प्रदेश २ मा ८० प्रतिशत संक्रमितले कोरोना जिते

कुनै समय कोरोनाको ‘हटस्पट’ बनेको प्रदेश २ मा पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको छ । केही दिनअघिसम्म दैनिक सयभन्दा बढी मानिसमा संक्रमण पुष्टि हुने प्रदेश २ मा अहिले यो संख्या साँघुरिएको छ ।

संक्रमितको संख्या घट्नुका साथै पछिल्लो समय कोरोना जित्नेको संख्या समेत थपिँदै गइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेश २ को विभिन्न जिल्ला गरी हालसम्म ८० प्रतिशत संक्रमितले कोरोना जितिसकेका छन्।

निर्देशनालयको तथ्यांकअनुसार महामारी फैलिएदेखि बुधबारसम्म कोरोना संक्रमितको संख्या १३ हजार ९४३ रहेकोमा ११ हजार २८० जना निको भएर घर फर्किइसकेका छन्।

आइसोलेसन र होम आइसोलेसन गरी २ हजार ५२० सक्रिय संक्रमितको उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले संक्रमितको निको हुने दरले उत्साहित बनाएपनि बढ्दो मृत्यु दर चिन्ताको विषय बनेको बताउँछन् ।

शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो रहेको संक्रमितहरु निको भएर घर फर्किइरहेपनि संक्रमित भएका दीर्घ रोगीहरुको ज्यान जोगाउन कठिनाइ भइरहेको उनको भनाइ छ।

सप्तरीमा १७, सिरहामा १४, धनुषामा १७, महोत्तरीमा १५, सर्लाहीमा ९, रौतहटमा ७, बारामा १८ र पर्सामा ४५ गरी प्रदेश २ मा १४३ जनाको ज्यान गएको छ।

संक्रमणबाट जोगिन मास्क र स्यानिटाइजरका साथै अब शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनतर्फ समेत ध्यान दिनुपर्ने गरी प्रचार–प्रसारको आवश्यक्ता रहेको झा बताउँछन्।

झाले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको मात्र पीसीआर परीक्षण भइरहेकोले संक्रमितको संख्या घटे जस्तो देखिएको बताए।

‘अहिले लक्षण देखिनेहरुको मात्रै स्वाब परीक्षण भइरहेको छ,’ उनले भने,‘लक्षण देखिने संख्या कमै हुन्छ, त्यसैले संक्रमितको संख्या घटेको जस्तो देखिन्छ। परीक्षण गराउनेहरुमा पनि पोजिटिभ आउनेको संख्यामा कमी देखिएको छ।’

अहिले संक्रमितको संख्या घटेको भन्दै झाले ढुक्क भएर बस्ने सक्ने अवस्था नरहेको बताए। ‘काठमाण्डौं हटस्पट बन्दै गएको छ, भारतमा पनि स्थिति भयावह छ,’ उनले भने,‘नाकाको अवस्था र मानिसहरुको आवतजावतलाई हेर्दा दसैं तिहारमा संक्रमितको संख्या फेरी बढ्दैन भनेर भन्न सकिन्न ।’

निर्देशनालयको तथ्यांकअनुसार अहिले सम्म सप्तरीमा १ हजार ५९, सिरहामा ६४४, धनुषामा १ हजार ४८९, महोत्तरीमा १ हजार ६८, सर्लाहीमा १ हजार ८०६, रौतहटमा १ हजार ५४८, बारामा १ हजार १८६ र पर्सामा २ हजार ४७४ संक्रमित कोरोना जितेर घर फर्किइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय