काठमाडौं महानगरमा १० हजार संक्रमित, ८० जनाको मृत्यु

काठमाडौं महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ। कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नम्बर वडाका छन्। उक्त वडामा ८७१ सङ्क्रमित छन्।

वडा नं ३, ११, १३, १६ मा पनि ५०० बढी सङ्क्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए। होम आइसोलेसनमा बस्नेको सङ्ख्या दुई हजार ९९० रहेको छ। अस्पतालमा उपचार गराइरहेका ५७२, संस्थागत आइसोलेसनमा ५८३ रहेका छन्।

पाँच हजार ५०९ जना निको भएर घर फर्किएका छन्। प्रमुख कुँवरका अनुसार सङ्क्रमणको कारण ८० जनाको मृत्यु भएको छ। सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिकजसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको प्रमुख कुँवरको भनाइ छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिकी सञ्चालन गर्नका लागि बजार खुला गरे पनि नागरिकहरु स्वयं सतर्क रहन आवश्यक रहेको बताउँदै आएको छ ।

अहिले देशभरिको कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ। उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना सङ्क्रमणमुक्त भएका छन्।

हाल देशभर २१ हजार २३४ सक्रिय सङ्क्रमित छन्। उनीहरुमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन्। नौ हजार ४७४ संस्थागत आइसोलेसनमा छन्। यसमध्ये २१० आइसीयू र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय