछि लक्षण नदेखिइ परीक्षण गराउने आउनेहरू कम हुने बताए।

‘बरु त्यो पैसाले लक्षण देखिएर सिरियस भएका र, विपन्नलाई निशुल्क परीक्षण गर्न सकिन्छ’ उनले भने।

अहिले टेकुमा दैनिक करिब ७ सय जनाको पिसिआर परीक्षण भइरहेको छ।

अस्पतालले विभिन्न प्रयोजनका लागि पिसिआर रिपोर्ट माग्नेहरूको परीक्षणवाफत शुल्क लिने गरेको भण्डारी बताउँछन्।

‘लक्षण नभएकाहरु आएर चार पाँचपटकसम्म पिसिआर परीक्षण गरेको देखिएकाले वास्तविक संक्रमित तथा लक्षण भएकाहरु बञ्चित हुने अवस्था आएकाले विना लक्षण र डकुमेन्टेसनका लागि आउनेहरुबाट दुई हजार शुल्क लिने निर्णय गरेका हौं’ निर्देशक भण्डारीले भने।

अस्पतालमा पिसिआर परीक्षण गर्न आउने सर्वसाधारणको संख्या निरन्तर बढिरहेकाले अस्पतालले १० बेड, जनशक्ति, तथा दुईवटा भेन्टिलेटर थप्ने तयारी गरिररहेको छ।

अहिले टेकुमा ५२ जना संक्रमितको उपचार भइरहेको छ। अस्पतालका आइसियु, भेन्टिलेटर भरिएका छन्। अस्पतालमा अहिले २० भेन्टिलेटर र सातवटा आइसियु बेड छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय