चितवनमा दैनिक ६५ जना संक्रमित थपिँदै

वैशाख पहिलो साता एक जनामा कोरोना संक्रमण देखिएको चितवनमा लकडाउनका बीचमा स्थिति नियन्त्रणमै थियो। तर, निषेधाज्ञा खुलेपछि देशभरजस्तै यहाँ पनि ह्वात्तै संक्रमितको संख्या बढ्दो छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो एक सातामै चारसय ४८ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो समय संक्रमित हुनेमा फ्रन्टलाइनरहरु नै बढी छन्। चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीमै बढी संक्रमण देखिएको छ।

असोज १२ गतेसम्म एक हजार ८ सय २५ मा कोरोना पोजेटिभ देखिएको थियो। मंगलबारसम्म भने, यो संख्या बढेर दुई हजार दुईसय ७३ पुगेको छ।

चितवनमा ६ महिनाको अवधिमा स्वास्थ्य क्षेत्रसंगै व्यापार व्यवसाय र सरकारी कार्यालयमा कार्यरत कर्मचारीमा बढि देखिएको छ।  तथ्यांक अनुसार चितवनमा दैनिक ६५ जनाको हाराहारीमा कोरोना संक्रमित थपिँदैछन्।

एकसाताअघिसम्म दैनिक ४० जनाका दरले संक्रमित थपिँदै गएकोमा अहिले बढेर ६५ सम्म पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। निषेधाज्ञा खुलेसँगै बढेको चहलपहलका कारण कोरोना संक्रमितको संख्या दैनिक उकालो लागेको चिकित्सकले बताएका छन्।

संक्रमित थपिने मात्रै होइन, डिस्चार्ज हुनेको संख्या पनि उत्तिकै छ। एक सातामा चितवनमा ५ सय २५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। चितवनमा हालसम्म एक हजार तीनसय १८ जना निको भइसकेका छन् भने, ९३२ सक्रिय संक्रमित छन्।

संक्रिय संक्रमितमध्ये ६ सय ५० जना होम आइसोलेसनमा छन् भने, २ सय ८२ जना विभिन्न संस्थाको आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी गीताञ्जली ढकालले जानकारी दिइन् । जिल्लामा २५ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।

भरतपुर महानगरमा मात्र ६५ प्रतिशत संक्रमित

एक साताको अवधिमा सबैभन्दा बढि भरतपुर महानगरपालिकामा ३ सय १७ जना संक्रमित थपिएका छन्। यससँगै महानगरपालिकामा कोरोना संक्रमित हुनेको संख्या एक हजार चारसय ६९ पुगेको छ।

प्रतिशतका आधारमा हेर्दा जिल्लामा संक्रमित मध्ये महानगरमा मात्रै ६५ प्रतिशत छन्। संक्रमितमध्ये ७ सय ६२ जना निको भएर घर फर्किएको ढकालले जानकारी दिइन्। अझै महानगरपालिकामा ६ सय ९४ जना सक्रिय संक्रमित छन् ।

यीमध्ये हाल २ सय २१ जना विभिन्न अस्पताल तथा संस्थाको आइसोलेसनमा छन् भने, ४ सय ७३ जना होम आइसोलेसनमा रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । यहाँ १४ जनाको संक्रमणबाट मृत्यु भएको छ।

महानगरपछि रत्ननगर नगरपालिकामा धेरै संक्रमित थपिएका छन्। यहाँ एक सातामा ५७ जनामात्र संक्रमित थपिएका छन्। कार्यालयका अनुसार, रत्ननगरमा तीनसय ३९ जनामा संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय