किन अनशन बसिरहेको गोविन्द सर?

नैतिकता मौन बसेको आज २३ दिन भयो। विवेकको ढोका बन्द भएको १० वर्ष भयो। यस धर्तीमा रकमले न्याय र इमान बेचेको त अनन्त वर्ष भैसकेको छ।

सबैको विवेकमा बिर्को लागेको बेलामा कोही एक जना मोक्ष्यको बाटो समातेकोमा तपाइँलाई पागल भन्ने नै भए। यो देशको पागल ‘गोविन्द
केसी’

आफैंले पाउनु त केही छैन तर भोकै बस्ने कस्तो रहर होला। रहर त शासकहरूले भन्ने शब्द हो। कस्तो त्याग होला! मेडिकल शिक्षामा न्याय तथा राजनितीले नगाजेको स्वच्छ स्वास्थ्य क्षेत्रको माग राखेर एउटा डाक्टर भोकै बस्नुपर्ने त हैन।

भोट दिएर कुर्सिमा पुगेकाले जनताको स्वास्थ्यलाई निशाना बनाएर अवाञ्छित व्यापार गर्ने। तर, जनता त मौन छन्। किन अनशन बस्नुभएको सर?

आज तपाइँको छाती दुःखेको छ। जनताको भविष्यको लागि। दूरदराजमा कसैको छाती दुःखेर उपचार गर्न ढिलो नहोस् भन्ने सुनिश्चित होस् भनेर आज आफ्नो छाती दुखाइरहनुभएको छ। भोली पीर नमान्नु कि उपचार गर्न काठमाडौं ल्याउन ढिलो भयो!

तर, सबै मस्तमगन छन् आफ्नै सुरमा। राज्यको दोहन गर्न पल्केकाहरू त कान बन्द गर्नु आश्चर्य भएन। जनता पनि बहिरा छन्। कसले सुन्ने हो सर तपाइँलाई?

आज तपाईंको मुटुको धड्कन बेजोड बढिरहेको छ। पिरोलेको छ छाती। अनावश्यक धड्कनले मृत्युको डर देखाइरहेका छन्। सबै जनताको धड्कनको भार आफैं लिने दुस्साहस गर्दा मुटुले साथ छोड्ने धम्की दिने नै भयो।

कथंकदाचित इसिजिका रेखा सिधा भए भने राज्यको अकर्मण्यताले भविस्यमा उपचार नपाएर कतिका रेखा सिधा हुने हुन् त्यो कसैले सोच्न नसकेकै हो त? जनता के सिधा हुन् त? राजधानी कायम गर्नु नै ठूलो कुरो छ यहाँ। किन अनशन बसिरहेको गोविन्द सर?

शरीर पूर्ण रुपमा गलेर रगतमा हुने नुन आदी कम भैसक्दा पनि आईसियू जान्न भन्नुभयो । औषधि चडाउन्न भन्नुभयो। आईसियू बेड दूर दराजका गरिब जनताले पनि सुलभ रुपमा पाउनुपर्छ भन्ने आशयमा १९ पटक अशसन बस्नुभयो।

सक्षम डाक्टरले आफ्नो उपचार गरेजस्तै सम्पूर्ण जनताले सक्षम डाक्टर पाउनुपर्छ भनेर मेडिकल शिक्षाको व्यापार रोक्न खोज्नुभयो। तर, भ्रममा हुनुहुन्छ तपाइँ। तपाइँले आईसियू जान अटेरी गरे पनि कसैले बुझ्दैनन् र सुन्दैनन्।

अस्पताल पुग्दा कच्चा उपचार र खल्ती खाली हुँदा मात्रै चेत आउने जनता तपाइँलाई भन्दा बढी ‘बिग बोस’को सिरिज हेर्न मस्त छन्। कसका लागि अन्सन बस्नुभएको?

तपाइँका साथीहरू कुरा गर्छन्। सधैं अनशन बसेर मात्रै अड्को थाप्ने ठिक हैन। सबैजना एकैपटक जम्मा हुने इच्छा त देखाउँदैनन्। आत्मा नै मोलमोलाइ गरिसकेका साथीहरूकै आवाज बन्द छ भने जनता बाट के आश गर्ने? नैतिकताको विग्रह भएको परिवेशमा सत्याग्रहको मान कसले गर्ने?

हामीहरू महराजगन्जको बाटोमा गोबिन्द के सि को जीवन रक्षा गर भन्दै उभिरहँदा कयौं गाडीहरूले हामीलाई हेरेर निस्किए। मनमा फेरि अशसन बसेछन् बुढा भनेर आफ्नो बाटो लागे होलान्।

तर, कोही पनि हाम्रो समर्थनमा आवाज बन्न आइपुगेनन्। तपाईँको अनशन हाम्रो लागि हो कि ती जनताका लागि? सबैलाई आफ्नै चटारो छ। कसैलाई स्वास्थ्यसेवाको चिन्ता छैन।

किनभने रोगले नगल्दासम्म र अस्पतालमा हन्डर नखाँदासम्म कसैको मनमा हरि नजाग्ने रहेछ। तपाइँको आवाजको मर्म बुझ्न पूरै नेपाली रोगी हुनुपर्ने हो त?

हामीहरु महराजगन्जको बाटोमा गोविन्द केसीको जीवन रक्षा गर भन्दै उभिरहँदा कयौं गाडीहरुले हाम्रा सेता पोसाक हेरेर मौन निस्किए। मनमा फेरि अनशन बसेछन् बुढा भनेर आफ्नो बाटो लागे होलान्।

आफ्नै निरीह आवाजहरु लामबद्ध उभिएको देखेनन् होला। केवल सेता पहिरन र प्रदर्शन देखे होलान्। उनीहरुलाई हेक्का छैन होला कि उनीहरुले बेवास्ता गरेको तपाइँको आवाजले उनीहरुकै सन्ततिका लागि एउटा कसैले नकोरेको अप्ठेरो बाटो खोस्रिँदै छ।

किनभने कोही पनि हाम्रो समर्थनमा आवाज बन्न आइपुगेको आभाश भएन। तपाईँको अनशन हाम्रो लागि हो कि ती साधारण जनताका लागि? जसलाई बिरामी हुँदा गुणस्तर सेवा चाहिन्छ न कि व्यापारमुखी सेवा।

सबैलाई आफ्नै चटारो छ। सामाजिक सञ्जालका भित्ते राष्ट्रवादमा आफ्नो अस्तित्व देख्छन्। कसैलाई स्वास्थ्यसेवाको अवस्था र स्तरका बारेमा चिन्ता छैन। किनभने रोगले नगल्दासम्म र अस्पतालमा हन्डर नखाँदासम्म कसैको मनमा हरि नजाग्ने होला।

तपाईंको आवाजको मर्म बुझ्न पुरै नेपाली रोगी हुनुपर्ने हो त? कवि नवराजको केही शब्द सापटी लिन मन लाग्यो ‘रोगीहरु कुर्सीमा बसेका छन्, रोगीलाई कुर्सीमा बसाउनेहरु टिभि अगाडि बसेका छन् र वास्तविक डाक्टर चाँही अस्पताल शय्यामा छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय