समाजले नस्विकारेका सम्बन्धहरू : लुकिछिपि गर्भपतन

बिहे भएको थिएन। थियो त केवल प्रेम।

प्रेममा सम्हालिन सकेन भने जीवन वर्वाद पनि हुनसक्छ।

आखिर जे नहुनु थियो त्यही भयो सुर्खेतकी २३ वर्षीयाको जीवनमा।

बिहे नगर्दै गर्भ रह्यो।

त्यसपछि उनी समाज र परिवारको ‘डर’ ले गर्भ फाल्ने निधोमा पुगिन।

त्यसकै लागि उनी कर्णालीको विकट गाउँदेखि सुर्खेतसम्म आइन्।

अन्जान ठाउँमा एक्लै होटलमा बसिन्।

होटेलमा बस्दा आर्थिक समस्या भयो।

उनले सुर्खेतका सबै अस्पताल चहारिन।

तर, कुनै पनि अस्पतालले उनको गर्भपतन गर्न मानेन।

होटलको बसाइ। रित्तिँदो खल्ती। तनाव बढ्दै गयो।

तनावको अर्को कारण थियो– प्रेमी।

बच्चा जन्मिए, कसलाई चिनाउनु उसको बाउ? आखिर फर्किनु त त्यही समाजमै थियो।

सबै अस्पताल चहार्दा–चहार्दा थाकिसकेकी थिइन उनी। घरमा कसैलाई थाहा थिएन।

२५ हप्ते गर्भ।

कुनै सरकारी अस्पतालले गर्भपतन गर्न नमानेपछि उनी निजी अस्पतालको ढोका चहार्न थालिन्।

त्यसका लागि एउटा निजी अस्पतालले ४० हजार रुपैयाँ माग्यो।

त्यत्रो रकम थिएन। अब के गर्ने? उनी झन समस्यामा परिन।

साथीभाई, घरपरिवारलाई भनौं भने बदनामी र दुव्र्यवहारको डर।

पैसा अभावले उनी विभिन्न संघसंस्था खोज्न थालिन्।

असार अन्तिममा ‘मिड वाइफ’ को नामको एउटा संस्थामा पुगिन्।

त्यो यौन तथा प्रजनन क्षेत्रमा काम गर्ने संस्था हो।

उनले गर्भपतनका लागि उक्त संस्थासँग बिन्ती बिसाइन्।

आफ्नो कथा–व्यथा पूरै सुनाइन्।

तर, धेरै ढिला भइसकेको थियो।

त्यही संस्थाले उनलाई अहिले सुर्खेतकै ‘सेफ हाउस’ मा राखेको छ।

२३ वर्षीया उनी, एकजना नेपाली सैनिकसँग प्रेममा थिइन।

प्रेमको त्यो ‘लीला’ उनको ‘गर्भ’ मा बस्यो।

जब उनलाई थाहा भयो, प्रेमीसँग उनले गर्भपतनका लागि सल्लाह पनि गरिन्।

तर, प्रेमीले भन्दै गए ‘बिहे गरौंला, किन फाल्नु?’

केही समयपछि त उनी सम्पर्कमै आउन छोडे। फोन पनि उठाउन छोडे। खोज्न जाँदा भेटिएनन्।

अलि समय घर्किसकेको थियो।

‘प्रेमी’ खोज्दा खोज्दै सबैको ‘शकांलु’ नजर उनीमाथि तेर्सिन थाले, अनि आत्तिन थालिन्।

अब बच्चा जन्मिए उनले के गर्लिन्।

…..

साउन दोस्रो साता कपनस्थित आकाशेधाराको चौरमा एउटा नवजात शिशु भेटिइन्।

न्यानो कपडाले बेरिएकी उनी, एउटा कार्टुन (बाकस) भित्र थिइन्।

खोज्दै जाँदा उनकी आमा भेटिइन्।

आमाकै मिलेमतोमा बच्चा चौरमा राखिएको थियो।

जसमा कपनमा अवस्थित बालगृहकी सञ्चालिका पुष्पा अधिकारीको पनि प्रत्यक्ष संलग्नता थियो।

बालगृहमा अन्य बालबालिका थिए।

घटनाले नयाँ मोड लिएपछि बालगृहमा रहेका बालबालिका सरकारले उद्धार गरेको छ।

उद्धार गरिएका बालबालिकालाई अस्थायी संरक्षण सेवा प्रवद्र्धनमा राखिएको जानकारी केन्द्रीय बालकल्याण समितिका प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए।

किन फालिन्छन नवजात शिशु?

हरेक वर्षजस्तो कुनै झाडीमा या, पुलमुनि भर्खरै जन्मिएका बच्चा भेटिन्छन्। कुनै जिउँदो हुन्छन त कोही मृत।

नेपाल प्रहरीको तथ्यांकअनुसार चार वर्षमा सातजना त्यस्ता बेवारिसे नवजात शिशु फेला परेका छन्। आर्थिक वर्ष २०७२र७३ मा एक, २०७५र७६ मा दुई र २०७६र७७ मा चारजना नवजात शिशु वेवारिसे फेला परेका छन्।

‘इच्छाविपरीत गर्भधारण गरी बालबालिकालाई जानी–जानी अनाथ बनाउने काम बढिरहेको छ, यसबारे सर्वसाधारण सचेत हुनुपर्छ,’ चन्दले भने।

मिडवाइफ व्यवसायी संघकी अध्यक्ष डा. लक्ष्मी तामाङका अनुसार समाजले ‘नस्विकार्ने सम्बन्ध’ का कारण यस्ता समस्या दोहोरिइरहन्छन्।

‘विवाहितभन्दा अविवाहितले बढी गर्भपतन गराउँछन्। गर्भपतन नभएको अवस्थामा कतिपयले झाडीमा बच्चा फाल्छन भने कतिले अनाथ तथा बेसहारा बनाइदिन्छन्,’ तामाङले भनिन।

उनका अनुसार नेपालमा बलात्कार र विवाहित जोडीले भन्दा ‘प्रेम–जोडी’ ले बढी गर्भपतन गराउँछन्।

‘प्रेम गर्नेहरूलाई गर्भनिरोधक साधन भन्ने त थाहा हुन्छ नि, तै पनि आजभोलिका युवा त्यस्तो प्रयोग गर्दैनन्,’ उनी भन्छिन्, ‘त्यो थाहा नभएर होइन, नचाहेर हो। अनि परिणाम त्यस्तो आउँछ।’

उनका अनुसार समाजमा ‘नैतिकता’ हराउँदैछ। र, त्यो अहिले खासगरी युवापुस्तालाई जरुरी छ।

कोही अशिक्षित हुन्छन्, कसैमा चेतनाको अभाव हुन्छ। कतिले प्रेम गर्छन् तर परिवार र समाजको डर मान्छन्।

‘र, त्यसकै परिणाम जन्मिँदै कोही बालक झाडी र कार्टुनमा भेटिन्छन्’ तामाङ भन्छिन्।

गर्भपतनको कानुनी व्यवस्था

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन पाउने व्यवस्था छ।

१२ हप्तासम्म गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा शारीरिक तथा मानसिक स्वास्थ्य खराब हुन सक्छ। १२ हप्तापछि गर्भपतन गराए विकलाङ्ग बच्चा जन्मिने जोखिम पनि उत्तिकै हुन्छ।

तर, इजाजतप्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मञ्जुरीबमोजिम २८ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था छ।

त्यस्तै जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मञ्जुरीले २८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ।

निको नहुने रोग लागेमा पनि महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ। त्यस्तै जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको अवस्थामा पनि गर्भपतन गर्न सकिने छुट कानुनले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय