बाध्य भएर कोभिड प्रोटेक्सन चार्ज लिइरहेका हौंः नर्भिक अस्पताल

हेल्थपाेष्ट/काठमाडाैं
प्रकाशित
२०७७ असोज २१ गते १३:१८

 

कोरोना नियन्त्रणका लागि वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्नुपर्ने भएकाले बाध्य भएर कोभिड प्रोटेक्सन चार्ज लिइरहेको नर्भिक अस्पतालले  जनाएको छ।

‘कोभिड सुरक्षा शुल्क, कोभिड प्रोटेक्सन चार्जेज’ सम्बन्धी समाचारहरुप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै अस्पतालले वैज्ञानिक तरिकाले व्यवस्थापन गर्दा खर्च धेरै लाग्ने भएकाले विश्व स्वास्थ्य संगठनले तोकेकै मूल्यमा शुल्क लिइएको दावी गरेको छ।

एक विज्ञप्ती जारी गर्दै अस्पतालले भनेको छ, ‘कोभिड–१९ को विषम परिस्थितिमा दैनिक ठूलो संख्यामा बहिरङ्गलगायतका विभागमा आउने सेवाग्राही तथा भर्ना भएका बिरामीहरुको भिजिटर र निजहरुले बोकेर ल्याउनसक्ने संक्रमणलाई अत्यन्त वैज्ञानिक ढंगबाट व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने हुन्छ, जसले गर्दा भर्ना भएका बिरामीहरुमा कोभिडको प्रभाव नपरोस्।’

नर्भिकले कोभिड र नन्कोभिडका लागि छुट्टाछुट्टै भवनमा आफ्नो स्तरीय सेवा सञ्चालन गर्दै आएको अवस्थामा नन्कोभिड बिरामीलाई संक्रमणबाट पूर्ण रुपमा सुरक्षित राख्न सकियोस् भन्ने कारणले सकारले तोकेका मूल्यमा अस्पतालले तोकेकै मूल्य लिन बाध्य भएको अस्पतालले बताएको छ।

‘यस्ता, नन्कोभिड बिरामी राखिएको अस्पताल भवनलाई डब्ल्यूएचओले तोकेको, अन्तर्राष्ट्रिय अभ्यासमा ल्याइएको उच्चस्तरीय वैज्ञानिक प्रविधि र सामाग्रीहरु प्रयोग गरेर सम्पूर्ण अस्पताल भवनलाई जोखिमरहित बनाउने हाम्रो प्रयास रहिआएको छ’, अस्पतालले भनेको छ।

सबै प्रयासहरुका लागि ठूलो धनराशि खर्च हुने गरेको र त्यसको व्यवस्थापन वर्तमान शुल्कबाट असम्भव रहेको बताएको छ। अस्पतालले अघि भनेको छ, ‘अहिलेको जटिल परिस्थितिमा विकल्पविहीन भएका हामीले बाध्य भएर कोभिड प्रोटेक्सन चार्ज लिइरहेका हौं । यो हाम्रो रहर नभई बाध्यताको रुपमा बुझिदिन अनुरोध गर्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय