कोरोना जोखिमलाई मध्यनजर गर्दै दशैंमा काठमाडौं आउजाउ नगर्न सरकारको अपिल

सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले दशैंमा काठमाडौं बाहिर जाने र त्यहाँबाट काठमाडौं आउने काम नगर्न अपिल गरेको छ। कोरोना संक्रमणको दर उच्च रहेको भन्दै सरकारले जोखिम कम गर्नका लागि चहलपहल कम गर्न अनुरोध गरेको हो।

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले १७ असोजमा बसेको मन्त्रिपरिषद्का निर्णय बुधबार सार्वजनिक गर्दै कोरोना नियन्त्रणमा सबै नागरिकको भूमिका महत्वपूर्ण हुने भएकाले जोखिम कम गर्न आउजाउ गर्ने काम बन्द गर्न अनुरोध गरेका हुन्।

गाउँ जाँदा र फर्किँदा संक्रमण पनि सँगै जाने भएकाले यसपटक काठमाडौंबाट गाउँ नजान प्रवक्ता ज्ञवालीले अपिल गरे।

ज्ञवालीले भने, ‘अरू जिल्लामा कोभिड–१९ क्रमशः नियन्त्रणमा आइरहेको भए पनि काठमाडौं उपत्यका अझै उच्च जोखिममा छ। देशभरिमा थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै हुन्छन्। यस्तो बेलामा दैनिक गतिविधि गर्दा विशेष सावधानी अपनाउन सरकारको आग्रह छ।’

ज्ञवालीले ६० वर्ष बढी उमेरका मानिसहरूलाई कोरोनाको संक्रमण दर र संक्रमणपछि मृत्युदर तुलनात्मक रूपमा बढी भएकाले आफ्ना अभिभावकलाई जोखिममा पार्न नहुने बताए।

उनले भने, ‘केही दिनमा दशैं आउँदैछ। दशैंमा आफूभन्दा ठूला मानिसबाट आशिर्वाद लिने चलन छ। तर यसपालि हामीले काठमाडौंबाट गाउँ गएर आशिर्वाद लिँदा हाम्रा बुवाआमा, हजुरबुवा हजुरआमा, काकाकाकीलाई जोखिममा पार्न सक्छौं।हामी स्वस्थ रहे चाडवाड अर्को वर्ष पनि मनाउन पाउँछौं। त्यो भएर यो कुरालाई ख्याल गरिदिनुहोला भन्ने आग्रह छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय