डा. केसीको पक्षमा धर्नामा बसेका कांग्रेस नेता शर्माको सरकारसँग प्रश्न: ‘समय सुहाउँदो के हो त?’

विगत २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग र उनको जीवनरक्षाको माग गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासहितको टोलीले टिचिङ अस्पताल परिसरमा धर्ना दिएको छ।

सोमबार बिहान डा. केसीको स्वास्थ्य अवस्था बुझ्न गएका शर्माले केसीलाई भेटिसकेपछि सरकारको ध्यानाकर्षण गराउन अस्पताल परिसरमा आधा घण्टाजति धर्ना दिएका हुन्।

धर्नापछि सञ्चारकर्मीसँग बोल्दै शर्माले डा. केसीले उठाएका मागहरु सरकार आफैंले विगतमा गरेका सम्झौता नै भएकाले पूरा गर्नुपर्ने बताए। साथै २२ औं दिनसम्म पनि सरकारले एउटा वार्ता कमिटी गठन नगर्नुले जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील नभएको स्पष्ट हुने बताए।

‘कांग्रेसको तर्फबाट जुम्लादेखि सुरु भएको अनशनमा ऐक्यबद्धता थियो, अहिले पनि छ। हिजो हाम्रो सभापति शेरबहादुर देउवाले पनि वक्तव्य निकालेर वार्ता गर्न, जीवन रक्षा तथा माग पूरा गर्न अपिल गर्नुभएको छ,’ शर्माले भने। उनले आफू प्रचारविभागका तर्फबाट मात्रै सिंगो पार्टी र जनताको तर्फबाट डा. केसीको जीवन रक्षाको मागका लागि आएको बताए।

सिंगो देश नै उहाँको घर हो

नेता शर्माले डा. केसीको घर सिंगो देश र देशका जनताका उनको परिवार भएको बताए। ‘तपाईँहरुलाई थाहा छ, उहाँको आफ्नो कुनै घर छैन। तर, सिंगो देश नै उहाँको घर हो। तपाईँहरुलाई थाहा छ उहाँको परिवार छैन तर हामी जनता नै उहाँको परिवार हौं,’ उनले भने।

सिंगो देशका नागरिकको स्वास्थ्यका लागि उठाइएका मुद्दा सरकारले पूरा नगरे अब त्यो मागभित्र समेटिने सबै जनता सडकमा आउनुपर्ने अवस्था आएको बताए।

‘म सरकारलाई आग्रह गर्न चाहान्छु। यदि सिंगो जनता नै सडकमा आए भने, त्यसपछिको परिणाम स्वयम् सरकारले नै व्यहोर्नुपर्ने हुन्छ,’ शर्माले भने।

समय सुहाउँदो के हो त ?

उनले अनशनको अठारौं दिनमा सरकारका तर्फबाट डा. केसीको अनशनबारे दिइएको अभिव्यक्ति आपत्तिजनक भएको बताए। अहिलेको अनशन समय सुहाउँदा नभएको भन्ने अभिव्यक्तिले सरकारले केसीका मागबारे कुनै चासो नदिएको प्रष्ट हुने दावी गरे।

‘१८ औं दिनमा सरकारका तर्फबाट यो अनशन समय सहाउँदो नभएको भन्ने अभिव्यक्ति आयो, त्यसो भए समय सुहाउँदो के हो त?,’ उनले भने, ‘सम्भु सदाहरु छट्पटाएर अस्पतालको चहार्दै उपचार नपाउँदै गर्दा, खाडीमा बसेका नागरिकले देश फर्किन नपाउँदै गर्दा, अस्पताल अस्पताल डौडाएर आमाको मृत्यु हेर्दै गर्दाको दृश्य छोराछोरीले हेर्दैगर्दा बालुवाटारमा सत्ताका लागि द्वन्द्व भएको थियो के त्यो समय सुहाउँदो थियो?’

उनले कोरोना उपचारका नागममा भएको भ्रष्टाचार, सांसद अपहरण, कात्रोमासमेत भ्रष्टाचार भएको खबर आइरहँदा के समय सुहाउँदो थियो भन्दै प्रश्न गरे।

उनले जायज मागहरु सम्बोधन गर्नुको साटो समय सुहाउँदो छैन भन्दै डा. केसीलाई चुनौती नदिने सरकारसँग आग्रह गरे। ‘यदि समयमै सम्बोधन गर्न सकिएन भने, त्यसपछिको जे दुष्परिणाम हुन्छ। त्यसको जिम्मेवार सरकार र सम्मानीय केपी शर्मा ओली हुनुहुन्छ,’ उनले चेतावनी दिए।

साथै कांग्रेस सरकारमा हुँदा नै डा. केसीका अधिकांश माग पूरा भएको, चिकित्सा अध्ययनमा ७५ प्रतिशत छात्रवृति लागू भएको स्मरण गराउँदै त्यसबेला पाएका उपलब्धी पनि खोस्ने काम नगर्न सरकारसँग आग्रह गरे।

गतवर्ष सरकार आफैंले गरेका सम्झौता कार्यान्वयन गरेर भए पनि केसीको जीवन रक्षा गरी देशमा लोकतन्त्र भएको आभाश दिलाउन प्रधानमन्त्री केपी ओलीलाई कांग्रेसका तर्फबाट उनले आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय