घरेलु उपचारबाटै १०१ वर्षीया बृद्धाले जितिन् कोरोना

रेनु त्वानावासु/भक्तपुर
प्रकाशित
२०७७ असोज १९ गते १५:३२

घरेलु उपचारबाटै कोरोना परास्त गर्न सफल भएकी १०१ वर्षीया गणेशमायाँ प्रजापति

भक्तपुरकी १०१ वर्षीय एक बृद्धाले कोरोना जितेकी छन्। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ स्थित पाचोटोल बस्ने १०१ वर्षीया गणेशमाया प्रजापतिले सहजै कोरोना भाइरसविरुद्ध जितेकी हुन्।

गत असोज २ गते कोरोना संक्रमण पुष्टि भएकी गणेशमाया प्रजापतिले १६ दिनमा नै कोरोना जितेको उनको पारिवारिक स्रोतले जनाएको छ। घरमै आइसोलेसनमा बसेर उनले कोरोना जितेकी हुन्।

उनले कोरोना लागेपछि घरमै तातोपानी पानी खाएर निको भएकी हुन्। गत शुक्रबार साँझ उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको उनका छोरा इन्द्रबहादुर प्रजापतिले बताए ।

कोरोना संक्रमण पुष्टि भएपछि गणेशमाया होम आइसोलेसनमा नै बसिन्। उनले संक्रमणका बेला नियमितरुपमा दिनमा दुई चक्की भिटामिन सीबाहेक अन्य औषधि सेवन नगरेको छोरा इन्द्रबहादुरले बताए।

उनका अनुसार गणेशमायाले नियमितरुपमा पौष्टिक खाना र तातो पानी सेवन गर्ने, तातोपानीको बाफ लिने र घरेलु औषधिको रुपमा ल्वाङ, सुकमेल, अलैंची, बेसार, अदुवा, पिपला, जाइपत्रीलगायतको गरम मसलाको तातो पानी नियमित सेवन गरेर सहजै कोरोनामुक्त भएकी हुुन्।

वडाअध्यक्षसमेत रहेका इन्द्रबहादुर प्रजापतिको कोरोना परीक्षण पोजिटिभ आएपछि परिवारको परीक्षण गर्ने क्रममा आमा गणेशमायामा पनि कोरोना संक्रमण देखिएको बताए। प्रजापतिका अनुसार उनकी दिदी र छोरामा पनि संक्रमण देखिएको थियो।

प्रजापति मध्यपुर थिमि नगरपालिका–६ का वडाअध्यक्ष हुन्। गणेशमायामा कुनै पनि दिर्घरोग नभएको उनले बताए।

‘तर शारिरीक रुपमा केही कमजोर भने हुनुहुन्छ,’ छोरा ईन्द्रबहादुरले भने, ‘तर उहाँ नियमित भिटामिन ई सेवन गर्नुहुन्छ। एक दिन भिटामिन ई सेवन गरिएन भने कमजोरीले थकान महशुस हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय